१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओली। तस्बिर : संचित परियार
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ३१ बिहीबार १६:०२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेमा माधव नेपालको आवश्यकता छैन : केपी ओली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ३१ बिहीबार १६:०२:००

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीमा माधव नेपालको आवश्यकता नभएको बताएका छन्। एमाले काठमाडौंले आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले माधव नेपालको पछि लागेका कार्यकर्तालाई पार्टीमा फर्किन भने आग्रह गरे।

‘केही साथीहरू भन्नुहुन्छ माधव कमरेड आउनुस् तपाईंको आवश्यकता छ। म बुझ्दिनँ उहाँको अब केका लागि आवश्यकता छ। पार्टी फुटाउन ?’ उनले भने, ‘माधव नेपाललाई आउनुस् भन्दिनँ, उनले अलमल्याएका, झुक्काएका साथीहरूलाई फर्किनुस् भन्छु। घरमा आगो लगाएर खरानी घसेर तीर्थयात्रामा हिँडेका मान्छेलाई केही भन्दिनँ ।’

व्यक्तिगत महत्वाकांक्षा र कुण्ठाले कार्यकर्ताको जिन्दगीसँग खेलवाड गर्ने अधिकार माधव नेपालसँग नभएको उनको भनाइ छ। ‘उहाँ पार्टी प्रमुख भएर चलाउनुभयो। प्रधानमन्त्री बन्नुभयो, उहाँ अब यहाँभन्दा माथि जाने ठाउँ छैन। कार्यकर्ताको भविष्य छ। मूल पार्टीमा फर्किनुस्,’ ओलीले भने। 

आफ्नो पार्टीको सरकार ढालेर निकम्मा सरकार बनाउने काम नेपालको नेतृत्वमा भएको आरोप उनको छ। यसपटक पार्टी नेताहरूले होइन कार्यकर्ताले जोगाएको उनले बताए। ‘नेकपा एमालेलाई सिध्याउन खोजिएको थियो। कार्यकर्ता पंक्ति जुरुक्क उठ्यो र पार्टीको रक्षामा उभियो। हाम्रो भूमिका परिवर्तन भएको हो, शक्तिमा परिवर्तन भएको होइन। हाम्रो संगठनमा परिवर्तन भएको होइन। बिग्रिन–बिग्रन खोजेका दुई–चार तत्व बाहिर गएका हुन्,’ ओलीले भने।

उनले माओवादी केन्द्रलाई एउटा गुटको संज्ञा दिए। ‘अब त्यो माओवादी केन्द्र होइन, त्यो प्रचण्ड गुट हो। प्रचण्डलाई ठूलो पार्टी नपचेर सानो गुट चाहिएर बाहिरिए। एकता तोड्न नचाहेको ठूलो हिस्सा उनको पछि जान चाहेन। एकीकृत पार्टीकै रूपमा यो पार्टी रह्यो,’ ओलीको भनाइ थियो। प्रचण्डले दुई वर्षपछि म त एक्लै हुन्छु कि क्या हो भन्न थालिसकेको उनले बताए। 

आफूहरूसँग सरकार नभए पनि पार्टी जस्ताको त्यस्तै रहेको उनले बताए। पुन: एमालेले सरकार बनाउने बताउँदै ओलीले जनताको बीचमा जाँदा जनादेश के हुन्छ देखाउन जरुरी भएको बताए। ओलीले एमाले मौरीजस्तै पार्टी भएको दाबी गरे। ‘मौरीको संगतमा लागियो भने फूलबारीमा पुगिन्छ, झिँगाको पछि लागियो भने फोहोरमा पुगिन्छ। मौरीको पछि लाग्नुस् एमाले मौरी हो,’ उनले भने।