लमजुङमा सोनाम ल्होसारको अवसरमा सांस्कृतिक उत्सव हुने

मंगलबार, १३ पुष, २०७८
डिजिटल संस्करण

लमजुङमा तामाङ समुदायको नयाँ वर्ष अर्थात् २८५८औँ सोनाम ल्होसारको अवसरमा सांस्कृतिक उत्सव हुने भएको छ। ‘हाम्रो भाषा, धर्म, संस्कार, कला र संस्कृति हाम्रो पहिचान, सांस्कृतिक पुनर्जागरण गरी सभ्य र समृद्ध समाज निर्माण गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका उत्सव गर्न लागिएको नेपाल तामाङ संस्कृति घेदुङ जिल्ला समन्वय समिति लमजुङले जनाएको छ। 

लमजुङको सदरमुकाम बेंसीसहरमा सांस्कृतिक उत्सव हुने मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइयो। तामाङ समुदायको वर्गचक्रअनुसार तक ल्हो (बाघ वर्ग) को स्वागतको अवसरमा माघ ८ गते उत्सव हुने भएको हो। 

तामाङ जातिको संस्कार र संस्कृतिलाई संरक्षण र सम्बर्द्धन गर्न उत्सवको आयोजना गरिएको नेपाल तामाङ संस्कृति घेदुङ जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष विकास तामाङले बताए। तामाङ समुदायको भाषा, संस्कार संस्कृतिको पहिचान र समृद्धिका साथै मौलिक संस्कृतिको सम्बर्द्धन, प्रवर्द्धनका लागि उत्सव आयोजना गरिएको अध्यक्ष तामाङको भनाइ छ। 

बेंसीसहरको फूलबारी मञ्चमा आयोजना हुने सांस्कृतिक उत्सवमा तामाङ जातिको परम्परागत वेशभूषा, बाजागाजा, बोम्बाे, ताम्वा, लामा, गन्वा आदिको प्रदर्शन गरिनेछ। उत्सवमा तामाङ समुदायमा प्रचलित परम्परागत खाना, साहित्यिक कार्यक्रम, झाँकी तथा र्याली प्रदर्शन, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुतिको साथमा विविध मनोरञ्जनात्मक कार्यक्रम गरिने नेपाल तामाङ संस्कृति घेदुङका केन्द्रीय सचिव आशिष तामाङले बताए। 

विभिन्न ठाउँमा छरिएर रहेका तामाङ समुदायलाई एक ठाउँमा जम्मा गरी एकता र भ्रातृत्वका लागि उत्सव आयोजना गरिएको नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष अजय तामाङले बताए। 


सामान्यतः मान्यजनबाट आशीर्वाद लिने, आफन्तसँग भेटघाट गरी मीठा–मीठा परिकार खाने खुवाउने र नाचगान गरी ल्होसार मनाउने गरिन्छ। सोनाम ल्होसारका अवसरमा तामाङ समुदायमा ठूलाबडासँग आशीर्वाद लिने तथा घर या गुम्बाहरूमा पूजापाठसमेत गर्ने गरिन्छ।  

ल्हो भन्नाले वर्ष तथा ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउने हुँदा तामाङहरूको नयाँ वर्ष नै ल्होछार वा ल्हाेसार हो। प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने यी वर्षलाई विभिन्न जनवार तथा पक्षीको प्रतीकका रूपमा लिइन्छ। सांस्कृतिक उत्सवका लागि करिब सात लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ। उत्सवलाई सभ्य र भव्य बनाउने मूल समारोहसहित विभिन्न उपसमिति गठन गरिएको छ। 

सुझावित समाचार