सांसद डा. डिला संग्रौला पन्तले गोर्खा सैनिकहरू विभिन्न माग राखी बेलायतमा आमरण अनशन बसिरहेकोप्रति नेपाल सरकारको ध्यानाकर्षण गराउँदै कूटनीतिक माध्यमबाट ब्रिटिस सरकारसँग वार्ता गर्न सरकारसँग माग गरेकी छिन् ।
शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भनिन्, ‘नेपाल तथा ब्रिटेनबीच दुई सय वर्षभन्दा लामो ऐतिहासिक सम्बन्ध छ । त्यो सम्बन्धको जग भनेको गोर्खा सैनिकहरू हुन् । संसारभरि बहादुरीका लागि चिनिएका गोर्खा सैनिकहरू अहिले आफ्नै लागि न्याय माग्दै गएको शनिबारदेखि ब्रिटिस प्रधानमन्त्री कार्यालयनजिकै लन्डनमा आमरण अनशन बसिरहेका छन् । उनीहरूको जीवनरक्षा गर्नु नेपाल सरकारको कर्तव्य हो । त्यसैले म नेपाल सरकारलाई तत्काल कूटनीतिक माध्यमबाट ब्रिटिस सरकारसँग सम्पर्क गरी वार्ता समिति गठन गरी वार्ताको मिति र स्थान तोक्न पहल गर्न आग्रह गर्दछु ।’