देउवाले पन्छाए, मतदाताले समेटे

डिजिटल संस्करण

कांग्रेसको १४औँ महाधिवेशन उद्घाटनको भोलिपल्ट २५ मंसिरमा मनोनयन दर्ताको दिन थियो । एकाबिहानै धेरै महाधिवेशन प्रतिनिधिले अपत्यारिलो खबर सुने, ‘संस्थापनको टिममा विश्वप्रकाश शर्मा अटाएनन् ।’ हुन पनि यो आश्चर्यजनक नै थियो । पछिल्ला केही वर्षदेखि प्रवक्ताको भूमिका रहँदै सभापति शेरबहादुर देउवासँग निकट देखिएका शर्मा उनकै टिमबाट महामन्त्रीका उम्मेदवार बन्ने निश्चित ठानिएको थियो । तर, देउवा आफ्नो सभापति पद सुनिश्चित गर्न चाहन्थे । त्यसैले कृष्णप्रसाद सिटौलासँग सम्झौता गरेर एक महामन्त्री उनको समूहलाई दिए । अर्कोमा डा. प्रकाशशरण महतलाई रोजे । 

एकाएक संस्थापनबाट महामन्त्री बन्ने सम्भावना नरहेपछि उनी समूहबाट बाहिरिए र शेखर कोइराला नेतृत्वको समूहनजिक पुगे । कोइरालाबाट गगन थापा निश्चित उम्मेदवार थिए । शशांक कोइरालाले अर्को महामन्त्रीमा डा. मीनेन्द्र रिजाललाई रोज्न शेखरलाई बाध्य बनाए । त्यहाँ पनि मुख्यमन्त्री पाउने सम्भावना नरहेपछि त्यहाँबाट हिँडेका उनी प्रकाशमान सिंह नेतृत्वको समूहबाट महामन्त्रीको उम्मेदवार बनेर देखा परे । सिंह सभापतिका अन्य उम्मेदवारसामू तुलनात्मक रूपमा निकै कमजोर उम्मेदवार थिए । त्यसैले विश्वप्रकाशको उम्मेदवारी चुनौतीपूर्ण रहेको विश्लेषण गरे, तर हरेस खाएनन् । दृढतापूर्वक मतदातासामू उभिए र आफ्ना एजेन्डा अघि सारे । नभन्दै मतदाताले उनका एजेन्डा र उनलाई अनुमोदन गर्दै महामन्त्रीमा निर्वाचित गरे । उनी निर्वाचित हुँदै गर्दा कांग्रेस मुख्यालयमा नारा लाग्यो, ‘कांग्रेसभित्र क्रान्ति, गगन र विश्व महामन्त्री ।’

अन्तिम समयमा पाएको धोकाका बाबजुद पार्टीको महŒवपूर्ण र प्रभावशाली पदमा विश्वप्रकाशको राजनीतिक यात्रा नेविसंघबाट सुरु भएको थियो । शर्मा पिता परशुराम शर्मा भण्डारी र माता सावित्री शर्मा भण्डारीका कान्छा सन्तानका रूपमा ६ पुस ०२७ मा झापामा जन्मिएका थिए । पारिवारिक पृष्ठभूमि राजनीतिक भएकाले सानै उमेरदेखि प्रभाव पर्यो । ०४० मा धुलाबारी माविको इकाइ सभापति बनेका उनी ९ कक्षामा अध्ययनरत हुँदा नै १४ वर्षको उमेरमा राजनीतिक कारणले जेल परेका थिए । 

मेची क्याम्पसको सभापति हुँदै ०४७ मा उनी नेविसंघ झापाको सभापति बने । ०४८ मा बुटबलमा भएको अधिवेशनबाट नेविसंघको केन्द्रीय सदस्य, ०५३ मा महामन्त्री, ०५३ मा केन्द्रीय उपसभापति हुँदै ०५७ मा नेविसंघको केन्द्रीय सभापति बने । ०५७ मा उनी पहिलोपटक कांग्रेसको महाधिवेशन प्रतिनिधि बने ।

मानविकी तथा सामाजिक शास्त्र संकायमा स्नातक गरेका शर्माको बहुआयामिक व्यक्तित्व छ । राजनीतिसँगै उनी साहित्य रचना र अन्य सिर्जनशील कार्यमा समेत सक्रिय रहँदै आएका छन् । केही अघि उनले कान्तिपुर टेलिभिजनमा ‘ऐना’ नामको टेलिभिजन सो गरेका थिए । सामाजिक विषयवस्तुमा गहिरो अध्ययनसहित तयार पारिएको उनको सो लोकप्रिय बन्यो । 

नेविसंघको केन्द्रीय नेतृत्वसम्म पुगे पनि पार्टी राजनीतिमा भने उनी सुरुवातमा निराश हुनुपर्यो । पार्टीको १२औँ महाधिवेशनअन्तर्गत झापा जिल्ला सभापतिमा प्रतिस्पर्धा गरेका उनी पराजित भए । तर, युवा पुस्तामा उनको लोकप्रियता बढ्दै थियो । ०७२ मा सम्पन्न १३औँ महाधिवेशनबाट उनी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भए । ०७४ मा पार्टी सभापति शेरबहादुर देउवाले उनलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिए । उनी प्रवक्ता भएसँगै कांग्रेस पार्टी सूचना आदानप्रदानमा सहज र प्रभावकारी बन्यो । पार्टीभित्र प्रविधिको प्रयोग भित्र्यान उनले उल्लेख्य भूमिका खेले । 

पार्टीका सबै उमेर समूहबीच लोकप्रिय देखिन्थे । महाधिवेशनकै दौरान पनि त्यस्ता दृश्य देखिएका थिए । संस्थापन पक्षमा नअटाएका भए पनि देउवाका लागि भोट मागिरहेकाले महामन्त्रीमा विश्वप्रकाश भन्दै हिँडेको पनि देखिन्थ्यो । शेखर समूहका थुप्रै प्रचारकर्मीले गगन थापा र विश्वप्रकाशको पर्चा घाँटीमै झुन्ड्याएर हिँडेका थिए । यही लोकप्रियताका कारण उनी निकै चुनौतीपूर्ण अवस्थामा पनि १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भए । उनले पार्टीमा परम्परागत र बलिया गुटका प्रभावशाली नेताहरूलाई उछिन्दै महामन्त्रीमा बाजी मारेका हुन् । 

कांग्रेसमा नेतृत्व परिवर्तनको बहस लामो समयदेखि चल्दै आएको थियो । १४औँ महाधिवेशन त्यसको निर्णायक बिन्दु बनेको छ । यसअघि शर्माले अब राजनीतिमा परिवर्तन आवश्यक देखिएको भन्दै दुई दस्ताबेज सार्वजनिक बहसमा ल्याएका छन् । ‘हिजो राजनीतिक परिवर्तन : अब राजनीतिमा परिवर्तन’ र ‘दलमा रूपान्तरण : देश रूपान्तरणको अनिवार्य सर्त’ नामका छुट्टाछुट्टै अवधारणापत्र ल्याएका छन् । ती दस्ताबेजमार्फत राष्ट्रपतिमा एक कार्यकाल, प्रधानमन्त्रीमा दुई कार्यकाल, मन्त्रीमा तीन कार्यकाल र सांसदमा चार कार्यकाल मात्र रहने अनिवार्य व्यवस्थाको प्रस्ताव गरेका छन् । 

बिपीलाई राजनीतिको आदर्शमा मान्ने शर्माले १४औँ महाधिवेशनका लागि २४ भदौमा सुन्दरीजलस्थित बिपी संग्रहालयबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका थिए । महामन्त्रीमा निर्वाचित भएलगत्तै पनि बिहीबार उनी बिपी संग्रहालय पुगे । बिपीको सालिकमा झुके र प्रण गरे, ‘राजनीतिमा परिवर्तन र दलमा रूपान्तरणको लक्ष्यबाट कदापि विचलित हुनेछैन ।’
 

सुझावित समाचार