मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ २१ सोमबार
  • Monday, 14 July, 2025
इन्द्रबहादुर थापा काभ्रे
२o७८ भदौ २१ सोमबार ११:o८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बनेपामा वडा कार्यालय र इलाका प्रहरी पनि डुबानमा

Read Time : > 1 मिनेट
इन्द्रबहादुर थापा काभ्रे
नयाँ पत्रिका काभ्रे
२o७८ भदौ २१ सोमबार ११:o८:oo

गएरातिदेखि परेको अविरल वर्षाका कारण बनेपा नगरपालिका पुलबजारस्थित पुन्यमाता खोला आसपासको क्षेत्र डुबानमा परेको छ। खोलानजिकै रहेको बनेपा नगरपालिका– १० को कार्यालय भवन र इलाका प्रहरी कार्यालय बनेपाको भवन डुबेको हो।

वडा कार्यालयको भुइँतलामा बाढी पसेको छ। वडा कार्यालय परिसरमा बाढी छिरेको, तर कुनै हानिनोक्सानी भने नभएको वडा नं. १० का अध्यक्ष चन्द्रबहादुर खड्काले जानकारी दिए।

त्यस्तै, इलाका प्रहरी कार्यालय बनेपाको भवन पनि डुबानमा परेको छ । इलाका प्रहरी कार्यालय नयाँ भवन बनाएर केही समयअघि मात्र सरेको थियो। पुन्यमाता खोलामा बाढी आएर कार्यालयको परिसरसम्म बाढी पसेको छ। तर, भवनमा केही क्षति नभएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक राजन कोइरालाले जानकारी दिए। पार्किङ गरेर राखेको गाडीसमेत झिक्न नसकेको कोइरालाको भनाइ छ। खोलाआसपासका अधिकांश घरका भुइँतलासमेत डुबानमा परेका छन्।

नगरपालिकाको वडा नं. ४ नालामा दुई–तीनवटा घरहरू भत्किएको प्रहरी निरीक्षक कोइरालाले जानकारी दिए। ‘नालामा दुई–तीनवटा घर भत्किएका छन् भन्ने सूचना आएको छ। तर, त्यहाँसम्म जान सकिरहेको छैन। हामी पैदल हिँडेरै जाने प्रयास गरिरहेका छौँ,’ कोइरालाले भने, ‘मानवीय क्षति भएको भन्ने खबर अहिलेसम्म आएको छैन।’

सोही खोलाको बाढीका कारण बनेपाको धनेश्वर पुल आसपास, नालाको नन्दीमाता खोला आसपास र रातमाटा क्षेत्र डुबानमा परेको छ। डुबानका कारण बनेपा–पनौती सडक अवरुद्ध भई यातायात ठप्प रहेको छ। पुलबजारमा अवरुद्ध भएपछि सवारीसाधनहरूलाई नाला हुँदै भक्तपुरबाट पठाइएको प्रहरीले जनाएको छ।

बनेपाको पुलबजार र गोदामचोकको धनेश्वर पुल आसपास बर्सेनि डुबानमा पर्दै आएको छ । मानव बस्तीले खोला साँघुरो पार्दै आएपछि डुबान हुन थालेको हो । उक्त स्थानमा बर्सेनि डुबान पर्दै आएको भए पनि दीर्घकालीन समस्या समाधानको कुनै प्रयास भएको छैन।

बाढीका कारण अरनिको राजमार्गमा पनि यातायात सञ्चालन हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार वर्षाका कारण अरनिको राजमार्गमा केही अवरोधहरू आएको, तर केही धनजनको क्षति भएको सूचना आएको छैन।