मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
बाबुकाजी कार्की
२०७८ मङ्सिर २३ बिहीबार ०८:३७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कोरोनाको मारमा पर्यटन व्यवसाय

Read Time : > 2 मिनेट
बाबुकाजी कार्की
२०७८ मङ्सिर २३ बिहीबार ०८:३७:००

कोभिड–१९ का कारण अन्य क्षेत्रको तुलनामा पर्यटन व्यवसाय नराम्रोसँग थला पर्‍यो । कोरोनाले विश्वव्यापी रूपमा पर्यटन व्यवसाय शिथिल भएको परिवेशमा नेपालले पनि एक खर्बभन्दा बढी घाटा व्यहोरिसकेको छ । नेपालको पर्यटन क्षेत्रमा मात्रै झन्डै १५ खर्ब लगानी भएको तथा १० लाखभन्दा बढीले प्रत्यक्ष र २० लाखभन्दा बढीले अप्रत्यक्ष रोजगारी पाएको पर्यटन बोर्डको तथ्यांकले देखाउँछ । विश्व पर्यटन संगठनका अनुसार सन् २०२० मा विश्वभर पर्यटन ७५ प्रतिशतले र नेपालमा ८१ प्रतिशतले गिरावट आएको छ । अहिले कोरोना खोपको विकासलगायत नागरिकमा स्वस्थकर बानी–व्यहोराका कारण संक्रमणमा गिरावट आएसँगै पर्यटन व्यवसाय बिस्तारै तंग्रिँदै आएको छ । 

नेपाल सांस्कृतिक, धार्मिक र प्राकृतिक विविधताको रोचक संगमस्थल हो । नेपालको सांस्कृतिक र धार्मिक बिरासत शताब्दियौँ पुरानो र विश्वमै अनुपम छ । ‘अतिथि देवो भव’को संस्कार र संस्कृतिमा अभ्यस्त नेपालीको जीवनस्तर उकास्न पर्यटन प्रवद्र्धन वरदान साबित हुन सक्छ । नेपाली समाजको सुमधुर संरचना, विभिन्न जातजाति, धर्म संस्कार र संस्कृतिको अनुपम समझदारी र सहकार्यमा जीवन्त रहेको छ । यहाँका चाडपर्व, संस्कार र दिनचर्या तथा सुमधुर धार्मिक सहिष्णुता अन्य देशका लागि उदाहरणीय र अनुकरणीय हुन सक्छन् । विभिन्न जातजाति तथा समुदायको पहिचान र परिचय उनीहरूको रहनसहन, संगीत र नृत्यमा प्रकट हुन्छ । कला र शिल्प, लोकगीत र वाद्यवादन, भाषा र साहित्य, दर्शन र धर्म, चाडपर्व र उत्सव, खाना र पेयमा मुखरित हुन्छ । सांस्कृतिक पर्यटनलाई प्रवद्र्धन गर्न मौजुदा विशिष्ट संस्कृतिको संरक्षण र विकासमा विशेष ध्यान दिनुपर्छ । 

नेपाल आउने पर्यटकको संख्याअनुसार भाषा र शैलीमा राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चार माध्यममार्फत प्रचार–प्रसार गर्नेतर्फ नेपाल सरकारले खासै योजना बनाएर काम गरेको देखिँदैन । नेपाललाई आकर्षक, सुरक्षित, मनोरम र साहसिक पर्यटकीय गन्तव्यका रूपमा विश्व बजारमा स्थापित गराउने खालका आक्रामक प्रचार–प्रसार कार्यक्रमको खाँचो देखिन्छ । पर्यटकीय स्थलहरूको प्रचार–प्रसार, पहिचान भएका गन्तव्यको पूर्वाधार निर्माणमा तीव्रता र थप नयाँ पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रवद्र्धनका लागि प्राथमिकता दिनुपर्ने देखिन्छ । ऐतिहासिक पर्यटकीय स्थल, गढी, किल्ला, दरबार आदिको महत्वको प्रचार गर्दै संरक्षण र सहज पहुँचका लागि आवश्यक व्यवस्था गरिनुपर्छ । पर्वतीय पर्यटन, कृषि पर्यटन, ग्रामीण पर्यटन, जलयात्रा पर्यटन, पर्यापर्यटन, धार्मिक सांस्कृतिक पर्यटन, खेल पर्यटन, स्वास्थ्य पर्यटनजस्ता क्षेत्रलाई समेटेर एकीकृत पर्यटन विकासमा जोड दिइनुपर्छ । बाह्य र आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै पर्यटन विकासको पूर्वाधारका रूपमा लिइने बाटो, होटल, होमस्टे, सुरक्षित वातावरण, सुयोग्य पथप्रदर्शक आदिको सुनिश्चितताले मात्रै दिगो पर्यटन विकासमा टेवा पुग्न सक्छ । नेपालको परम्परा, लोपोन्मुख भाषा, कला र संस्कृति, रीतिरिवाज आदिको संरक्षणका लागि एक राष्ट्रिय तथा सबै प्रदेशमा प्रदेशस्तरीय सांस्कृतिक संग्रहालयको स्थापना दिगो पर्यटन विकासका लागि सकारात्मक पहल ठहरिनेछ । 

पर्यटन विकासको पूर्वाधार मानिने बाटो, होटेल, होमस्टे, सुरक्षित वातावरण, सुयोग्य पथप्रदर्शक आदिको सुनिश्चितताले मात्रै कोरोनाको चपेटामा परेको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्न सक्छ
 

कमजोर आर्थिक स्थिति भएको नेपालले आधुनिक वैभवपूर्ण संरचना निर्माण गरेर पर्यटक आकर्षण गर्ने आधार नभए पनि प्राकृतिक मनोरम दृश्य तथा धार्मिक सांस्कृतिक संरचना र संस्कारले पर्यटन व्यवसाय फस्टाउन प्रचुर मद्दत पुग्ने जगजाहेर छ । हामीे प्राकृतिक, सांस्कृतिक, धार्मिक सम्पदा र सभ्यताको धनी भएर पनि सदुपयोग गर्न नसक्नु भनेको माल पाएर चाल नपाएको टिठलाग्दो अवस्था हो । नेपाली पोसाक, जातजाति, धर्म, पाहुना सत्कार, धार्मिक संस्कारमा विविधता, सांस्कृतिक धार्मिक सम्पदामा प्रचुरता आदि पर्यटकीय आकर्षणका क्षेत्र हुन् ।

युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत धरोहर स्तूप, मन्दिर, गुम्बा, विहार, दरबारको संरक्षण र संवद्र्धनमा समेत तदारुकता नदेखिनु दुःखद हो । कुनै वेला मन्दिरैमन्दिरको सहर भनेर चिनिएको काठमाडौं उपत्यका घरहरूको अस्तव्यस्त कंक्रिट जंगलको छायामा परेको छ । भूकम्पबाट प्रभावित उपत्यकाभित्रका दरबार स्क्वायरहरू, स्वयम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ, चाँगुनारायणलगायत मठमन्दिरको जीर्णोद्धारमा उदासीनताका कारण पनि सांस्कृतिक धार्मिक पर्यटनमा धक्का लागेको छ । उपत्यकाबाहिर वराह क्षेत्र, हलेसी, कालिञ्चोक भगवती, पाथिभरा भगवती, दोलखा भीमसेन, सैलुङ, मनकामना, गोरखा दरबार, जनकपुर, लुम्बिनी, मुक्तिनाथ, गोसाइँकुण्ड, स्वर्गद्वारी, खप्तड आश्रम, विन्ध्यवासिनी, वाराही पोखरा फेवातालगायत तालजस्ता असंख्य धार्मिक सांस्कृतिक प्राकृतिक स्थलको प्रचार–प्रसार र पर्यटकमैत्री वातावरणका अभावले पर्याप्त पर्यटक भित्र्याउन नसकिएकोतर्फ सरोकारवाला सबैको ध्यान जानु जरुरी छ ।