१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o९:२३:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

किन मित्र बन्न सक्दैनन् महिला र पुरुष ?

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:२३:oo

पुरुष हुनुको ‘उच्च भाव’ र महिला हुनुको ‘हीन भाव’ मेटाउनै पनि महिला र पुरुषको असल मित्रता र सहकार्य अपरिहार्य छ 


संसारको सृष्टि प्रकृतिमा भाले र पोथी जीवास्मबाट चल्दै आएको सबैले बुझेकै छन् । भाले र पोथीमा केही जैविक भिन्नता त हुन्छन् नै । त्यस्ता विभिन्न भिन्नतामध्ये शारीरिक नै प्रमुख हुन्छन् । तिनै शारीरिक संरचनाकै कारण भएका प्राकृतिक परिवर्तनलाई स्विकार्नकै लागि समाज बनिसकेपछि समाजले नै महिला र पुरुषका अलग–अलग भूमिका छुट्याइदिएको छ । 

महिला र पुरुषलाई विपरीत लिंगी पनि भनिन्छ । यिनै विपरीत लिंगी मानवकै कारण संसारमा मानव अस्तित्वले निरन्तरता पाउँदै आएको छ । भाले र पोथीकै अस्तित्वका कारण नै जीवित संसार चलिरहेको छ । यसो भनिरहँदा मानव मात्रमा पाइने सचेतता र विवेकका कारण नै यो संसार अहिले झलमल्ल छ । अनेक आविष्कार भएका छन् । यो भनेको पुरुष र महिला मानवका दिमागी सिर्र्जना हुन् । मानिस–मानिसबीच अनेकौँ सम्बन्ध गाँसिएका हुन्छन्, आमाबाबु, दाजुभाइ, दिदीबहिनी, छोराछोरी, श्रीमान्–श्रीमती आदि ।

आफ्नो परिवारबाहिरका मान्छे–मान्छेबीच पनि अनेकौँ सम्बन्ध गाँसिएका हुन्छन् । यस लेखमा महिला र पुरुष साथीको सम्बन्धबारे चर्चा गर्न खोजिएको छ । हामी महिला र पुरुषको मित्रता भन्नेबित्तिकै त्यसलाई प्रेम सम्बन्ध या कुनै यौनिक सम्बन्धबारे सोच्ने गर्छौं । महिला र पुरुष असल मित्र हुनै सक्दैनन् भन्ने सोचले हाम्रो मस्तिष्कमा जरा गाडेर बसेको छ । श्रीमान् र श्रीमती एक–अर्काका असल मित्र हुन सक्दैनन् भन्ने धारणा पनि हाम्रो समाजमा बसेको छ । 

सामाजिक सञ्जालमा हालसालै एउटा भिडियोमा आँखा पर्‍यो । भिडियोमा केही विद्यार्थी कक्षाकोठामा पढिरहेका थिए । कक्षामा केटीभन्दा केटाहरू नै बढी थिए । महिनावारी भएका कारण एउटी केटीलाई तल्लो पेट दुखिरहेको थियो । उनले प्याड पनि लगाएकी थिइनन् र उनको झोलामा पनि प्याड थिएन । ती युवतीलाई सारै अप्ठ्यारो भइरहेको थियो । उनका एकजना केटा साथीले उनको समस्या बुझेर कक्षा सकिनेबित्तिकै दौडिँदै गएर प्याड किनेर ल्याइदिए । आफ्नो ज्याकेट फुकालेर ती युवतीको कपडामा लागेको रगत छेक्न मद्दत गरेर उनलाई बसेको स्थानबाट उठ्न सहयोग गरे । यो भिडियो हेर्दा यसरी बुझ्ने केटा साथी भएमा केटीहरूले कतिपय समस्यामा पीडित भएर बस्नुपर्दैन । महिलामा मात्र हुने यो महिनावारीको प्राकृतिक प्रक्रियालाई पुरुषले बुझ्न सके मात्र पनि महिलाका कतिपय समस्या निराकरण हुन सक्छन् । 

के केटा साथीहरू केटी साथीका लागि यति सहज छन् त ? अनि केटाकेटी साथी हुनु भनेको यौनिक चाहना मात्र हो त ? यी र यस्ता विचार कतिको मनमा आउँछ कुन्नि ! मलाई भने यसबारे सोच्न मन लाग्यो । तर, समयअनुसार केही न केही परिवर्तनचाहिँ भएकै छ है ! जुन कुरा मैले उल्लेख गरेको छोटो भिडियोमा दर्साउन खोजिएको छ । जमाना भर्चुअल संसारको छ । हामी इन्टरनेटलगायत कैयौँ सञ्जालका एप्समार्फत संसारका विभिन्न भौतिक रूपमा नचिनेका मानिससँग पनि साथी बन्ने, कुराकानी गर्ने गरिरहेका हुन्छौँ । फेसबुकको आविष्कारपछि त सामाजिक सञ्जालमा साथी बन्ने अलग्गै प्रक्रिया अघि बढ्यो ।

यो १२–१३ वर्षको अन्तरालमा कैयौँले सामाजिक सञ्जाल फेसबुकमार्फत कैयौँ अपरिचित मानिसलाई साथी बनाएका छन् र भौतिक रूपमा परिचित नहुँदानहुँदै पनि आफ्ना विचार बाँडिरहेका छन् । सामाजिक सञ्जालले मानिस–मानिसबीच अन्तरक्रिया सजिलो बनाइदिएको छ । फेसबुकबाटै साथी बन्नेमध्ये कतिपय महिला र पुरुषहरू विवाहित छन् । कोही अविवाहित, युवा या ज्येष्ठ नागरिक पनि छन् । यस्तोमा कतिपय साथी बनेकाको नियत सफा देखिँदैन । यिनै सामाजिक सञ्जालका कारण घरबार भताभुंग हुनेदेखि घरबार जोडिनेसम्मका घटना समाजमा देखिइरहेका छन् । नकारात्मक घटना घटाउने सञ्जालका नकारात्मक कुरा छोड्दै सकारात्मक कुराहरू पछ्याउँदै जाने हो भने यही सञ्जालमार्फत हामीले विद्वान् साथी, प्रिय भावना भएका साथी, सहयोगी साथी, लेखक साथी, कलाकार साथी, कवि साथी, मजदुर साथी, महिला साथी अनि पुरुष साथी सबै प्रकारका साथी भेट्न सक्छौँ र आफ्ना विचार मेल खाएमा अन्तरक्रिया पनि गर्न सक्छौँ । 

कतिपय पुरुष साथीले महिला साथीलाई सामाजिक सञ्जालमा अलि सक्रिय र महिला अधिकार, समानता र न्यायका पक्षमा लेख्ने गरेको देखेमा ‘फलानी त डलरे रहिछे, खुब फेमिनिस्ट रहिछे’ भन्ने गरेको पनि देखिन्छ, सुनिन्छ । कोही मेसेन्जरमा अनेक प्रश्न गर्ने, जवाफ नदिँदा गाली–गलोजमा उत्रिने र कोहीचाहिँ कुरा नगर्ने भए किन साथी बनिरहनुपर्‍यो भनेर अनफ्रेन्ड गर्ने या ब्लक गर्ने पनि हुँदा रहेछन् । कोहीचाहिँ साथी बन्नेबित्तिकै फोन गरिहाल्छन् । कोही अनेक खालका भिडियो महिला साथीको मेसेन्जरमा पठाइदिने पनि गर्छन् । यस्ता क्रियाकलापमा प्रायः पुरुषहरू नै अगाडि देखिन्छन् । यो पुरुष हुनुको घमण्ड हो, या बढी आत्मविश्वास ? जे होस्, कहिलेकाहीँ तालमेल नमिलेका असरल्ल विचारको बाढी नै आउँछ सामाजिक सञ्जालमा । तर, फेसबुक भुइँ तहदेखिकै मानिसले पनि प्रयोग गर्ने सहज सञ्चारको साथी भएको छ अहिले । अनि फेसबुकमा जोडिएकालाई हामी चिनेजाने पनि साथी नचिने पनि साथी नै भन्छौँ । संसार नै साथीमय हुनु नराम्रो पनि त भएन नि ! 

महिला र पुरुष असल मित्र बन्न सक्ने स्वस्थ र स्वच्छ वातावरण हाम्रो समाजमा भइदिएको भए सायद कुनै पुरुषले आफ्नै महिला मित्र या अरू कसैमाथि बलात्कार, कुटपिट या कुनै दुव्र्यवहार गर्ने थिएन होला

कपितय पुरुष साथीले समाजका सबै खाले समस्या, विशेषतः महिला हिंसा, बलात्कार, हत्याजस्ता सामाजिक अपराधलाई मनन गर्दै सञ्जालमार्फत नै दिनरात आवाज उठाउने र यसमा महिला, पुरुष सबैलाई झकझक्याउने गरिरहेका पनि छन् । यस्ता नागरिक अगुवा, पत्रकार या लेखक साथीहरू जो पुरुष जातिका छन्, म पनि उनीहरूका साथी बनेकी छु । साँच्चै उनीहरूसँग कुरा गर्दा या उनीहरूका आवाज, लेखहरू हेर्दा आत्मीय र महिला साथीसँग जस्तै निकटता महसुस हुन्छ । म हुर्किंदै गर्दाको समाजको परिवेश, सोच र कथित संस्कारभन्दा अहिले कताकता किशोर–किशोरी, युवा–युवतीको समाजलाई हेर्ने दृष्टिकोण बदलिएको छ । तर, यसो भन्दैमा समाज निकै प्रगतिशील भइसक्यो भन्न खोजेकीचाहिँ होइन ।

म जागिरको सिलसिलामा बाहिरफेर हिँड्नु नपरेको भए, पुरुष सहकर्मीसँगै बसेर काम गर्नु नपरेको भए ममा पनि पुरुषप्रति उस्तै संकीर्ण सोच या भाव आउन सक्थ्यो । यस्तै असर पुरुषमा पनि पथ्र्यो होला, तर संरचनात्मक हिसाबले महिलालाई भन्दा कम । अझै पनि महिला र पुरुषले निर्धक्क साथी मात्रै भएर आफ्ना विचार बाँड्न सक्ने अवस्था छैन । यही सञ्जालमै अनेक आक्षेप र त्यस्तै परे अनेक व्यंग्यसहितका ‘इडिट’ गरेका टाउको जोडिएका फोटाहरू पनि छापिन बेर लाग्दैनन् । हाम्रा विचारसँगै आफ्ना विचार पनि राख्ने, सहमत या असहमत हुने, छलफल गर्ने, सल्लाह दिने, एउटा असल मानिसले जस्तै व्यवहार गर्ने पुरुष हुन् या महिला, ती हाम्रा साथी हुन् । र, अर्काको भावनाको कदर नगर्ने, नकारात्मक टिप्पणी गरेर खेद्ने, व्यंग्य गर्ने, हेप्ने र सार्वजनिक रूपमै व्यक्तिगत आक्षेपमा उत्रिनेहरू कहिल्यै मित्र हुन सक्दैनन् । महिला–पुरुष साथीकै सवालमा यदि पुरुषले महिलालाई केवल मन बहलाउने, फ्लर्ट गरिहेरौँ न भन्ने, यिनीहरूको के बौद्धिकता होला र भनेर मापन गरी व्यवहार गर्छन् भने त समाज कहिले अघि बढ्ला र ? तर, साथी बनेरै महिला–पुरुषसहितको विचार, बहस र छलफलले भने समाजमा अवश्यै केही नयाँपन ल्याउन सक्छ । महिला हुनु र पुरुष हुनुको एकअर्काको अवधारणा नबुझेरै पनि समाजमा कतिपय समस्या उत्पन्न भएका छन् । 

आजभन्दा झन्डै ६४ वर्षजति पहिले नै साहित्यकार तथा लेखक श्यामप्रसाद शर्माले ‘आइमाई साथी’ शीर्षकमा एक निबन्ध लेखेका छन् । उनले यस निबन्धमा आफू लोग्ने मान्छे भएकाले धेरै लोग्ने मानिस नै साथी भएका तर सामाजिक, सांस्कृतिक रूपले महिला पछाडि परिरहेको अनुभूति गरिरहेकाले महिला साथी बनाउनुपर्ने बोध भएको उल्लेख गरेका छन् । उनी यस निबन्धमा आफैँलाई उदाहरण दिँदै साहित्य र राजनीति तथा सामाजिक क्षेत्रमा लाग्नेहरूको त पुरुषजत्तिकै महिला साथी पनि हुनुपर्ने कुरा औँल्याउँछन् । व्यवहारमा आफूले आफ्नो तर्फबाट महिला साथी बनाउन भरिसक्य प्रयास गरेको पनि उनी बताउँछन् । उनको तर्क थियो कि नारीलाई घरको मूल ढोेका नठान्ने पछौटे समाजका सचेत युवाहरूले त झन् महिलालाई सामाजिक कार्य, साहित्य, राजनीतिमा लाग्न हौस्याउनुपर्छ र एकअर्काका साथी बनेर अगाडि बढे मात्र समस्त मानवको विकासमा सहयोग पुग्न सक्छ ।

त्यतिवेलाको समाजमा त्यति दूरदृष्टि र समभाव राख्दै केही महिला साथी बनाउन सफल उनलाई समाजले प्रशस्त कुरा नकाटेका पनि होइनन् । कोही महिला स्वयंले उनको साथी बन्ने आग्रहलाई रिसाएर र झर्किएर प्रतिवाद पनि नगरेका होइनन् । यसो हुनुमा हाम्रा सामाजिक, सांस्कृतिक मूल्य, मान्यता र सोचहरू नै जिम्मेवार थिए र अझै पनि छन् । शर्माको निबन्धको मूल आशय भनेको स्वस्थ समाज र संस्कृतिको विकास र सिर्जनाका लागि महिला र पुरुष दुवैको उत्तिकै भूमिका रहन्छ र केवल पुरुष मात्रै अगाडि बढ्दा समाजको एक अभिन्न तप्का त छुटि नै हाल्छ । महिला–पुरुष मिलेर एक–अर्कामा सहयोग, छलफल गरी अघि बढ्दा समस्याको निक्र्योल गरी अगाडि बढ्न सहज हुन्छ भन्ने थियो । 

वर्तमान समयसम्म पनि महिला र पुरुष असल मित्र बन्न निकै कठिन छ । महिला र पुरुष असल मित्र बन्न सक्ने स्वस्थ र स्वच्छ वातावरण हाम्रो समाजमा भइदिएको भए सायद कुनै पुरुषले आफ्नै महिला मित्र या अरू कसैमाथि बलात्कार, कुटपिट या कुनै दुव्र्यवहार गर्ने थिएन होला । यदि महिला र पुरुषको एक–अर्कालाई हेर्ने सन्तुलित दृष्टिकोण बन्न सकेको भए उनीहरूबीच यति असमान सम्बन्ध हुने पनि थिएन होला । त्यसैले पुरुष हुनुको ‘उच्च भाव’ र महिला हुनुको ‘हीन भाव’ मेटाउन पनि महिला र पुरुषको असल मित्रता र सहकार्य अनि समसहभागिता अपरिहार्य भइसकेको छ ।

ad
ad