१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १६ आइतबार १७:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

समयमा चुनाव नगर्नु लोकतन्त्र र विधिको शासनको उपहास : नेपाल बार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १६ आइतबार १७:१५:००

नेपाल बार एसोसिएसनले समयमा चुनाव नगर्नु लोकतन्त्र र विधिको शासनको उपहास भएको बताएको छ। बारले विज्ञप्ति जारी गरेर संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानुनका आधारमा सबै तहका निर्वाचन समयमा गर्न आग्रह गरेको हो।

‘नेपालको संविधानले स्थानीय तह, प्रदेश संसद् र संघीय संसद्, राष्ट्रिय सभालगायतका निकायको आवधिक निर्वाचनको व्यवस्था गरेको छ। त्यस्ता निकायको शून्यताको परिकल्पना संविधान र निर्वाचनसम्बन्धी कानुनले गरेका छैनन्,’ महासचिव लीलामणि पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बारले कुनै आग्रह, पूर्वाग्रह, अनुकूलता, प्रतिकूलतालाई विचार गरेर निर्वाचन गर्ने/नगर्ने भन्ने विषय हुन नसक्ने उल्लेख गरेको छ। कुनै पनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानुनविपरीत मात्र नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुन जान्छ,‘ विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानुनसमेतका आधारमा सबै तहका निर्वाचन समयमा नै गरी लोकतन्त्रको रक्षा र संवर्द्धन गर्ने कार्यमा लाग्न नेपाल सरकार तथा सम्बन्धित सबैसँग हार्दिक अपिलसमेत गर्दछौँ।’