
सरकारको कार्यशैलीमा सुधार गर्ने कांग्रेस र एमालेको प्रतिबद्धतापछि जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय पुनर्विचार गर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीको पहलमा सोमबार बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकमा कांग्रेस र एमालेका नेताहरूले सरकारको कामप्रति गम्भीर समीक्षा गरी सुधार गर्ने प्रतिबद्धता जनाएपछि जसपा तत्कालका लागि समर्थन फिर्ता नलिने निष्कर्षमा पुगेको हो ।
दुई दलले प्रतिबद्धताअनुसार सरकारको कार्यशैली सुधारका लागि ल्याउने ठोस प्रस्तावपछि मात्र समर्थन फिर्ताको निर्णयमाथि पुनर्विचार गर्ने जसपा अध्यक्ष उपेन्द्र यादवको सर्त छ । ‘उहाँहरूले निर्मम समीक्षा गरेर त्रुटिहरू सच्याउने र सरकारले कार्यशैली सुधारेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । हामीले केही दिनमै त्यसका लागि ठोस प्रस्ताव आओस्, त्यसपछि बसेर छलफल गरेर समर्थन फिर्ताबारे पुनर्विचार गर्छौँ भनेका छौँ,’ बैठकपछि जसपा नेता राजकिशोर यादवले नयाँ पत्रिकासँग भने ।
बैठक सुरु भएपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले दुई ठुला दल सम्मिलित अहिलेको गठबन्धन २०८४ सम्मकै लागि बनेकाले समर्थन फिर्ता लिएर सहकार्य नतोड्न अध्यक्ष उपेन्द्र यादवको ध्यानाकर्षण गराएका थिए । ‘हामी लामो समयदेखि सहकार्यमा छौँ, अहिलेको गठबन्धन ०८४ सम्मकै लागि बनेको हो, तपाईंहरूले किन बिचैमा समर्थन फिर्ता लिन खोज्नुभएको ? पूर्ण कार्यकाल सहकार्य गर्दै अगाडि बढौँ,’ बैठकमा प्रधानमन्त्री ओलीको आग्रह थियो ।
जवाफमा जसपा अध्यक्ष यादवले दुई ठुला दलको सातबुँदे सहमतिअनुसार संविधान संशोधनदेखि विधेयक निर्माणको काम अगाडि बढ्न नसकेको र दुई दल मिलेर छलफल र निर्णयहरूमा बाइपास गर्ने गरेकाले सरकारमा बस्नुको अर्थ नरहेको गुनासो राखेका थिए । जवाफमा कांग्रेस र एमालेले मंगलबारबाटै प्रभावकारी ढंगले सरकार सञ्चालन गर्ने बताएका थिए । बैठकमा एमालेबाट प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल, कांग्रेसबाट सभापति देउवासहित गृहमन्त्री रमेश लेखक तथा जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेता राजकिशोर यादव सहभागी थिए ।