१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका न्युयोर्क
२o८१ बैशाख २२ शनिबार o६:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

१८ वर्षीया राडुकानु  युएस ओपन च्याम्पियन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, न्युयोर्क
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:२५:oo

बेलायतकी १८ वर्षीया इमा राडुकानुले युएस ओपन ग्रान्डस्लाम टेनिसमा इतिहास रचेकी छिन् । न्युयोर्कको अर्थुर रंगशालामा आइतबार बिहान महिलातर्फको फाइनलमा राडुकानुले क्यानाडाकी किशोरी लेयला फर्नान्डेजलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका छिन् ।

यसपटकको युएस ओपनमा राडुकानु क्वालिफायर खेलाडीका रूपमा छनोट भएकी हुन् । उनले उपाधि भिडन्तमा फर्नान्डेजलाई ६–४ र ६–३ को सीधा सेटमा हराएकी हुन् । सन् २००४ को विम्बल्डनमा रसियाकी मारिया सारापोभाले १७ वर्षको उमेरमा ग्रान्डस्लाम जितेकी थिइन् । महिलातर्फको ग्रान्डस्लाम इतिहासमा सारापोभापछि कम उमेरमा उपाधि चुम्ने राडुकानु दोस्रो खेलाडी बनेकी छिन् । राडुकानुले ४० वर्षपछि बेलायतलाई ग्रान्डस्लाम इतिहासमा पहिलोपटक महिला एकल उपाधि दिलाएकी हुन् । 

ऐतिहासिक उपाधि दिलाएकी राडुकानुलाई बेलायती महारानीले बधाई दिएकी छिन् । ‘तिम्रो सफलतामा म बधाई दिन चाहन्छु, यो उमेरमा सफलता प्राप्त गर्नु एक उल्लेखनीय उपलब्धि हो,’ महारानी एलिजाबेथ द्वितीयले बधाई सन्देशमा भनेकी छिन्, ‘यो तिम्रो कडा मिहिनेत र लगावकै प्रतिफल हो, आज हामी तिम्रै कारण गौरवान्वित भएका छौँ ।’ महारानीले उपविजेता फर्नान्डेजको पनि प्रशंसा गरेकी छिन् ।

‘तिमीविरुद्ध खेलिरहेकी फर्नान्डेजको उत्कृष्ट प्रदर्शनमा कुनै शंका छैन, तर अन्तिममा तिमीले बाजी मा¥यौ,’ सन्देशमा भनिएको छ, ‘यसले टेनिसको अर्को पुस्तालाई प्रेरणा दिनेछ ।’यसैगरी, बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पनि राडुकानुलाई बधाई दिएका छन् । ‘हामीले आज धैर्य र हिम्मतका साथ असाधारण खेल कौशल देख्ने अवसर पायौँ,’ उनले भने, ‘हामी सबैलाई गर्व छ ।’ राडुकानुले वर्षको अन्तिम ग्रान्डस्लाममा एक सेट पनि नगुमाई उपाधि जितेकी हुन् । 

सन् २०१४ मा अमेरिकी खेलाडी सेरेना विलियम्सपछि एक सेट पनि नगुमाई उपाधि जित्ने उनी दोस्रो खेलाडी हुन् । युएस ओपनको उपाधि जितेसँगै उनी बेलायतमा शीर्ष बरीयता तथा विश्व बरीयतामा २३औँ स्थानमा उक्लिनेछिन् । राडुकानुले सानै उमेरदेखि ग्रान्डस्लाम उपाधि जित्ने सपना देखेको बताइन् ।

उनी भन्छिन्, ‘मैले सधैँ ग्रान्डस्लाम ट्रफी चुकेको सपना मात्र देखेकी थिएँ, सपनालाई पछ्याउनुपर्छ, एक दिन अवश्य पनि पूरा हुनेछ ।’ उनले म्याच प्वाइन्ट रक्षा गरेपछिको क्षण कल्पनाभन्दा बाहिर रहेको जनाइन् । ‘मलाई अहिले पनि विश्वास लागेको छैन, म्याच प्वाइन्ट रक्षा गरेको क्षणमा मसँग केही शब्द नै थिएन,’ उनले भनिन्, ‘न्युर्योकमा लगातार दुई साता केवल सपनाको पछाडि मात्र दौडिरहे ।’ 

ad
ad