१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २० बुधबार
  • Monday, 30 June, 2025
२o७८ असोज २० बुधबार o७:३७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

तुइन काटिएको दुई महिनापछि व्यासमा चामल पुग्यो

भारतीय एसएसबीले गत १५ असारमा सीमा नदी महाकालीका सबै तुइन काटिदिएपछि भारतीय बजारसँग सम्बन्ध विच्छेद भएको व्यासका लागि सरकारले हेलिकोप्टरबाट खाद्यान्न पठायो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २० बुधबार o७:३७:oo

भारतले सीमा नदीका तुइन काटेको दुई महिनापछि व्यासमा खाद्यान्न ढुवानी सुरु भएको छ । भारतीय सडक र भारतीय बजारमा निर्भर व्यास गाउँपालिकाका २, ३ र ४ मा सरकारले हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरेको हो ।  व्यासको वडा नम्बर २ का दुम्लिङ, राप्ला, माल, वडा नम्बर ३ का सिना, तुसरपानी र वडा नम्बर ४ को सुनसेरामा खाद्यान्न ढुवानी गरिएको छ ।

गत १५ साउनमा व्यास–२ मालका ३३ वर्षीय जयसिंह धामी महाकाली तर्दै गर्दा भारतीय एसएसबीले तुइन फुस्काइदिएपछि नदीमा खसेर बेपत्ता भएका थिए । सो घटनापछि एसएसबीले नेपाल–भारत वारपार गर्न महाकाली नदीमा लगाइएका सबै तुइन काटेको थियो । तुइन काटिएपछि व्यासमा खाद्यान्न संकट देखिएको थियो । नेपालतिर बाटो नहुँदा व्यासमा खाद्यान्न ढुवानी हुन सकेको थिएन ।

आइतबारदेखि सिम्रिक एयरको हेलिकोप्टरमार्फत व्यासका खाद्यान्न अभाव भोगेका बस्तीमा खाद्यान्न पुर्‍याइएको गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले बताए । सोमबार राप्लामा २० क्विन्टल, दुम्लिङ र मालमा ४० क्विन्टल खाद्यान्न ढुवानी गरिएको उनले जानकारी दिए । ‘पहिलो दिन सबैभन्दा बढी समस्या परेको व्यास–३ सिनामा एक सय क्विन्टल खाद्यान्न ढुवानी गरियो,’ अध्यक्ष बुढाथोकीले नयाँ पत्रिकासँग भने, ‘खाद्यान्न संकट भोगेको स्थानीय थोरै चामल गाउँमा पुग्दा पनि खुसी भएका छन् ।’

व्यास–३ सिनाका गजजरासिंह धामीले दुई महिनापछि गाउँमा चामल देख्न पाएको बताए । उनले भने, ‘पहिलेपहिले भारतीय बजार पुगेर दिनहुँजसो चामल ल्याउने गरेका थियौँ । एकैपटक धेरै पैसा नहुने भएकाले घरमा चामल कमै हुन्थ्यो । तर, एसएसबीले तुइन काटिदिएपछि लामो समय हामीले चामल देख्न पाएनौँ ।’ उनका अनुसार स्थानीय सुनसेरा खाद्य डिपोमा तुइन काटिनुअघि नै चामल सकिएको थियो । 

दसैँसम्म चामल नपुग्ने स्थानीयको चिन्ता
लामो समयपछि चामल पुगेकोमा खुसी भएका स्थानीयलाई दसैँसम्म चामल नपुग्ने चिन्ता छ । ‘झन्डै दुई महिनापछि चामल त आयो, तर ३० किलो चामलले दसैँसम्म पुर्‍याउन सकिँदैन । दसैँमा नै चामल नहुने चिन्ता लागेको छ,’ स्थानीय मञ्जु डडालले गुनासो गरिन् । अहिले गाउँपालिकाले एक परिवारलाई ३० किलोका दरले चामल वितरण गरेको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले व्यासका लागि ६ सय क्विन्टल खाद्यान्न ढुवानी गरेको छ । त्यसमध्ये सिनामा एक सय क्विन्टल, माल गाउँमा ४० क्विन्टल, सुनसेरामा दुई सय क्विन्टल, दुम्लिङमा ४० क्विन्टल, छाङ्गरुमा एक सय २४ क्विन्टल र तिंकरमा ७५ क्विन्टल पुर्‍याउने तयारी छ ।