मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
‘गाउँ आएको बाटो’ सिनेमा निर्माण घोषणा कार्यक्रममा मंगलबार निर्देशक नवीन सुब्बासहितको टिम । तस्बिर : नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ८ बुधबार ०६:३५:००
Read Time : > 2 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

दशकपछि नवीन सुब्बाको गाउँ आएको बाटो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ८ बुधबार ०६:३५:००

मौलिक सिनेमा निर्देशकको छवि बनाएका नवीन सुब्बा एक दशकपछि निर्देशनमा पुनः फर्किएका छन् । उनले पूर्वी पहाडका राई समुदायको कथामा आधारित ‘गाउँ आएको बाटो’ निर्देशन गर्न लागेका हुन् । यो उनको तेस्रो फिचर फिल्म हो । यसअघि उनले ‘नुमाफुङ’ र ‘गुडबाई काठमाडौं’ सिनेमा निर्देशन गरेका थिए । निर्देशक सुब्बाले आफू लामो समयपछि ठूलो पर्दाको सिनेमा निर्देशनमा फर्किएको बताए । सिनेमा निर्माण घोषणाका लागि मंगलबार आयोजित कार्यक्रममा उनले भने, ‘योबीचमा सिनेमासम्बन्धी थुप्रै काम गरियो । तर, फिक्सन भनौँ या ठूलो पर्दाको सिनेमामा काम गर्न भने लामो समयपछि अवसर मिलेको छ ।’ ‘गाउँ आएको बाटो’मा अभिनेता दयाहाङ राई र अभिनेत्रीमा पशुपति राई रहनेछन् । सिनेमाको कथा महेश राई र नवीन सुब्बाले लेखेका हुन् । 

निर्देशक सुब्बाले कोरोना महामारीले सिनेमा उद्योगलाई नयाँ चुनौती थपेको बताए । ‘अहिले कोरोना महामारीले सिनेमा उद्योगमा ठूलो प्रभाव छोडेर जाँदै छ । महामारीपछि संसारको सिनेमा उद्योग कस्तो बन्छ भन्ने बहस छोडेर जाँदै छ । सिनेमा कस्तो हुन्छ ? कस्तो हुनुपर्छ ? र सिनेमामा के–के हुनुपर्छ भन्ने बहस अन्तर्राष्ट्रिय बजार हुँदै नेपालसम्म आइपुगेको छ । हामी पनि त्यस्ता चुनौती सामना गर्न तयार हुनुपर्छ,’ उनले भने । 

निर्देशक सुब्बाले अहिले विश्व 
‘ग्लोबल भिलेज’मा परिणत भइसकेको र सिनेमा वितरण,  प्रसारण प्रक्रिया समेत परिवर्तन भएको बताए । यो परिवर्तनलाई नेपाली सिनेमाले सदुपयोग गर्नुपर्ने उनको जोड छ । यहीवेला नेपाली सिनेमालाई पनि अन्तर्राष्ट्रियकरण गर्न लाग्नुपर्ने उनको भनाइ छ । उनले अब बन्ने नेपाली सिनेमामा मौलिकपन हुनुपर्ने बताए । ‘हामीले विश्वमा प्रतिस्पर्धात्मक र गुणात्मक सिनेमा बनाउन सकेनौँ भने हाम्रो अस्तित्व रहँदैन, पहिचान रहँदैन । हाम्रो सिनेमा उद्योगले चिन्ता गर्नु पर्ने विषय यही हो । र हाम्रो प्रयास पनि त्यतैतिर केन्द्रित छ ’ उनले भने ।

कार्यक्रममा अभिनेता दयाहाङ राईले ‘गाउँ आएको बाटो’मा काम गर्न पाएकोलाई अवसर र चुनौतीका रूपमा लिएको बताए । उनले भने, ‘नवीन दाइसँग धेरै लामो समयपछि काम गर्ने अवसर मिलेको छ । मैले चुनौती र अवसरका रूपमा लिएको छु ।’ उनले आफ्नो करिअरको सुरुवाती दिनमा ‘दलन’ टेलिसिरियमा नवीन सुब्बासँगै काम गरेको बताए । 

सिनेमाका निर्माता अमोद राईले सिनेमा ‘गाउँ आएको बाटो’ नेपाली समाजलाई अन्तर्राष्ट्रियकरण गर्ने सेतुको भूमिका खेल्ने बताए । निर्माता राई हङकङमा लामो समयदेखि शिक्षण पेसामा आबद्ध छन् । उनले विश्वभर रहेका राई समुदायलाई समेटेर सिनेमा निर्माण गर्न लागेको जनाए । उनले भने, ‘हङकङले सिनेमाको भाषा र संस्कृतिको विकास गरेको छ । हङकङमा रहेका नेपाली समुदायलाई सिनेमाको माध्यमबाट आफ्नो परिचय दिन खोजेका हौँ । अन्तर्राष्ट्रिय बजार तथा त्यहाँका स्थानीयसँग नेपाली कला र संस्कृति आदनप्रदान खोजेका हौँ ।’ 

‘गाउँ आएको बाटो’को छायांकन एक सातापछि भोजपुरको बलङ्खा, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा हुनेछ । यो सिनेमामा समुदायस्तरबाट निर्माण गरिएको छ । सिनेमा निर्माणका लागि हङकङ, मकाउ, नेपाल, युके, अमेरिका, बेल्जियम, दक्षिण कोरिया, नेदरल्यान्ड, पोर्चुगल र जर्मनीमा रहेका राई समुदायका प्रतिनिधिबाट लगानी जुटाइएको छ । 

दयाहाङ र पशुपति मुख्य भूमिकामा
यो सिनेमामा दायहाङ राई, पशुपति राई, पर्शन राई, खनुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा, राज थापा काउचाको अभिनय रहनेछ । सिनेमालाई अमेरिकी सिनेमाटोग्राफर मार्सिन क्याप्रोनले खिच्दै छन् । कास्टिङ निर्देशन सिर्जना सुब्बा र केदार श्रेष्ठले गर्दै छन् । सिनेमाको प्रमुख सह– निर्देशक राजेश विश्वकर्मा छन् भने सह–निर्देशकमा अनिता रसाइली र विशाल न्यौपाने रहेका छन् । 

निर्देशक सुब्बाले अहिलेसम्म चलचित्र ‘नुमाफुङ’ र ‘गुडबाई काठमाडौं’ निर्देशन गरिसकेका छन् । ‘गुडबाई काठमाडौं’ सार्वजनिक प्रदर्शनमा आउने तरखरमा छ । सिनेमाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा समेत अवार्ड जितिसकेको छ । सुब्बाको ‘नुमाफुङ’ले पनि विश्वभर फरक प्रभाव पारेको छ । जातीय छुवाछूतविरुद्ध सुब्बाले निर्देशन गरेको टेलिसिरियल ‘दलन’लाई दर्शकले बिर्सन सकेका छैनन् ।