१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १५ सोमबार
  • Friday, 04 July, 2025
२o७८ कार्तिक १५ सोमबार २२:o६:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

प्राधिकरण भन्छ– एकैपटक पोखरा विमानस्थल र प्याराग्लाइडिङ सञ्चालन असम्भव

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १५ सोमबार २२:o६:oo

पोखरामा साहसिक पर्यटकका लागि लोकप्रिय प्याराग्लाइडिङ नयाँ विमानस्थल सञ्चालनमा आउँदा विस्थापन हुने भएको छ । अहिलेकै अवस्थामा नयाँ विमानस्थल सञ्चालनमा आउँदा प्याराग्लाइडिङ सञ्चालन प्राविधिक रूपमा सम्भव नरहेको नागरिक उड्डयन प्राधिकरणका एटिएम विभाग प्रमुख सुवर्णराज उपाध्यायले जानकारी दिए । नेपाल हवाई खेलकुद संस्था पोखराले सोमबार आयोजना गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै प्याराग्लाइडिङ एवं मनोरञ्जनात्मक हवाई गतिविधि अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

पश्चिम हुँदै उड्न र पूर्वबाट अवतरण गर्ने क्रममा समस्या आएमा प्याराग्लाइडिङलाई सम्भावना नहुने उनले प्रस्ट्याए । ‘दुईवटा गतिविधि एकैपटक सम्भव नै हुँदैन । प्याराग्लाइडिङ उड्ने आकाशमा हवाईजहाज उड्नुपर्ने हुन्छ। त्यसले असर गर्ने भएकोले दुवैखाले उडान एकैपटक सम्भव छैन,’ उनले भने, ‘हवाईजहाजको कारणले प्याराग्लाइडिङ र प्याराग्लाइडिङका कारण हवाईजहाजलाई असर पार्नुहुँदैन ।’ उनले प्याराग्लाइडिङ उडानका लागि भिन्दै सम्भावना खोज्नुपर्ने बताए ।  

उनका अनुसार पोखरा उपत्यकाभित्र झन्डै ६ किलोमिटर चौडाइ र २६ किलोमिटर लम्बाइको एयरस्पेस रहेको छ । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिम बिन्दुबाट हाल चालू विमानस्थलसम्मको दूरी २.५ किलोमिटर, फेवातालसम्म ५ किलोमिटर र प्याराग्लाइडिङ उडान हुने क्षेत्रसम्म ६ किलोमिटरको दूरी पर्छ । अहिले पोखराको आकाशमा उडान गर्ने प्याराग्लाइडिङले सराङकोट र तोरीपानीको आकाशमा ७ हजार र मान्द्रेढुंगाको आकाशमा ६ हजार फिट उचाइसम्म मात्र उड्न पाउँछन् ।  

‘पूर्वबाट अवतरण गर्ने जहाजले एप्रोच गर्न नसकेमा वा पश्चिम हुँदै उडान हुँदाको अवस्थामा प्याराग्लाइडिङ सम्भव हुँदैन । फ्लाइट प्रोस्युडर नै त्यहीअनुसारको छ । डिपार्चर र मिस एप्रोचमा समस्या आउन सक्छ ।’ उनले भने । अहिलेकै अवस्थामा एकैपटक दुवैखाले उडान सम्भव नहुने उनले बताए । तोकिएको एयर स्पेसभित्र उड्ने भएकोले प्याराग्लाइडिङ उडानका लागि सम्भावना खोज्नुपर्ने उनको भनाइ छ ।   

व्यवसायी भन्छन्– यात्रु ल्याउन पनि प्याराग्लाइडिङ उडाउनुपर्छ
पोखराका व्यवसायीले भने एयरपोर्ट र हवाई खेलकुदलाई सँगसँगै सञ्चालनको वातावरण बनाउन आग्रह गरेका छन् । उनीहरूले एयरपोर्टलाई राम्रोसँग सञ्चालन गर्न पर्यटक आउनुपर्ने र त्यसका लागि साहसिक हवाई खेलकुद गतिविधि हुनुपर्ने बताए ।

उनीहरूले पोखराको आकाशमा उडान हुने हवाई खेलकुदलाई विस्थापित गर्न नहुनेमा जोड दिए । पोखरा पर्यटन परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले अल्ट्रालाइट र प्याराग्लाइडिङलाई पोखराकै आकाशभित्र व्यवस्थापन गर्नुपर्ने बताए । पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईले पर्यटकीय गतिविधि नै ध्वस्त बनाउने गरी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुले अर्थ नराख्ने टिप्पणी गरे । 

पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले पनि सम्भव भएसम्म अन्तर्राष्ट्रिय उडानको सेड्युल मिलाएर प्याराग्लाइडिङलाई जोगाइराख्नुपर्ने धारणा राखे । उनले पोखराको पर्यटनको पहिचानको रूपमा रहेको प्याराग्लाइडिङ मर्न दिन नहुने उनले बताए । 

नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले अहिलेको अवस्थामा प्याराग्लाइडिङ गर्न समस्या रहने भए पनि सुरक्षाका सबै उपाय अपनाएर प्याराग्लाइडिङ सुचारु गर्नुपर्नेमा जोड दिए । यत्तिकै मिल्दैन भन्नेमा आफूहरू कन्भिन्स भए पनि प्रविधिको प्रयोग गरेर प्याराग्लाइडिङ उडान गर्न पाउनेमा आफू अझै पनि विश्वस्त रहेको उनको भनाइ छ । 

मिल्नेसम्म जोगाउने हो, तर मुढेबलले काम चल्दैन : महानिर्देशक क्षेत्री 
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले सकेसम्म आफूहरू पनि मनोरञ्जनात्मक हवाई गतिविधिलाई पोखराबाट विस्थापित हुन नदिने पक्षमै रहेको बताए । तर, प्राविधिक रूपमै अप्ठ्यारो पर्ने र बाध्यता आइपरेमा भने सम्भावना खोज्नुपर्ने उनको भनाइ छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ३० अर्बभन्दा धेरै खर्च भइसकेको चर्चा गर्दै विमानस्थललाई जोखिममा भने राख्न नहुने उनको तर्क छ । ‘२२ अर्ब रुपैयाँ भनिएपछि क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको लगानी नै ३० अर्ब रुपैयाँभन्दा धेरै पुगिसक्यो । अर्बाैँ लगानीको विमानस्थललाई छाडेर प्राविधिक रूपमा जोखिम मोलेर प्याराग्लाइडिङ राख्न सकिन्न,’ उनले भने, ‘हवाई खेलका गतिविधि पोखराबाट हटोस् भन्ने हाम्रो चाहना होइन । तर, मुढेबलले पनि काम चल्दैन । क्षति नहुनेतर्फ सचेत हुनुपर्छ ।’

प्रतिवेदन भन्छ– सर्तको पालना या अन्यत्र विस्थापन
पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणले गठन गरेको सुवास झाको संयोजकत्वमा गठित अध्ययन समितिले अहिले पोखरामा प्याराग्लाइडिङको भविष्य के हुने भन्ने विषयमा अध्ययन प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदनमा आँैल्याइएअनुसार अहिलेकै अवस्थामा पोखरामा प्याराग्लाइडिङले निरन्तरता पाउन सम्भव छैन ।

अहिलेकै ठाउँमा प्याराग्लाइडिङ सञ्चालन गरिने भए यस्तै प्रकृतिका अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा प्यराग्लाइडिङ सञ्चालन गरिरहेका स्विजरल्यान्ड, इटाली, फ्रान्सलगायत युरेपियन मुलुकमा अपनाइएका प्रविधि र मोडल अध्ययन गरी त्यसैगरी सञ्चालन गर्न सकिने र अर्को विकल्पमा हाल सञ्चालन गरिरहेभन्दा बाहिर तर पोखरा उपत्यकासँग जोडिएका क्षेत्रहरू जस्तै पन्चासे र  माछापुच्छ«ेलगायतका क्षेत्रमा सार्न सकिने औँल्याइएको छ ।

तर, स्विजरल्यान्ड, इटाली, फ्रान्सलगायत युरेपियन मुलुकमा अपनाइएका प्रविधि र मोडल अपनाएर पनि सँगै एयरपोर्ट र प्याराग्लाईडिङ सञ्चालन गर्न नसकिने नागरिक उड्डयन प्राधिकरणका एटिएम विभाग प्रमुख सुवर्णराज उपाध्यायले जानकारी दिए । उनले ती देश र पोखरा विमानस्थलको अवस्थिति नै फरक रहेको प्रस्ट्याए ।

प्याराग्लाइडिङमा एक अर्ब लगानी, हजारजनालाई रोजगारी
पोखरामा वार्षिक एक लाखभन्दा धेरै पर्यटक प्याराग्लाइडिङ चढ्ने गरेको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष भण्डारी बताउँछन् । उनका अनुसार २५० देखि ४५० सम्म पर्यटक दैनिक प्याराग्लाइडिङ उडान भर्ने गरेका छन् । यस क्षेत्रमा ६० व्यवसायी कम्पनीले प्याराग्लाइडिङ सञ्चालन गरेका छन् । 

संस्थामा ३५२ जना नेपाली प्याराग्लाइडिङ पाइलट कार्यरत छन् । अध्यक्ष भण्डारीका अनुसार यस क्षेत्रमा एक अर्बभन्दा धेरै लगानी रहेको छ भने एक हजारभन्दा धेरैले प्रत्यक्ष रोजगारी पाएका छन् ।