१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o८:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सहिद स्मारक ए डिभिजन लिग : जावलाखेलको पहिलो जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:५२:oo

सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले पहिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई १–० गोलअन्तरले हराएको हो।

३८औँ मिनेटमा विदेशी मिडफिल्डर निकोलास फर्नान्डेजले गरेको गोलमा जावलाखेलले अग्रता लिएको हो । फर्नान्डेजले ओनयुना जुनियरको पासलाई पोस्टको दिशा दिएका थिए । 

लिगको पाँचौँ खेलमा आएर जावलाखेलले गोलखाता खोलेको हो । यसअघि पहिलो र दोस्रो खेलमा मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लबलाई समान १–० को नतिजा सुम्पिएको जावलाखेलले तेस्रो खेलमा मच्छिन्द्र क्लबलाई २–० को नतिजा सुम्पिएको थियो । चौथो खेलमा एपिएफसँग गोलरहित बराबरी खेलेको थियो । जावलाखेलको पाँच खेलमा चार अंक छ भने समान खेलमा च्यासलको पनि समान चार अंक छ ।

मनाङलाई दुई अंकको अग्रता
घरेलु मैदानको फाइदा उठाउँदै मनाङ मस्र्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पोखरा रंगशालामा कप्तान अञ्जन विष्टको दुई तथा वैकल्पिक खेलाडी निसान लिम्बुको एक गोलमा मनाङले पुलिसलाई ३–१ गोलअन्तरले हराएको हो । 

घरेलु मैदानमा पहिलो हाफमा अग्रता बनाउँदै रोकिएको मनाङ दोस्रो हाफमा पुलिसविरुद्ध दुई गोल गर्न सफल भयो । खेलमा पहिलो गोल अञ्जनले गरे । डिफेन्डर दिनेश राजवंशीको लामो पासमा पुलिसका गोलकिपर रोशन खड्का आउट अफ पोजिसन रहँदा बल पाएका अञ्जनले खाली पोस्टमा सहज गोल गरे ।

३५औँ मिनेटमा मनाङका डिफेन्डर सरोज योञ्जन लामाले १८ यार्ड बक्सभित्र पुलिसका फरवार्ड निरकुमार राईमाथि फल गरे । त्यसपछि पुलिसले पेनाल्टी पाएको थियो । सोही पेनाल्टीमार्फत सुमन लामाले पुलिसका लागि बराबरी गोल फर्काएका हुन् ।

७३औँ मिनेटमा अञ्जनले फ्रि–किकमार्फत दोस्रो गोल गर्दै पुनः अग्रता दिलाए । पुलिसका डिफेन्डर सन्तोष हेमरुनले १८ यार्ड बक्सको एजमा बल ह्यान्ड गरेसँगै मनाङले फ्रि–किक पाएको थियो ।

अञ्जनले पुलिसको डिफेन्सिभ वालको दायाँतर्फबाट गरेको प्रहार सोझै गोलमा परिणत भएको थियो । खेलको ८३औँ मिनेटमा मनाङले ३–१ को अग्रता बनायो । वैकल्पिक खेलाडी निसान लिम्बुले पनि गोल गरे । ओलावालेको प्रहार गोलरक्षक रोशनले पन्च गरेको रिबाउन्डमा निसानले गोल गरेका थिए । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलोपटक ए डिभिजन लिगलाई मोफसलमा लगेको हो । घरेलु मैदानमा पहिलो खेलमै मनाङ ३ अंक जोड्न सफल भएको छ । जितसँगै मनाङ पाँच खेलबाट १३ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको मच्छिन्द्रको ११ अंक छ । पराजित पुलिस पाँच खेलबाट ५ अंकसहित आठौँ स्थानमा छ ।

ad
ad