मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
कमल खत्री म्याग्दी
२०७८ असोज १५ शुक्रबार १६:५९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

धौलागिरि हिमालमा नेपाली महिलाको कीर्तिमान, आरोहण सफल

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
२०७८ असोज १५ शुक्रबार १६:५९:००

म्याग्दीको धवलागिरि गाउँपालिका– ४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालमा नेपाली महिलाहरूले कीर्तिमानी आरोहण गरेका छन् । पत्रकारसमेत रहेकी पूर्णिमा श्रेष्ठ र पासाङल्यामु शेर्पाले शुक्रबार बिहान धौलागिरि हिमालको सफल आरोहण गरेका हुन् । 

श्रेष्ठ र शेर्पाको धौलागिरि आरोहणले आरोहीहरूमा नयाँ सन्देश र नेपालका लागि कीर्तिमान कायम भएको आरोहण व्यवस्थापक कम्पनी सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिए । उनका अनुसार दुई नेपाली महिलाको उक्त आरोही टोलीमा सहभागी पाँचजना विदेशी महिलाहरूले समेत धौलागिरिको सफल आरोहण गरेका छन् ।

शुक्रबार बिहान ५ बजे धौलागिरिको चुचुरोमा २१ जनाले पाइला राखेका छन् । जसमध्ये आरोही, पथप्रदर्शक र आरोहणदलका सदस्यसमेत गरी १० जना नेपाली रहेका छन् । पत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गएको वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएकाे थियाे ।

अन्नपूर्णमा समेत पहिलो नेपाली महिलाहरूको तर्फबाट श्रेष्ठ र शेर्पा सम्मिलित टोलीले सफल आरोहण गरेका थिए । धौलागिरिमा यसअघि नेपाली महिलाहरूले आरोहण गर्न सकेका थिएनन् । यसैबीच सबैभन्दा बढी उमेरमा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ शिखर आरोहण गरेर कीर्तिमान राख्ने अभियानमा रहेका स्पेनका ८२ वर्षीय पर्वतारोही कार्लोस सोरियाले भने यसपटक पनि आरोहण स्थगित गरेका छन् । 

धौलागिरिमा मौसम प्रतिकूलताको कारण कार्लोसले यसपटक समेत आरोहण स्थगित गरी काठमाडौं फर्किएको सेभेन समिटले जनाएको छ । धौलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गरेका कार्लोसले दुई दशकयता १२औँ पटक आरोहण गर्दा पनि धौलागिरिको शिखरमा पाइला राख्न सफल भएका छैनन् । गत वैशाखमा समेत कार्लोसले धौलागिरि आरोहणको प्रयास गरेका थिए । कार्लोसले आफ्नो ६० वर्षदेखि ८२ वर्ष उमेरमा नेपालका सगरमाथा, चोयु, मकालु, मनास्लु, लोत्से, कञ्चनजंगा, अन्नपूर्णसमेत ८ हजार मिटर अग्ला १२ वटा हिमालको अरोहण गरिसकेका छन् ।