
पाँच महिनाअघि मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मनबाटै युक्रेनमा शान्ति चाहेको दाबी गरेका थिए । तीन वर्षअघि युक्रेनमाथि आक्रमण गरेर अहिलेको द्वन्द्व सुरु गरेका पुटिनप्रति सकारात्मक हुँदै ट्रम्पले भनेका थिए, ‘मलाई विश्वास छ कि उनी शान्ति चाहन्छन् । म उनलाई धेरै राम्ररी चिन्छु । त्यही आधारमा मलाई लाग्छ कि उनी शान्ति चाहन्छन् । शान्ति नचाहेको भए उनले मलाई त्यसबारे बताउने थिए । म यस विषयमा उनलाई विश्वास गर्छु ।’ तर, पाँच महिना पुटिनलाई लिएर ट्रम्पको बोली फेरिएको छ ।
पुटिनसँगको आफ्नो पछिल्लो फोनवार्तापछि असन्तुष्टि व्यक्त गर्ने क्रममा ट्रम्पले आफूले वर्षौंदेखि आलोचना नगरेको व्यक्ति (पुटिन) भरपर्दो नरहेको पाएको प्रतिक्रिया दिए । ‘सत्य भन्ने हो भने पुटिनले हामीलाई बकवास कुरामा झुलाइरहे । यसमा उनी एकदम कुशल रहेछन् । तर, हाम्रा लागि त यो अर्थहीन रह्यो,’ ट्रम्पले भने । ट्रम्पको पछिल्लो अभिव्यक्तिले उनको युक्रेनप्रतिको अडान परिवर्तन हुँदै गएको देखाउँछ । यही परिवर्तन इंगित गर्दै ट्रम्पले युक्रेनमाथि रक्षात्मक हतियार ढुवानीको स्थगन उल्ट्याएका छन् (यस यु–टर्नका क्रममा ट्रम्पले हतियार रोक्ने काममा उनी नभएर सरकारभित्रका अरू नै जिम्मेवार रहेको संकेत गरे ।)
कम्तीमा अहिलेका लागि ट्रम्पले युक्रेन–रुस युद्धका लागि दुवै पक्षलाई दोष दिन छाडेका छन् । नभए यसअघि लगभग हरेकपटक युद्धबारे चर्चा गर्दा उनले रुससँगै युक्रेनको पनि आलोचना गर्ने गर्थे । विगतको अभ्यासबाट टाढिँदै गत मंगलबार उनले युक्रेनी सेनाको ‘साहस’को प्रशंसा गरे । यस प्रशंसाले अमेरिकाले युक्रेनको रक्षाका लागि गरेको ठुलो लगानी ‘मागा (मेक अमेरिका ग्रेट अगेन)’ पक्षधरले विश्वास गरेजस्तो फजुल खर्च नभएको पनि संकेत गरे । ‘हामीले युक्रेनीलाई त्यति धेरै पैसा दियौँ भन्ने तपाईंलाई लागेको होला । तर, हामीले दिएको सामग्री चलाउन पनि धेरै साहस चाहिन्छ,’ ट्रम्पले भने, ‘मैले चिनेका धेरै मानिसले त्यस्तो सञ्चालन गर्दैनथे ।’
ट्रम्पले विगत १० वर्षमा बारम्बार आफूलाई विश्व मञ्चमा अनुमान गर्न नसकिने नेताको रूपमा प्रस्तुत गर्न पाउँदा खुसी रहने गरेको देखाउँदै आएका छन् । यसलाई केहीले ‘म्याडम्यान थिअरी’ भन्ने गरेका छन् । तथापि, पुटिनप्रतिको पछिल्लो कठोर शब्दका बाबजुद ट्रम्पले रुसी नेताको जन्मदिनको अवसरमा गरेको फोनकलदेखि अन्य फोनकलमा युद्धविराम गर्न वा युक्रेनमाथिको आक्रमणको गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएको देखिँदैन । यस परिपे्रक्षमा, पुटिनप्रतिको ट्रम्पको पछिल्लो सार्वजनिक टिप्पणी उनको प्रशासनले नै लिएको नीतिगत परिवर्तनभन्दा पुटिनमाथि दबाब दिने प्रयास हुन सक्छ ।
यहाँ उल्लेखनीय कुरा के छ भने अमेरिकी राष्ट्रपतिले रुसविरुद्ध नयाँ प्रतिबन्धको प्याकेजमा प्रतिबद्धता जनाउन भने अस्वीकार गरेका छन् । जबकि, देशका दुवै प्रमुख दलका दुईतिहाइभन्दा बढी सिनेटरको थप प्रतिबन्धप्रति समर्थन देखाएका छन् । पुटिनसँग साँच्चै चिढिएको अवस्थामा ट्रम्पले आगामी दिनमा प्रतिबन्धका विकल्प पनि प्रयोग गर्न सक्छन् । तथापि, उनी अहिले नै सो विकल्प प्रयोग गर्ने इच्छुक देखिँदैनन् । तथापि, यसमा पनि परिवर्तन आउन सक्छ । हुन पनि यसअघि ट्रम्प पुटिनको आलोचना गर्नसमेत अनिच्छुक थिए । यसअघि उनले पुटिनको आलोचना सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेका वेला गरेका थिए । त्यति वेला ट्रम्पले रुसको आक्रमणबारे छोटो टिप्पणी गर्दै आक्रमण ‘भयानक’ रहेको प्रतिक्रिया दिएका थिए ।
तर, राष्ट्रपतिका लागि चुनावी अभियान सुरु भएसँगै ट्रम्पले आफ्नो भनाइ फेरे । उनले युक्रेनमाथि आक्रमण गर्ने पुटिनको रणनीतिलाई ‘प्रतिभाशाली’ र ‘चतुर’ भनेर प्रशंसा गरे । त्यति वेला ट्रम्पको यस अभिव्यक्तिको तीव्र आलोचना भएको थियो । हुन पनि लगभग सम्पूर्ण पश्चिमी विश्वले रुसी आक्रमणको निन्दा गरिरहेका वेला ट्रम्पबाट आएका टिप्पणी स्तब्ध पार्ने खालको थियो ।
अहिले पनि कैयौँको ध्यान ट्रम्पको पुटिनप्रतिको कठोरता क्षणिक हुने त होइन भन्नेमा हुनेछ । तर, त्यस्तो नहुन सक्ने संकेतहरू पनि देखिन्छन् । राष्ट्रपति ट्रम्पले युक्रेनका लागि उनले लिएका लक्ष्य पुटिनको लक्ष्यसँग असंगत छन् भन्ने महसुस गर्दै गएकोजस्तो पनि देखिन्छ । ट्रम्पले कार्यकाल सम्हालेको पहिलो दिन नै शान्ति सम्झौताको वाचा गरेका थिए, जुन वाचामा उनी नराम्ररी असफल भए । तथापि, ट्रम्पले आफूले वाचा गरेको शान्ति सम्झौता वास्तवमा कस्तो हुनेछ भन्नेबारे धेरै वास्ता गरेको देखिएन । यसका लागि युक्रेनले धेरै कुरा छाड्नुपर्ने उनले बताउँदै आएका छन् । तर, पुटिनले भने सम्पूर्ण युक्रेन हासिल नभई सम्झौतामा साँच्चै इच्छुक रहेको संकेत दिएका छैनन् । ट्रम्पको पछिल्लो टिप्पणीले उनी पुटिनप्रति कठोर मात्र नभई निराशसमेत बनेको देखाउँछ । यसअघि अप्रिलमा पनि ट्रम्पले आफूलाई ‘पुटिनले प्रयोग गरिरहेको हुन सक्ने’ संकेत गरेका थिए । तर, ट्रम्पलाई त्यो वेला पनि आफ्नो वार्ता–क्षमतामा विश्वास थियो होला । अहिले आएर उनलाई लामो समयसम्म पुटिनले आफूलाई मूर्ख बनाएको महसुस भएको हुन सक्छ ।
विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसलाई ट्रम्पले पुटिनबारे फेब्रुअरीमा भनेको एक टिप्पणी सम्झाउँदै हालको परिवर्तनबारे सोधिएको थियो । ट्रम्पका पुराना कुरामा अल्झिन नहुने र उनले नयाँ वास्तविकताका आधारमा पछिल्लो टिप्पणी गरेको ब्रुसको जवाफ थियो । ‘उनी खुला विचारधारा भएका मानिस हुन् । तथापि, उनलाई कसैले झुक्याउन सक्दैन,’ ब्रुसले भनिन्, ‘उनी सिद्धान्तनिष्ठ र आफूले हासिल गर्न चाहेको कुरामा स्पष्ट छन् ।’ हुन सक्छ ट्रम्पलाई पछिल्लो घटनाक्रमले विचार बदल्न प्रेरित गरेको होस् । किनकि, पुटिनसँगको ट्रम्पको फोनवार्ताको केही समयपछि नै रुसले युक्रेनमाथि हालसम्मकै सबैभन्दा ठुलो ड्रोन आक्रमण गरेको थियो ।
र, यो सबैमा घरेलु राजनीतिको भूमिका तथा अभिमानको भूमिकालाई कसैले पनि कम आकलन गर्नु हुँदैन । ट्रम्पले पुटिनलाई कुनै अन्य पश्चिमी नेतालाई नदिने गरेको शंकाको फाइदा दिँदै आएका छन् । यो कुरा उनको फेब्रुअरीको टिप्पणीले प्रमाणित गर्छ । खासमा उनले अन्य देशका शक्तिशाली नेताका बारेमा समेत नैतिक निर्णय गर्न अस्वीकार गर्ने गरेका छन् । खासमा उनी शक्तिशाली नेताका रणनीति र शक्तिका प्रशंसक रहने गरेको आरोप लाग्ने गर्छ । तर, युक्रेनको युद्धमा एउटा पक्षको छनोट गर्नु नैतिकताको कुरा मात्र नभएर भूराजनीतिक निर्णय पनि हो । ट्रम्पका लागि धेरै महत्वपूर्ण रहने भूराजनीतिक विषय परिवर्तन हुँदै छ ।
– सिएनएनबाट (ब्लेक सिएनएनका वरिष्ठ संवाददाता हुन् ।)