१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १५:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘राइट म्यान इन राइट प्लेस’का लागि प्राधिकरणको नेतृत्व परिवर्तन : मन्त्री भुसाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १५:२३:oo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘राइट म्यान इन राइट प्लेस’का लागि नै प्राधिकरणको नेतृत्व परिवर्तन गरिएको बताएकी छिन् । नेपाल विद्युत् प्राधिकरणको ३६औँ वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा मन्त्री भुसालले यस्तो बताएकी हुन्।

हरेक व्यक्तिलाई उसले विगतमा गरेका कामको परिणामको आधारमा उपयुक्त ठाउँमा लैजान पनि उनले कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएकी छिन्। त्यसको प्रक्रिया सुरु भइसकेको उनको भनाइ छ। 

मन्त्री भुसालले सरुवामा भनसुन रोक्ने र सिफारिसका लागि मन्त्रीलाई भेट्न नआउन आग्रह गरेकी छिन्। ‘जो व्यक्ति भनसुन वा सिफारिसका लागि मलाई भेट्न आउँछ, त्यस व्यक्तिलाई मेरो ‘नेगेटिभ लिस्ट’ मा राख्नेछु,’ उनले भनिन् ।

लक्ष्यभन्दा दुई वर्षअघि नै देशलाई पूर्ण विद्युतीकरण गर्ने
मन्त्री भुसालले अबको दुई वर्षमा देशलाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य भए पनि  त्यसभन्दा अघि नै यो लक्ष्य पूरा गर्न प्राधिकरणलाई निर्देशन दिएकी छिन्। उनले ‘विदेशी ग्यास छाडौँ र स्वदेशी विद्युत् जोडौँ’ अभियान सुरु गरिएको जानकारी दिइन्। सबै खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउन सकिने र सिँचाइमा प्रयोग हुने विद्युत् सहुलियत बनाउने मन्त्रालयको लक्ष्य रहेको उनले स्पष्ट पारिन्।

‘हरेक प्रदेशमा एउटा जलाशययुक्त आयोजना निर्माण गरिनेछ भने प्रदेश २ मा सोलार योजना सञ्चालन गरिनेछ,’ उनले भनिन्।  विद्युत् चुहावट घटाउन कडाइको साथ लाग्नुपर्ने, प्रसारणलाइन निर्माणलाई उच्च प्राथमिकता दिनुपर्ने, बर्खामा विद्युत् खेर जान नदिने र आन्तरिक खपत वृद्धि गर्नेमा जोड दिने एवं बढी भएको विद्युत् छिमेकी देशमा बिक्री गर्ने र प्रसारणलाइन त्यसैअनुसार निर्माण गर्नुपर्ने उनको भनाइ छ। मन्त्री भुसालले विद्युत् खरिद बिक्री सम्झौतालाई पारदर्शी बनाइने र प्राधिकरणलाई जनउत्तरदायी बनाउन लाग्ने उल्लेख गरेकी छिन्। 

अन्तरदेशीय प्रसारणलाइन निर्माणलाई उच्च प्राथमिकता दिने भन्दै उनले विद्युत् खेर जाने अवस्थाको अन्त्य गरिने प्रतिबद्धता व्यक्त गरिन्। स्मार्ट मिटर जडान गर्ने कामलाई द्रुतता दिने र ज्यालामा काम गर्नेलाई उचित सम्मान दिइने साथै त्यसका लागि आगामी बोर्ड बैठकले आवश्यक निर्णय गर्ने उनले बताइन्।

मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जनशक्तिको प्रभावकारी प्रयोग गर्ने हो भने प्राधिकरणले राम्रो काम गर्न सक्ने बताए। ‘अहिलेसम्म भएका गल्तीबाट पाठ सिक्दै अझ राम्रो काम गर्न उत्प्रेरित हुनुपर्छ,’ उनले भने ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आमनागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने, निर्माणाधीन आयोजना सम्पन्न गर्ने र व्यापारको लागि तयारी गर्ने बताए ।

ad
ad