मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३१ मंगलबार
  • Tuesday, 15 July, 2025
टेकराज थामी काठमाडाैं
२o८२ असार ३१ मंगलबार o६:o९:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नि:सन्तान दम्पतीलाई सन्तानोत्पादन गराइदिने प्रलोभनमा किशोरीको डिम्ब बेचबिखन

‘होप फर्टिलिटी’का पाँच व्यवस्थापक पक्राउ

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ३१ मंगलबार o६:o९:oo

बबरमहलस्थित ‘होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि’ले नि:सन्तान दम्पतीलाई बच्चा जन्माउन सहयोग गर्ने नाममा किशोरीहरूको शरीरलाई प्रयोगशाला बनाएको पाइएको छ । किशोरीको भविष्य, स्वास्थ्य र आत्मसम्मानमाथि व्यापार गर्ने कम्पनीका पाँच व्यवस्थापक पक्राउ परेका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा नि:सन्तान दम्पतीलाई सन्तानोत्पादन गराइदिने प्रलोभनमा प्रालिले गैरकानुनी ढंगले डिम्बको कारोबार गर्ने गरेको खुलेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रारम्भिक छानबिनमा १८ वर्षमुनिका किशोरीलाई विभिन्न प्रलोभन देखाई डिम्ब निष्कासन गराउने र त्यसपछि सामान्य रकम दिएर बिदा गर्ने गरेको देखिएको छ ।

उजुरी परेपछि प्रहरीले गोप्य ढंगले अनुसन्धान थालेको थियो । त्यसपछि पाँच व्यवस्थापक पक्राउ परेका हुन् । थप अनुसन्धानका लागि उनीहरूविरुद्ध म्याद पनि थप भएको छ । तर, उनीहरूको नाम सार्वजनिक गरिएको छैन ।

सिआइबीका प्रवक्ता एसपी युवराज खड्काले घटना सम्बन्धमा अनुसन्धान भएको बताए । ‘डिम्बाको अवैध कारोबार भएको सन्दर्भमा सिआइबीले अपरेसन चलाएको हो । यस सम्बन्धमा सिआइबी सम्भवत: आजै(मंगलबार) नै पत्रकार सम्मेलन गर्ने तयारीमा छ,’ उनले भने । 

प्रहरीका अनुसार होपले पछिल्लोपटक १८ वर्षभन्दा कम उमेरका दुई किशोरीलाई विभिन्न प्रलोभन दिएर बबरमहलस्थित क्लिनिकमा बोलाएको थियो । किशोरीलाई प्रभावमा पारी डिम्बा निष्कासन गरिएको थियो । त्यसबापत किशोरीलाई १० हजार रुपैयाँ दिएर बिदा गरेको थियो । र, किशोरी ल्याई दिने बिचौलियालाई भने २० हजार रुपैयाँ उपलब्ध गराएको थियो । प्रहरी स्रोतले पछिल्लो चरणमा माइनर एजका दुई किशोरीको त्यसैगरी डिम्बा निकालिएको र उनीहरूलाई १०–१० हजार रुपैयाँका दरले रकम दिइएको खुलेको बतायो । 

प्रलोभनमा फसेका किशोरीले घटनाबारे अभिभावकलाई बताएपछि तथ्य सार्वजनिक भएको थियो । त्यसलगत्तै, अभिभावक उजुरी दिन मानव बेचबिखन तथा अनुसन्धान ब्युरो पुगेका थिए । घटना गम्भीर प्रकृतिको देखिएपछि ब्युरोले अनुसन्धानका लागि सिआइबीसँग परामर्श लिएको थियो । त्यसलगत्तै घटनाको अनुसन्धानमा सिआइबी संलग्न भएको थियो । 

ब्युरो स्रोतले भन्यो, ‘सुरुमा घटना मानव अंग तस्करीजस्तो देखियो । त्यसो हुँदा उजुरी हामीले लियौँ । बुझ्दै जाँदा घटना गम्भीर र फरक प्रकृतिको देखियो । त्यसपछि सिआइबीसँग परामर्श भयो । अहिले सिआइबी र ब्युरोको संयुक्त टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । यसको निष्कर्ष केही दिनमै आउनेछ ।’ ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीले मानव बेचबिखन आकर्षित नहुने भएको हुँदा घटनाको अनुसन्धान सिआइबीले गरेको बताए । 

प्रहरीले गत २६ असारदेखि घटनाको अनुसन्धान गरेको थियो । त्यसलगत्तै प्रहरीले होपका दुईजनालाई आइतबार र थप तीनजनालाई सोमबार पक्राउ गरेको हो । उनीहरूविरुद्ध थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले घटनामा संलग्नविरुद्ध म्याद थप गर्न सोमबार अदालतसमक्ष माग गरेको थियो । सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि काफ्लेले डिम्बाको अवैध कारोबार गर्ने पाँचजनाविरुद्ध थप अनुसन्धानका लागि म्याद थप गर्न अदालतसमक्ष अनुरोध गरेको बताए । 

स्वास्थ्य अनुसन्धान तथा यौन रोग विशेषज्ञ डा. खेमबहादुर कार्कीले शुक्रकीट बैंक गर्ने कानुनी प्रावधान रहे पनि डिम्बा दान गर्ने भने कुनै कानुनी प्रावधान नरहेको बताए । 

उनले भने, ‘कुनै स्वस्थ मान्छेको शुक्रकीटलाई लगेर बैंक गर्ने कानुनी प्रावधान छ । तर, महिलाको डिम्बा दान गर्ने कानुनी प्रावधान भने नेपालमा हालसम्म छैन । बेबी सेरोगेट गर्नेसम्मका गतिविधि भएका हुन् । तर, पछिल्लोपटक यसलाई प्रतिबन्ध गरिएको छ ।’ 

प्रहरीको अपरेसनपछि होपको कार्यालय बन्द छ । वेबसाइटमा पनि विवरण डिएक्भिट बनाइएको छ । वेबसाइटमा होपमा कार्यरत डा. स्वस्तिका शर्मा, डा. मलिनी चौधरी, प्रत्युशा बराल र डा. अशिम अधिकारीको नामावली भने राखिएको छ । तर, उनीहरूको फोटो वेबसाइटबाट हटाइएको छ ।