१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o७:३३:oo
Read Time : > 5 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

२५ वर्ष पुरानो गोपीकृष्ण हल भत्काएर १४ तले होटेल बन्दै

Read Time : > 5 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:३३:oo

सपिङ कम्प्लेक्स, मनोरञ्जन हबसहितको स्टिलबाट बन्ने पाँचतारे होटेलमा ६ अर्ब लगानी हुने

अढाई दशकअघि उद्धव पौडेलले सञ्चालनमा ल्याएको गोपीकृष्ण सिनेमा हलमा कुनै वेला दैनिक १० हजारभन्दा बढी दर्शक फिल्म हेर्न पुग्थे । राम्रो फिल्म लाग्दा दिनमै चार सोसम्म चल्ने गरेको गोपीकृष्णका सातवटा पर्दामा एकैपटक तीन हजार दर्शकले सिनेमा हेर्न सक्थे । अझ कतिले टिकट नपाएर फर्किनुपर्थ्यो । 

पछिल्लो समय भने आधुनिक सपिङ मलसहितका मल्टिप्लेक्सप्रतिको आकर्षणले गोपीकृष्ण हलको क्रेज घट्न थाल्यो । त्यसलाई महसुस गरेका उद्धवका छोरा निरक पौडेल नयाँ योजनासँगै अघि बढिरहेका छन् । पुरानो भवन भत्काएर उक्त स्थानमा १४ तलाको स्टिलबाट आइकोनिक टावर बनाउन उनी जुटेका छन् । टावरमा पाँचतारे होटेल, मल्टिप्लेक्स सिनेमा हल, सपिङ कम्प्लेक्स र मनोरञ्जनका विभिन्न गतिविधिहरू हुनेछन् । उनी भन्छन्, ‘विगतमा चाबहिल क्षेत्रको पहिचान नै बदलिदिएको गोपीकृष्णले अब नयाँ पहिचान बनाउनेछ, हामी गोपीकृष्णलाई काठमाडौंकै आकर्षक डेस्टिनेसन बनाउँछौँ ।’ 

टावरमा थ्रिडी डिजिटल बिलबोर्ड, मल्टिप्लेक्स, एयर स्विमिङ पुल, रोबोटिक सुगालगायत थुप्रै अत्याधुनिक आकर्षणहरू रहनेछन् । ‘हिजो यो ठाउँमा मान्छेहरू सिनेमा हेरेर मात्र रमाउँथे,’ निरक थप्छन्, ‘भोलि मनोरञ्जनका अरू गतिविधिहरू थपिएपछि यो इन्टरटेनमेन्टको हब बन्नेछ ।’ पाँचतारे होटेल र अत्याधुनिक सपिङ कम्प्लेक्सले गोपीकृष्णलाई प्रिमियम स्पटका रूपमा पनि चिनाउनेछ । यो पूरा परियोजनामा करिब ६ अर्ब लगानी हुने अनुमान छ, जुन सम्पूर्ण रूपमा पौडेल परिवारले गर्नेछ । 

तीनवटा हल नभत्कने
अहिले पुराना भवन भत्काएर ‘साइट क्लियर’ गर्ने काम सम्पन्न भइसकेको छ । गोपीकृष्णमा सातवटा हल थिए, जसमध्ये गोपी, कृष्ण, राधा र मीरा गरी चारवटा हल भत्काइएको छ । अर्को भवनमा रहेका तीनवटा हल ओम, नमः र शिवाय भने स्वरूप परिवर्तन गरी सञ्चालन गरिने निरक बताउँछन् । यो भवनलाई नयाँ बन्ने टावरसँग जोडिनेछ । तीनवटा हलहरूको कुल सिट क्षमता पाँच सय ५५ हुनेछ । निरक सुनाउँछन्, ‘नयाँ प्रोजेक्ट सञ्चालनमा आएपछि यस क्षेत्रमा पहिलाभन्दा धेरै मानिसको चहलपहल बढ्ने विश्वास छ ।’

निरक पौडेल प्रबन्ध निर्देशक, जिकेसिसी

हिजो यो ठाउँमा मान्छेहरू सिनेमा हेरेर मात्र रमाउँथे । अब नयाँ प्रोजेक्टमार्फत चाबहिललाई हस्पिटालिटी, मनोरञ्जन र सपिङको हब बनाउने अठोटमा छौँ ।

अब गोपीकृष्णको पुरानो पहिचान त बदलिने नै छ । तर, उनले पुरानो पहिचान नमेटियोस् भनेर प्रोजेक्टको नाम जिकेसिसी (गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्स) राखेका छन् । चलचित्र निर्देशक निरक आफ्नो प्रोजेक्ट क्रिएटिभ हुनुपर्छ भन्ने मान्यता राख्छन् । यही नाममा उद्योग विभागमा १४ मंसिर ०७८ मा कम्पनी पनि दर्ता भइसकेको छ । जिकेसिसी प्रोजेक्टको आर्किटेक्ट डिजाइन चिनियाँ कम्पनीले गरिरहेको छ । भवनको नक्सा डिजाइन करिब सम्पन्न भइसकेको निरक बताउँछन् । निर्माण क्षेत्रमा चिनियाँहरू विश्वमै अब्बल कहलिएका कारण आर्किटेक्ट डिजाइनदेखि स्ट्रक्चर निर्माणसम्मको जिम्मा चिनियाँ कम्पनीलाई नै दिने योजनामा छन् उनी । सन् २०२२ फेब्रुअरीदेखि भवन निर्माण सुरु गरेर दुई वर्षभित्रमा काम सम्पन्न गर्ने अठोट छ ।

१० रोपनी क्षेत्रफल
जिकेसिसी १० रोपनी क्षेत्रफलमा फैलिनेछ । निरकका अनुसार ५३ आना जग्गा पछि किनेर थपिएको हो । होटेल र कम्प्लेक्सको भवनले करिब ४० प्रतिशत ठाउँ मात्र ओगट्नेछ, बाँकी ६० प्रतिशत क्षेत्रफल खुला हुनेछ, जहाँ ग्रिनरी, चिल्ड्रेन पार्क, फुडपार्क, गेमिङ जोनलगायत रहनेछन् । ‘हामी विकसित मुलुकका आधुनिक सहरहरूको जीवनशैलीको अनुभूति आफ्नै सहर काठमाडौंमा दिलाउन चाहन्छौँ, ताकि नेपालीले आफू विदेशी मुलुकमा जान नपाएकै कारण आधुनिक लाइफ स्टाइलको अनुभव लिनबाट वञ्चित हुनुपरेको अनुभव गर्नुनपरोस्,’ उनले भने, ‘गोपीकृष्णमा निर्माण भइरहेको मेगा प्रोजेक्ट जिकेसिसी यसकै लागि समर्पित छ ।’ जिकेसिसीलाई ल्यान्डमार्क बनाउने अठोटमा छन् उनी । 

१४ तलाको स्टिल स्ट्रक्चर (भवन)मा पाँच तलासम्म सपिङ कम्प्लेक्स र त्यसभन्दा माथि लक्जरी होटेल हुनेछ । सुरुमा निरक २५ तला अग्लो भवन बनाउने सोचमा थिए । तर, त्रिभुवन इन्टरनेसनल एयरपोर्ट नजिकै हुनाले ५५ मिटरभन्दा अग्लो भवन बनाउन नपाइने भयो । चाडपर्व, उत्सवअनुसार पूरै भवनको रङ नै परिवर्तन गर्न सकिने लाइटिङ टावरमा प्रयोग हुनेछ । साउनमा पूरै भवन हरियो, दसैँमा रातो, तिहारमा सप्तरंगी, होलीमा पूरै कलरफुल बनाउन मिल्नेछ । 

चाबहिल एयरपोर्ट, पशुपति, स्वयम्भू, बौद्ध र सहरबाट नजिकै रहेको हुँदा पाँचतारे होटेल र अत्याधुनिक सपिङ कम्प्लेक्स निर्माण गर्ने आँट आएको निरक सुनाउँछन् । ‘पहिला हल खोल्दा पनि मान्छेले यस्तो ठाउँमा पनि हल चल्छ र भन्थे, हल राम्रै चलायौँ,’ उनी भन्छन्, ‘नयाँ प्रोजेक्टमार्फत चाबहिललाई हस्पिटालिटी, मनाेरञ्जन र सपिङको प्रिमियम डेस्टिनेसन बनाउने अठोटमा छौँ ।’

सामुन्नेमै धोबीखोला छ, निरक धोबीखोलाको निश्चित ठाउँ सफा गर्ने र लाइटिङ गरेर आकर्षक बनाउने सोचमा छन् । आठ लेनको रिङरोडमा आइकोनिक ब्रिज राख्ने योजना सरकारकै छ । उनी जिकेसिसीको प्रवेशद्वार नै आकर्षक बनाउने सुनाउँछन् । ‘हामी खोलामा छुट्टै झोलुंगे पुल बनाउँछौँ, पुलमा लाइटिङ गर्छौँ, सजाउँछौँ ताकि मान्छेहरू हाम्रोमा आउँदा बाटोबाटै सेल्फी खिच्दै, टिकटक बनाउँदै आऊन्,’ उनी आफ्नो योजना सुनाउँदै भन्छन् । 

एक सय ५७ कोठा हुने यो होटेलको व्यवस्थापनमा पनि चर्चित बहुराष्ट्रिय होटेल ब्रान्ड आउनेछ, धेरै ब्रान्डसँग कुरा चलिरहे पनि ‘र्‍याडिसन रेड’ ब्रान्ड आउने सम्भावना रहेको व्यवस्थापनको भनाइ

स्टिलबाट बनेको पहिलो भवन
अहिले विकसित मुलुकका सहरमा गगनचुम्बी भवनहरू स्टिलबाट बन्न थालेका छन् । भवन निर्माणमा कंक्रिटको प्रयोग कम हुँदै गइरहेको छ । नेपालमा अहिलेसम्म ठूला भवनमा स्टिलको प्रयोग गरिएको छैन । निरक १४ तले भवनको पूरै संरचना स्टिल प्रविधिबाट बनाउँदै छन्, स्टिल स्ट्रक्चरको यति ठूलो भवन नेपालकै पहिलो हुनेछ । यो प्रविधि वातावरणमैत्री हुन्छ । गोपीकृष्णको भवनमा कंक्रिट (आरसिसी प्रविधि) अन्डरग्राउन्डमा मात्र प्रयोग गरिनेछ । स्टिल स्ट्रक्चर बनाउँदा आरसिसीभन्दा करिब १०–१५ प्रतिशत खर्च बढी लाग्ने अनुमान उनको छ । खर्च बढी लागे पनि भवन निर्माण सुरु गरेको दुई–अढाई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । यही भवन कंक्रिट प्रविधिबाट बनाउँदा कम्तीमा चार–पाँच वर्ष लाग्छ । 

भवनको अन्डरग्राउन्ड पार्किङमा दुई सयवटा गाडी अटाउनेछन् । अन्डरग्राउन्डको सिलिङ पनि अग्लो हुनेछ । भोलि थप पार्किङ आवश्यक परेमा हाइड्रोलिक प्रविधिबाट पाँच सयवटासम्म कार अट्ने क्षमता विस्तार गर्न सकिनेछ । गोपीकृष्णमा पर्याप्त खुला ठाउँ हुने हुँदा पार्किङको कुनै समस्या नहुने उनी सुनाउँछन् ।

यस्तो हुनेछ होटेल
गोपीकृष्णको मुख्य आकर्षण भनेकै पाँचतारे होटेल हो । यहाँ एक सय ५७ कोठा हुनेछन् । यो होटेल व्यवस्थापनमा पनि चर्चित बहुराष्ट्रिय होटेल ब्रान्ड आउनेछ । धेरै ब्रान्डसँग कुरा चलिरहे पनि ‘र्‍याडिसन रेड’ ब्रान्ड आउने सम्भावना बढी छ । ‘यो स्टाइलिस होटेल ब्रान्ड पनि हो,’ उनी भन्छन्, ‘हाम्रो पर्सनालिटी, थिम र सोचसँग पनि मिल्दो रहेछ ।’ होटेल र कम्प्लेक्समा विभिन्न स्वाद पस्किने चेन रेस्टुरेन्ट, कफी सप पनि हुनेछन् । होटेलमा चार हजार क्षमताको विशाल ब्यांक्वेट हल पनि बनाइँदै छ । 

एयर स्विमिङ पुल
जिकेसिसीमा नेपालकै नौलो स्विमिङ पुल बनाइँदै छ । कम्पलेक्सको पाँचौँ तलामाथि स्विमिङ पुल हुनेछ, जुन तलपट्टि पारदर्शी हुनेछ । मलको बीचमा हुने खाली ठाउँको माथिपट्टि (पाँच तलामा) रहने स्विमिङ पुलको फ्लोर अर्थात् भुइँलाई पारदर्शी बनाएर ग्राउन्डसम्म देखिने आकर्षक बनाउन लागेको निरकले सुनाए । स्विमिङ पुलमा पौडिरहेका मान्छेले मलमा किनमेल गर्न आएका मान्छे र मलमा आएका मान्छेले माथि स्विमिङ गरिरहेका मान्छे देख्न सक्नेछन् । स्विमिङ पुलको साइटमा पुलसाइट रेस्टुरेन्ट एन्ड बार पनि हुनेछ । स्विमिङ पुल भएकै ठाउँबाट होटेल पनि सुरु हुनेछ । 

यस्तो हुन्छ कम्प्लेक्स
यस सपिङ कम्प्लेक्सका तलाहरू अरू भवन–कम्प्लेक्सका भन्दा अग्लो बनाउन लागिएको छ । सामान्यतया १०–११ फिट हुनुपर्ने सिलिङ १५ फिटको बनाइँदै छ, जसले सपिङ गर्न आउने ग्राहकलाई खुलापन महसुस हुनेछ । कम्प्लेक्समा स्वदेशी तथा विदेशी ब्रान्डहरू हुनेछन् । चेन रेस्टुरेन्ट पनि राखिनेछ । मलको बाहिरपट्टि आकर्षक थ्रिडी डिजिटल बिलबोर्ड राख्न लागिएको छ, जुन नेपालकै पहिलो हुनेछ । जिकेसिसीको मुख्य आकर्षणमध्येमा पर्छ, थ्रिडी डिजिटल बिलबोर्ड । अहिले मलहरूमा टुडी फ्ल्याट डिजिटल बोर्ड राखेको देखिन्छ । यो थ्रिडी हुनाले स्क्रिनमा देखिने चित्रहरू हामीलाई रियलजस्तै लाग्नेछन् । निरक सुनाउँछन्, ‘हामी टेक्नोलोजीमा पनि मोर्डनाइज हुन खोजेका छौँ ।’

कम्प्लेक्स कस्तो बनाउने भन्ने विषयमा आठ महिनादेखि ठूलो टिमले उपत्यकाका विभिन्न ठाउँहरूमा पुगेर सर्भे गरिरहेको निरकले बताए । उपभोक्ताको क्रयक्षमता, चाहना र रुचिअनुसारका सामानहरू पसलमा हुनेछन् । निरक क्लाइन्टले जस्तो डिजाइन चाहन्छ, मलमा त्यस्तै डिजाइन र सुविधा भएको पसल तयार गरिदिने सोचमा छन् । एप्पलले एप्पलकै डिजाइनमा सोरुम खोज्यो भने उनी त्यस्तै डिजाइनको पसल तयार पारेर दिनेछन् । 

निरकले जिकेसिसीको लोगोमा सुगा राखेका छन् । त्यो लोगोलाई घडीकै जस्तो आकार दिएर भवनको टपमा राखिनेछ । त्यहाँ रोबोटिक सुगा हुन्छ, जुन टाढाबाट हेर्दा भवनमाथि उडेजस्तै देखिन्छ । चराले पखेटा चलाउने, उडेर बस्ने गर्नेछ । साथै, उक्त चरा घडी आकारको लोगोमा १२, ३, ६, ९ र १२ बजे ठाउँ फेरी–फेरी बस्नेछ । मान्छेले चरा हेरेरै टाढैबाट कति बज्यो भनेर थाहा पाउन सकून् । पानी पर्‍यो भने त्यो चराले छाता पनि ओढ्नेछ । यो पनि नेपालको होटेल तथा कम्प्लेक्सका लागि नौलो प्रयोग नै हुनेछ ।

सिनेमा हल
अहिले भइरहेको भवनमा एकमाथि अर्को गरी तीनवटा हल छन्, ओम, नमः, शिवायः । अब हलको डेकोरेसन मात्र होइन, नाम पनि परिवर्तन हुनेछ, रेड, ब्लु र ग्रिन । रेड हलमा सिट, कार्पेट, बाथरुम, फ्लोर, रेस्टुराँ, लबी, लाइनिङ सबै रातो हुने निरक सुनाउँछन् । त्यसैगरी, ब्लूमा सबै निलो र ग्रिनमा सबैथोक हरियो । ‘आरजिबी भनेको सिनेमा प्रयोग गर्ने प्राइमरी कलर हो, त्यसलाई तीनवटा हलमा थिमका रूपमा प्रयोग गर्दै छौँ,’ उनी भन्छन् । अहिले भइरहेको भवन र नयाँ भवन एक–आपसमा गाँसिनेछन् । 

ad
ad