१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ मङ्सिर १४ मंगलबार १९:३०:००
Read Time : > 1 मिनेट
अन्तर्वार्ता डिजिटल संस्करण

पूर्वराजाले पनि मलाई शुभकामना दिनुभएको छ : राजेन्द्र लिङ्देन (भिडियो अन्तर्वार्ता)

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर १४ मंगलबार १९:३०:००

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनले पार्टीलाई बचाउन आफूले उम्मेदवारी दिएको बताएका छन्। राप्रपाको एकता महाधिवेशन बुधबारदेखि काठमाडौंमा सुरु हुँदै छ।
राप्रपा पुरानै ढाँचाबाट चल्न नसक्ने उनले बताए। नयाँ पत्रिकासँग कुरा गर्दै लिङ्देनले राप्रपालाई नयाँ पुस्तामा लैजानका लागि नै आफ्नो उम्मेदवारी भएको उनको दाबी छ। 


राप्रपा सत्ताको फेरोमा मात्र देखिएको आरोपबाट मुक्त गर्नुपर्ने उनले बताए। निहित व्यक्तिलाई सत्तामा पुर्याउन मात्र नेतृत्व दिइरहन नहुने उनले बताए। ‘संसदमा म राप्रपाको एक्लो सांसदको रूपमा छु। सरकारमा जाने बाटो खुला थियो। मन्त्री हुने बाटो खुला थियो। तर त्यो गरिनँ,’ उनले भने, ‘जसोतसो ३ प्रतिशत कटाउने र समानुपातिकमा सिट ल्याएर सत्ता खोज्ने जुन लाइन देखियो त्यो गतल छ। सत्ताको चक्रव्यूहमा फसेर एजेन्डा बिर्सने काम भयो।‘

जुन ढंगले राप्रपा चलिरहेको छ यसरी चल्ने हो भने यसको अस्तित्व खतरामा पर्ने उनले बताए। जसरी प्रजा प्ररिषद्, गोर्खा परिषद् हराए त्यो अवस्था आउने खतराबाट अघि बढ्नुपर्ने उनको भनाइ छ।
उनले पञ्चहरूको र बूढाहरूको मात्र पार्टी नभएर आमजनताको पार्टी बनाउन र भुइँ मान्छेले पनि नेतृत्व गर्न सक्छ भन्ने उद्देश्यका साथ उम्मेदवारी दिएको बताए। लिङ्देनले आफ्नो उम्मेदवारी कसैका विरुद्धमा नभएको पनि बताए। 
‘मेरो उम्मेदवारी कसैका विरुद्ध गरिएको विद्रोह होइन। यो अनिवार्य आवश्यकता हो। लामो समय हुँदा पनि यो नेतृत्वले निकास दिन सकेन। निकास दिनका लागि यो अनिवार्य थियो। नेतृत्व परिवर्तन गरेर नयाँ प्रवाह दिन नसक्ने हो भने निकास दिन सकिँदैन,’ उनले भने।

अन्तिम क्षणमा कमल थापाले पनि यो अभियानमा आएर सहयोग गर्ने भन्ने अपेक्षा रहेको उनले बताए। ‘यो उमेरको कुरा मात्र होइन समयको कुरा हो। कमल थापालाई समयको पदचाप बुझ्न अनुरोध गर्छु। तपाईंका अधुरा काम ममार्फत पूरा गर्नुस्। समयको माग बुझ्नुस्,’ उनले भने। 

जसरी कमल थापाले टुँडिखेलमा दौडिने कुरा गर्नुभयो त्यो अराजनीतिक कुरा भएको उनले बताए। अब आउँदो निर्वाचन केन्द्रित हुनुपर्ने उनले बताए। विगतको निर्वाचनमा सबै स्थानमा उम्मेदवार उठाउन नसकेको गल्ती अब नदोहोरिने उनले बताए। ‘अब त्यो गल्ती दोहोरिँदैन। परिणाम पनि निकाल्छौँ। नवीन राप्रपा निर्माणको अभियान हामी हामीले हाम्रा समर्थक र एजेन्डामा सहमतहरूलाई जोड्छौँ’, लिङ्देनले भने। 

लोकेन्द्रबहादुर चन्द संस्थापक अध्यक्ष भएकाले कसैको पक्षमा खुल्न उचित नहुने धारणा उनको छ। पशुपतिशमशेर राणाले दुईजना मात्र भएको अवस्थामा सजिलो भएको र सकेसम्म मिल्नुपर्छ भन्नेमा आफू भएको उल्लेख गरेको उनले बताए। ‘मिल्ने अवस्था नभएमा निर्णय लिन्छु भन्नुभएको छ,’ उनले भने। राजसंस्था र हिन्दूराष्ट्र स्थायित्वको आधार भएकोले यो एजेन्डालाई अघि बढाउने उनले बताए। अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट भएको उनले बताए। ‘उम्मेदवारी घोषणा गरेपछि पूर्वराजासँग भेट गरेको छु,’ उनले भने,  ‘उहाँले शुभकामना छ भन्नुभएको छ।‘