
हुम्लाको सर्केगाड गाउँपालिका– १ जैरगाउँका युवक चन्द्र कामी प्रहरीको सम्पर्कमा आएका छन् ।
उनी खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ याङ्चु प्रहरीको सम्पर्कमा आएका हुन् । उनलाई अहिले जिल्ला सदरमुकाम सिमकोट ल्याइँदै गरेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए ।
कथित उपल्लो जातकी युवती विवाह गरेका हुम्ला सर्केगाड गाउँपालिका– १ जैरगाउँका युवक चन्द्र कामीलाई केटी पक्षले अपहरण गरी एक सातादेखि गायब पारेको थियो। उनलाई गत बुधबार (२९ मंसिर) राति करिब २० जनाको समूह घरमै आएर निर्घात कुटपिट गर्दै गायब पारेका थिए ।
चन्द्रले ५ मंसिरमा मुगुको सोरु गाउँपालिका– ४ लिप्रु गाउँकी सुन्तली मल्लसँग भागीविवाह गरेका थिए । स्थानीयहरूका अनुसार सुरुदेखि नै सुन्तलीको माइती पक्षबाट धम्की आएपछि असुरक्षाका कारण उनीहरू सर्केगाड– २ को रिप गाउँमा बस्दै आएका थिए ।