मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
टेकराज थामी काठमाडाैं
२०७८ माघ १२ बुधबार ०६:०१:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

‘सेनाको क्याप्टेन हुँ’ भन्दै साढे दुई सय  किसानका दुई करोडबराबरका खसी ठगी

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७८ माघ १२ बुधबार ०६:०१:००

सेनाको ‘क्याप्टेन हुँ’ भन्दै किसानसँग खसी ठगी गर्ने सोलुखुम्बु लिखुपिके– २ का २८ वर्षीय दिपेश बस्नेत पक्राउ परेका छन् । उनलाई अहिले महानगरीय प्रहरी वृत्त बालाजुको हिरासत कक्षमा राखिएको छ । 

सेनाको विभिन्न ब्यारेकमा आवश्यक परेको भन्दै उनले किसानसँग उन्नत जातको खसी मगाउँथे । बदलामा किसानलाई रकम नभएको चेक थमाउँथे । अनि आफू सम्पर्कविहीन बन्थे । पीडितका अनुसार उनले दुई सय ४१ भन्दा धेरै किसानसँग दुई करोड रुपैयाँभन्दा धेरै मूल्यबराबरको खसी ठगी गरेको खुलेको छ ।

खसी दिएर दुई लाख २८ हजार गुमाएका कालिकोट सानी त्रिवेणीका मदन साउदले भने, ‘सेनाको ब्यारेकमा हिमाली खसी आवश्यक परेको भन्यो । परिचय माग्दा सेनाको क्याप्टेन हुँ भन्थ्यो । गाउँबाट खसी खोजेर काठमाडौं ल्याएँ । उसलाई दिएँ । चेक दियो, तर कहीँ साटिएन । दुई लाख २८ हजार ठगिएँँ । मजस्तै अन्य दुई सय ४१ जना किसानबाट यसले दुई करोड रुपैयाँभन्दा धेरै ठगेका सूचना पाएको छु ।’

कालिकोट तिलगुफा– २ का भीमबहादुर बोहरासँग दिपेशले २६ वटा हिमाली खसी मगाए । भीमबहादुरले गाउँभरको खसी जम्मा गरेर काठमाडौं ल्याए । बाफलचोक आइपुगेपछि खसी बुझे । ब्यारेकको लेखा अधिकृत भन्दै विश्वास तामाङको नाममा रहेको रकम नभएको चेक काटे । भीमबहादुरलाई चेक दिए । अनि खसी लिएर सम्पर्कविहीन बने ।

१२ लाख ८६ हजार ठगीमा परेका भीमबहादुरले नयाँ पत्रिकासँग भने, ‘सेनाको क्याप्टेन हुँ भन्थ्यो । बालुवाटारस्थित ब्यारेकमा खसी आवश्यक परेको भन्यो । मैले गाउँबाट खसी ल्याएँ । बाफलचोकमा आइपुगेपछि उसलाई बोलाएँ । खसी दिएँ । मलाई अर्कैको नामको चेक दियो । तर, चेक अझैसम्म साटिएको छैन ।’

नुवाकोट ककनीका गणेश घिमिरेसँग दिपेशले तीनवटा खसी ठगी गरेका छन् । उनलाई पनि सेनाको ब्यारेकमा आवश्यक परेको भन्दै खसी मागे । घरमै उनले खसी पालेका थिए । तीनवटा खसी लगेर उनले दिपेशलाई दिए । बदलामा चेक बुझे । जब साट्न बैंक पुगे, खातामा रकम नभएको तथ्य बल्ल थाहा पाए । 

झन्डै वर्ष दिनअघि काटिएको ६८ हजार ६ सयको चेक देखाउँदै उनले भने, ‘घरमै पालेको थिएँ खसी । सेनाको क्याप्टेन हुँ भन्दै सम्पर्कमा आयो । खसी आवश्यक परेको भन्यो । मैले लगेर दिएँ । क्यासको सट्टा चेक दियो । मैले बुझेँ । तर, बैंकमा साटिएन । रकम थोरै भएको हुँदा मैले फलो गरिनँ । तर, यसले मजस्तै धेरै किसानबाट करोडौँ रुपैयाँ मूल्यबराबरको खसी ठगेको मैले सूचना पाएको छु ।’

भक्तपुर बस्ने बर्दियाका सन्तोष गिरीसँग पनि उनले एक लाख ५२ हजार मूल्यबराबरको खसी ठगी गरेका छन् । उनलाई पनि सेनाको ‘क्याप्टेन हुँ’ भन्दै दिपेशले खसी मगाएका थिए । बदलामा रकम नभएको अरूकै नामको चेक दिएका थिए । त्यसपछि सम्पर्कविहीन बनेका थिए । 

नयाँ पत्रिकासँगको संवादमा गिरीले भने, ‘सेनाको क्याप्टेन हुँ भन्यो । ब्यारेकमा खसी आवश्यक परेको भनेपछि मैले बर्दियाबाट खसी ल्याएर दिएँ । चेक दियो । तर, उक्त चेक अझै साटिएको छैन ।’

प्रहरीमा मात्रै २० किसानको उजुरी 

सेनाका ब्यारेकमा खसी आवश्यक परेको भन्दै नेपाल प्रहरीको महानगरीय अपराध महाशाखामा मात्रै २० किसानको उजुरी परेको छ । सोही उजुरीका आधारमा महाशाखाको टोलीले महिना दिनअघि उनलाई काठमाडौंबाट पक्राउ गरेको थियो । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर वृत्तको हिरासतमा राखिएका उनलाई काठमाडौं जिल्ला अदालतले धरौटीबापतको रकम तिर्न नसकेपछि पुर्पक्षका लागि केन्द्रीय कारागारमा पठाएको थियो । धरौटी रकम तिरेपछि उनी लगत्तै छुटेका थिए । पुनः ठगी गरेको उजुरी बढ्न थालेपछि उनलाई बालाजु वृत्तले केही दिनअघि पक्राउ गरेको थियो । 

महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले भने, ‘यसले धेरै किसानसँग खसी ठगेको उजुरी परेको छ । अनुसन्धानपछि हामीले त्यसलाई पक्राउ गर्‍यौँ । अदालतको आदेशपछि जेल गएको थियो । धरौटी तिरेर छुटेछ । यसविरुद्ध ठगीका उजुरी आउन थालेपछि पुनः पक्राउ परेको सूचना छ ।’

प्रहरीका अनुसार दिपेश सेनाका कारबाहीप्राप्त सिपाही हुन् । सेनामा भर्ना गरिदिने भन्दै सर्वसाधारणसँग रकम उठाउन थालेपछि सेनाले उनलाई कारबाही गरेको थियो । त्यसपछि उनी ठगी धन्दामा सक्रिय भएको प्रहरीको भनाइ छ । कतिपय किसानको गोठ नै रित्याएको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले बताए । उनले भने, ‘बदमासी गरेपछि सेनाले यसलाई पहिले नै कारबाही गरेर निकालेको रहेछ । त्यसपछि खसी ठगी धन्दामा लागेको देखिन्छ । यस क्रममा कतिपय किसानको त गोठ नै रित्याएको सूचना आएको छ । अनुसन्धान हुँदै छ । नयाँ तथ्य खुल्दै जाला ।’

पछिल्लोपटक भने दिपेशलाई बैंकिङ कसुरमा प्रहरीले पक्राउ गरेको छ । आठ लाख रुपैयाँ मूल्यबराबरको चेक बाउन्स भएपछि उनलाई बालाजु वृत्तले सात दिनअघि पक्राउ गरेको थियो । उक्त चेक पनि खसी ठगीमा परेका किसानहरूकै रहेको प्रहरीले जानकारी दिएको छ । 

बालाजु वृत्त प्रमुख डिएसपी गौतम मिश्रले भने, ‘दिपेशलाई बैंकिङ कसुरअन्तर्गत पक्राउ गरिएको छ । काटेको चेक बाउन्स भएको रहेछ । उजुरी परेपछि हामीले पक्राउ गरेका हौँ । यसले धेरै किसानलाई खसी ठगी गरेको सूचना आएको छ । त्यसतर्फ पनि हामी अनुसन्धान गर्दैै छौँ ।’