मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १४:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमतीमा आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेसको अडान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३२:oo

बागमती प्रदेशमा गठबन्धनको सरकार आफ्नो नेतृत्वमा गठन हुनुपर्ने कांग्रेसले अडान लिएको छ। आफ्नो नेतृत्वमा सरकार गठनका लागि कांग्रेसले प्रदेश संसदीय दलको बैठकमार्फत अडान लिएको हो।

आइतबार बिहान ११ बजे बसेको संसदीय बैठकले बागमतीमा कांग्रेस नेतृत्वको सरकार बनाउन पार्टी केन्द्रीय तहमा छलफल गरेर विपक्षी गठबन्धनमा रहेका दलहरूसँग सहकार्यका लागि प्रयास गर्ने निर्णय गरेको छ। 

सचेतक छिरिङदोर्जे लामाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन पार्टीको केन्द्रीय तह र विपक्षी गठबन्धनमा रहेको माओवादी केन्द्र तथा एकीकृत समाजवादीसँग समन्वय र छलफल गर्ने जिम्मेवारी कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई दिइएको जानकारी दिए। बानियाँ देउवासँग निकट भए पनि गठबन्धनको बाँडफाँडका कारण नेकपा (एस) संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्री पाउने संकेत बढ्दै गएपछि कांग्रेसले आफ्नो नेतृत्वको सरकार हुनुपर्ने अडान कसेको हो । 

बानियाँले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेदेखि नै आफू मुख्यमन्त्री बन्न प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह गरिरहेका छन्। ‘मुख्यमन्त्री हामीले पाउनुपर्ने अडान सुरुआतदेखिकै हो। हामी पुनः पार्टी सभापतिलाई आग्रह गर्छौँ,’ सचेतक लामाले भने, ‘हामी प्रदेश सरकार स्थापना भएदेखि नै प्रतिपक्षमा रहेका छौँ । यसैले पनि सरकारको नेतृत्व हामीले गर्न पाउनुपर्छ भन्ने हो।’ माओवादीले मुख्यमन्त्री दाबी नगरेको अवस्था भएकोले पनि कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने उनको भनाइ छ।

प्रदेश सभाको नवौँ अधिवेशन आज आइतबार दिउँसो ३ बजेबाट सुरु हुँदै छ। अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी गरिरहेको अवस्थामा नयाँ सरकार गठनको तयारीमा रहेका विपक्षी गठबन्धनमा केही सातादेखि नै विवाद देखिएको छ।

बागमतीमा नेकपा माओवादी केन्द्रका २३, कांग्रेसका २२ र नेकपा (एस)का १३ सांसद छन्। सरकार बनाउन ५५ सांसदको समर्थन चाहिनेछ। गठबन्धनमा ५८ सांसदको समर्थन जुट्ने निश्चित छ।