Skip This
विपन्नले उपचार गर्ने  वीर अस्पतालमा अढाई  महिनादेखि औषधि अभाव
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १६ मंगलबार
  • Saturday, 27 July, 2024
मञ्जु टेलर काठमाडाैं
२o७८ कार्तिक १६ मंगलबार o६:१४:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विपन्नले उपचार गर्ने  वीर अस्पतालमा अढाई  महिनादेखि औषधि अभाव

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o७८ कार्तिक १६ मंगलबार o६:१४:oo

अस्पतालको फार्मेसीमा सिटामोल र इमर्जेन्सीका औषधि समेत नपाएपछि सर्वसाधारण बाहिर महँगोमा किन्न बाध्य 

विपन्न नागरिकले उपचार गर्ने वीर अस्पतालमा साढे दुई महिनादेखि सिटामोल र इमर्जेन्सीमा प्रयोग हुने इन्जेक्सनलगायत पाँच सयभन्दा धेरै प्रकारका औषधिको अभाव भएको छ । अस्पतालको फार्मेसीमा औषधि नपाउँदा सर्वसाधारण निजी फार्मेसीमा महँगोमा किन्न बाध्य छन् । 

सिटामोल र इमर्जेन्सी प्रयोगमा आउने एड्रेनलाइन तथा हाइड्रोक्रोटिसन इन्जेक्सन मात्रै होइन मधुमेहका बिरामीलाई दिइने मेटाफर्मिन, दमका बिरामीलाई आवश्यक फोराकर्ट रोटाक्याप पनि छैन । त्यस्तै, ग्यास्ट्राइटिसको औषधि पान्टोप्राजोल, उच्च रक्तचापका बिरामीले खाने अमोल्ड एल ट्याबलेट, नार्कोटिक्स र विभिन्न एन्टिबायोटिक्सहरूको पनि अभाव छ । केही औषधि साढे दुई महिनादेखि त केही डेढ हप्तादेखि छैनन् । 

गत भदौयता अस्पतालले खरिदमा ढिलाइ गर्दा फार्मेसीमा औषधि सकिँदै गएको वीरका फार्मेसी प्रमुख सायमी मण्डलले बताए । ‘सबै रोगका लागि लगभग १५ सयभन्दा बढी प्रकारका औषधि उपलब्ध हुने गरेकोमा नयाँ आपूर्ति नहुँदा अभाव भएको छ । फार्मेसीमा क्रमशः सबै किसिमका औषधिहरू अभाव हुन थालेको छ,’ उनले भने, ‘औषधि आउन अझै एक–डेढ हप्ता लाग्न सक्छ ।’ 

वीरमा ६० कम्पनीले औषधि आपूर्ति गर्दै आएका छन् । जसमध्ये ४० भन्दा बढी कम्पनीले दुई दिनमै आपूर्ति गर्न सक्ने मण्डल बताउँछन् । तर, सिटामोल र इमर्जेन्सीमा प्रयोग हुने औषधि सकिँदासमेत अस्पतालले चासो देखाएको छैन । 

साढे दुई महिनादेखि औषधि अभाव भए पनि अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेत भने आफूलाई कुनै जानकारी नै नभएको जवाफ दिन्छन् । ‘फार्मेसीका प्रमुखले मलाई यसबारे कुनै जानकारी नै दिएका छैनन् । फार्मेसी मात्र नभई अन्य सबै इकाइका कामहरू महिनौँदेखि लथालिंग छन्, मिलाउँदा–मिलाउँदै थाकिसकेको छु । केही समयपछि सबै व्यवस्थापन हुन्छ,’ उनले भने । खरिद इकाइका प्रमुख अग्निधर बस्न्यात भने सबै इकाइमा कर्मचारी परिवर्तन भएकाले औषधि खरिदमा ढिलाइ भएको बताउँछन् । 

स्वास्थ्य बिमा गरेका, विपन्न नागरिक र लक्षित वर्ग (द्वन्द्वपीडित, जनयुद्धका घाइते, घरेलु हिंसा, बेवारिसे)लाई वीर अस्पतालको फार्मेसीमा अधिकतम ८० प्रतिशतसम्म छुट हुन्छ ।

औषधि अभाव भएको मलाई थाहै छैन : डा. भूपेन्द्र बस्नेत निर्देशक, वीर अस्पताल

औषधि अभावबारे मलाई जानकारी नै छैन । फार्मेसीका प्रमुखले यसबारे कुनै जानकारी दिएका छैनन् । फार्मेसी मात्र नभई अन्य सबै इकाइका कामहरू महिनौँदेखि लथालिंग छन्, मिलाउँदा–मिलाउँदै थाकिसकेको छु । केही समयपछि सबै व्यवस्थापन हुन्छ । 

तर, फार्मेसी प्रमुख सायमी मण्डल भन्छन्–अस्पतालले खरिदमा ढिलाइ गर्दा समस्या भयो 

हाम्रो फार्मेसीमा सबै रोगका लागि लगभग १५ सयभन्दा बढी प्रकारका औषधि उपलब्ध हुने गरेकोमा गत भदौयता अस्पतालले खरिदमा ढिलाइ गर्दा अभाव भएको हो । बाहिर ८० रुपैयाँ पर्ने ४० एमजी पान्टोप्राजोल इन्जेक्सन यहाँ २२ रुपैयाँमा पाइन्छ । त्यस्तै, सर्जरीपछि संक्रमण हुन नदिन प्रयोगमा ल्याइने एन्टिबायोटिक बाहिर पसलमा तीन सय ७५ रुपैयाँ पर्नेमा यहाँ दुई सय १९ रुपैयाँमै उपलब्ध हुन्छ । विशेष रोग वा विदेशबाट आयात गरिनेबाहेकका सबै औषधि बाहिरभन्दा आधार सस्तो पर्छ । नयाँ आपूर्ति नहुँदा क्रमशः सबै किसिमका औषधि अभाव हुन थालेको छ । औषधि आउन अझै एक–डेढ हप्ता लाग्न सक्छ ।

औषधि अभावले विपन्न मर्कामा
कोरोना संक्रमण भएर बुबालाई वीरमा राखेका सक्षम (नाम परिवर्तन) अस्पतालको फार्मेसीमा सामान्य औषधि पनि नपाएर हैरान छन् । ‘वीरको फार्मेसीमा सामान्य एन्टिबायोटिक पनि छैन । अस्पताल आएदेखि नै यस्तै भइरहेको छ । भित्र औषधि छैन बाहिर जानुस् भन्छन् । बाहिर महँगो पर्छ, त्यही पनि भनेको वेलामा पाइँदैन ।’ 

सोह्रखुट्टे बस्ने ६३ वर्षीय बलबहादुर मगर पनि श्रीमतीको उपचारका लागि आवश्यक औषधि अस्पतालको फार्मेसीमा नपाएपछि बाहिरबाट ल्याइदिन आफन्तलाई गुहार्दै थिए । उनी भन्दै थिए, ‘भित्रबाट छिटो औषधि ल्याउनु भनेको छ, यहाँका डाक्टर (फर्मासिस्ट)ले औषधि छैन भन्छन् । श्रीमतीको पिसाबमा इन्फेक्सन भएपछि उनी एक सातादेखि अस्पतालमा छन् । अस्पतालबाहिरका पसलमा पनि औषधि नपाएको उनले बताए ।