१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
पवन बराइली काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o७:२३:oo
Read Time : > 2 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

किन टिक्दैनन् अचेलका गीत ?

Read Time : > 2 मिनेट
पवन बराइली काठमाडाैं
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o७:२३:oo

गीतलाई हिट बनाउन टिकटकमा छोटो भिडियो बनाएर लाखौँ फलोअर्स कमाएकाहरूलाई मोडलिङ गराइएका हुन्छन् । तर, अधिकांश गीत आएको र गएको पत्तो हुन्न ।

अचेल दैनिक दर्जन बढी गीत युट्युबमार्फत सार्वजनिक हुने गर्छन् । एक दिनमा कति गीत सार्वजनिक हुन्छन् भन्ने यकिन तथ्यांक नभए पनि एउटै गीतका लागि २० लाख रुपैयाँसम्म खर्च गरेको कलाकारहरू बताउँछन् । सामाजिक सञ्जालहरूमा यही मात्रामा पैसा खर्चेर गीतको ‘बुस्ट’ पनि गर्छन् । गीतको ‘भ्युज’ पनि राम्रै देखिन्छ तर दर्शक÷श्रोतालाई गीतबारे थाहा नै हुन्न । 

अचेलका गीतमा आधुनिक प्रविधिको पनि भरपूर प्रयोग भइरहेको छ । तर, ‘मिलियन्स भ्युज’ पाएका गीतहरू लामो समय भने टिक्दैनन् । गीतलाई हिट बनाउन टिकटकमा छोटो भिडियो बनाएर लाखौँ फलोअर्स कमाएकाहरूलाई मोडलिङ गराइएका हुन्छन् । तर, अधिकांश गीत आएको र गएको पत्तो हुन्न । दर्शक र श्रोताले छोटो समय मनोरञ्जन लिन्छन् र छोटै समयमा बिर्सन्छन् । 

लामो समय गीत नटिक्नुको एउटा दोष स्रष्टा र सर्जक बजारमुखी बन्नुलाई दिन्छन् कालीप्रसाद बाँस्कोटा । उनी लामो समय टिक्ने खालका गीत नै सिर्जना नभएको बताउँछन् । उनी भन्छन्, ‘प्रविधिको विकाससँगै नेपाली गीतसंगीतको बजार बृहत् भइसकेको छ । यहीकारण स्रष्टा र सर्जक पनि बजारमुखी बनिरहेका छन् ।’ यद्यपि, गीतसंगीत पनि समयसापेक्ष परिवर्तन हुँदै जाने उनको बुझाइ छ । दर्शक र श्रोताले गीत छनोट गर्ने अवसर पाएको र उनीहरूकै रोजाइमा बजारमा गीत आउन थालेको उनको भनाइ छ । 

गायिका कुन्ती मोक्तान भने गीतसंगीत समाजको प्रतिबिम्ब भएकाले गीतमा समाजको मौलिक कथा हुनुपर्ने बताउँछिन् । पहिलाका गीतमा यस्तो कथा उनेका कारण लामो समय टिक्ने गरेको उनको भनाइ छ । उनले भनिन्, ‘पहिलेका गीतमा नेपाली समाजको सुख–दुःखलाई शब्दमा उनेर सिर्जना हुन्थे । ती गीतमा आफ्नै माटोको कथा हुन्थे । तर, अहिले चरम व्यावसायिक गीत आउन थाले । अधिकांश कलाकारमा मिहिनेत गर्ने बानी हरायो ।’ साथै पहिला सर्जकले गीतले लेख्दा गम्भीर भएर लेख्ने गरेको उनको अनुभव छ । संगीतकारले पनि त्यस्तै मिहिनेत गर्दै । उनी भन्छिन्, ‘गाउँदा पनि निकै आनन्द आउँथ्यो, अहिले सर्जकहरू पनि भाइरल हुने खालका गीत लेख्न थाले । अधिकांश संगीतकार पनि क्षणिक लाभका पछि लाग्न थालेका छन् । हिट मात्रै हुने मानसिकताले गीतहरू लामो सयम टिक्न सक्दैन ।’ 

सर्जक तथा गायक शम्भु राई प्रविधिको विकासले सर्जकलाई निकै सजिलो बनाए पनि गीतमा कलासंस्कृति संरक्षण, प्रवद्र्धनभन्दा स्वार्थ मिसिन थालेको देख्छन् । ‘पहिलेका सर्जकमा कलासंस्कृतिमा बढी रुचि हुन्थ्यो, व्यवसायप्रति कम रुचि हुन्थ्यो । निःस्वार्थ थियो, अहिले गीत–संगीतमा स्वार्थ मिसिएको छ,’ उनले भने । साथै डिजिटल प्लेटफर्मका कारण दर्शक–श्रोताको स्वाद पनि फेरिसकेको उनी बताउँछन् । उनी गीतसंगीतमा बाहिरको संस्कृति नक्कल हुन थालेकोले मौलिकतालाई जोगाउन स्रष्टा र सर्जक सजग हुनुपर्ने उनको भनाइ छ । मौलिकता रहे मात्रै गीतसंगीतको अस्तित्व रहन्छ । नत्र वास्तविक पहिचान नै लोप हुन्छ । यसका लागि पहिला नेपाली गीत–संगीतको वास्तविकता बुझ्नुपर्ने उनको सुझाब छ । 

उखान–टुक्काजस्ता गीत
गीतकार श्रवण मुकारुङ पछिल्लो समय गम्भीर किसिमका गीत नै नआएका कारण नटिकेका बताउँछन् । उखान–टुक्काजस्ता गीत सिर्जना हुने गरेको र संगीत पनि गम्भीर नहुने उनको भनाइ छ । ‘संगीतमा क्रिएसन अभाव छ,’ उनले भने, ‘गम्भीर रूपले संगीतमा काम नगरेसम्म गीत बलियो बन्दैन ।’

गीतसंगीतमा जीवनको वेदनाबाट प्रकट हुनुपर्छ । अहिले गीतमा मनोरञ्जनलाई मात्रै प्राथमिकता दिएको उनको बुझाइ छ । ‘यहीकारण गीत लामो समय टिक्दैनन्,’ उनले भने । कलाकर्मीहरूमा गीतसंगीतप्रतिको साधना र प्रतिबद्धता पनि कमी रहेको उनी देख्छन् । अहिलेको पुँजीवादी संस्कृतिले गीतसंगीतमा विकृति ल्याएको मुकारुङको बुझाइ छ । 

अमर गीत बन्न विषयवस्तु नै महत्वपूर्ण हुनुपर्ने मुकारुङ बताउँछन् । ‘गीत मिठो बन्न ‘कन्टेन्ट’ नै बलियो हुनुपर्छ । हाम्रो जीवन संघर्षका गहिरो शब्द गीत नै बनेका छैनन् । प्रेमको गीत सिर्जना गर्दा पनि प्रेमको उच्चताबाट अभिव्यक्ति भएका गीत छैन । साधना, ज्ञान प्रतिबद्धताकै कमी भइरहेको छ,’ उनले भने ।

ad
ad