१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ कार्तिक २५ बिहीबार ०६:१५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

राइनासकोट होमस्टे आन्तरिक पर्यटकले भरियो

Read Time : > 1 मिनेट
२०७८ कार्तिक २५ बिहीबार ०६:१५:००

कोभिड –१९ का कारण बन्द रहेको राइनासकोट होमस्टे दसँैबाट सञ्चालनमा आएसँगै आन्तरिक पर्यटकको आगमन बढेको छ । लमजुङको ऐतिहासिक स्थल राइनासकोट होमस्टे पछिल्लो समय पर्यटकको उत्कृष्ट गन्तव्य बनेको हो । राइनास नगरपालिका– ९ मा रहेको ऐतिहासिक राइनासकोटमा पुनर्निर्माण गरिएका १४ वटा घरमा घरवास पर्यटन सञ्चालन गरिएसँगै राइनासकोट पुग्ने पर्यटक बढेका छन् । अमेरिकी नागरिक नतासा वाजनियाकको पहलमा राइनासकोटमा १४ वटा घर पुनर्निर्माण गरिएका छन् । भूकम्पले भत्किएका घरको पुनर्निर्माणसँगै सुरु गरिएको होमस्टे यतिवेला आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो । भूकम्पले भत्काएका राइनासकोटका घरमध्ये होमस्टे सञ्चालनका लागि १४ घर आधुनिक तवरबाट बनाइएका छन् ।

अहिले होमस्टेमा दैनिक दुई सयभन्दा बढी आन्तरिक पर्यटक राइनासकोटमा आउने गरेका छन् । गुरुङ जातिको कला, संस्कृति संरक्षणका लागि निर्माण गरिएको संग्रहालयमा समेत पर्यटकको आकर्षण बनेको छ । पुनर्निर्माणपछि बनाइएका संरचनाले गाउँमा आउने पर्यटकको संख्यामा दोब्बर वृद्धि भएको राइनासकोट पर्यटन व्यवस्थापन समितिका अध्यक्ष खड्कबहादुर गुरुङले बताए । एक दिनमा ८४ जनासम्म राख्न सकिने क्षमता रहेको अध्यक्ष गुरुङको भनाइ छ । होमस्टेमा अर्गानिक खानाका परिकारसँगै स्थानीय खसी तथा कुखुराको मासु खुवाउने गरिएको छ । राइनासकोटबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, पिक ट्वान्टी नाइन, गणेश, माछापुच्छे«, लमजुङलगायत १८ वटा हिमशृंखलाहरू देख्न सकिन्छ ।  होमस्टे सञ्चालकका अनुसार राइनासकोटको होमस्टेमा एक रात बसेको पर्यटकले चार सय रुपैयाँ, लोकल कुखुराको मासुसहितको एक छाक खानाको ३ सय रुपैयाँ, र सादा खानाको एक सय ५० रुपैयाँ तिर्नुपर्छ ।

गाउँमा होमस्टे सञ्चालन भई स्थानीयले मनग्ये कमाउन थालेसँगै गाउँ छोडी अन्यत्र गएका पनि गाउँ फर्कन थालेका छन् । राइनासकोटबाट बिहानैको मनमोहक सूर्योदय र साँझपखको सूर्यास्तको दृश्य, आँखैअगाडि ‘बादलुको घुम्टो’ ओढी मुस्कुराएका हिमाल, नागबेली पारामा बगेका चेपे र मस्र्याङ्दीको लोभ लाग्दो दृश्य, बाइसे–चौबीसे राज्य शासनमा निर्माण गरिएका ऐतिहासिक राइनासकोट किल्ला, स्थानीय कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिरलगायत थुप्रै कोट, किल्ला र गढीहरूको अवलोकन गर्न सकिन्छ ।