१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७८ श्रावण २८ बिहीबार १०:३४:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

जयसिंहलाई न्याय खोइ ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७८ श्रावण २८ बिहीबार १०:३४:००

भारतीय सुरक्षा बल एसएसबीको आपराधिक हर्कतका कारण दार्चुलाको व्यासनिवासी जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भए । सधैँ वारपार गरिरहने महाकाली नदीमाथिको तुइनमा झुन्डिएर भारतीय क्षेत्रमा जान लाग्दा भारतीय सीमा सुरक्षाबलका सिपाहीले तुइनको लठ्ठा खुस्काइदिएपछि धामी महाकालीमा खसेका थिए । घटना भएको क्षणभरमै राष्ट्रिय रूपमा सबैलाई जानकारी भएको थियो । यहाँ सबैको अर्थ हुन्छ– नेपाल सरकार, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयसहित सबै सरोकारवालाहरू । तर, घटनाको १३ दिनसम्म पनि उनको शव भेटिएको छैन, अवस्था अज्ञात छ ।

उनी तुइनमा झुन्डिँदै पारि तर्न लागेकै समयमा खसालिएको तुइनको लठ्ठासँगै महाकालीमा हेलिएपछि सबैले उनको मृत्यु भएको अनुमान गरेका छन् । परिवारले त शव नभेटेपछि कुशको प्रतिमा बनाएर सद्गत गरी किरियाकर्मसमेत गरेको छ । यसबीच भारत र नेपाल सरकार दुवैबाट धामीले न्याय नपाएका मात्र होइनन्, बरु न्यायमाथि नै अवरोध पुर्‍याइँदै छ । 

घटना जानकारी हुनासाथ दाचुर्लाको जिल्ला प्रशासनले भारतीय समकक्षीसमक्ष सोधखोज गरेको भए पनि उताबाट अझै त्यसको जवाफ दिइएको छैन । आफ्नै सीमा सुरक्षा बलका जवानका कारण नेपालीको ज्यान जाने घटना भएपछि भारतको जिम्मेवारी बन्थ्यो कि उसले जयसिंह धामीको शव खोज्न सहयोग गरोस् । नेपाल, नेपाली र धामीको परिवारसमक्ष माफी मागोस् । घटनामा जिम्मेवार एसएसबीका सदस्यलाई कारबाही गरेर त्यसको जानकारी सार्वजनिक गरोस् । धामीको परिवारलाई क्षतिपूर्ति देओस् । तर, भारतले त उल्टो नेपाली पक्षले महाकाली किनारका दुवैपट्टि ड्रोन उडाएर धामीको शव खोज्न मागेको सहयोगसमेत दिन अस्वीकार गरेको छ ।

दार्चुला घटनापछि नेपाली पक्षले महाकाली किनारका दुवैपट्टि ड्रोन उडाएर जयसिंह धामीको शव खोज्न मागेको सहयोगसमेत दिन अस्वीकार गर्ने भारतीय व्यवहार निन्दनीय छ

उसले न माफी मागेको छ, न एसएसबीलाई कारबाही गरेको छ । एउटा छिमेकीका रूपमा नेपालप्रति भारतले देखाएको यो व्यवहार निन्दनीय छ । यो हेपाहा र मिचाहा प्रवृत्तिले नेपाल र भारतबीचको सम्बन्ध राज्य–राज्यबीच मात्र होइन, जनस्तरमा पनि शत्रुतापूर्ण र अविश्वसनीय बन्न जान्छ । यता नेपाल सरकारको चाला पनि एकदम सुस्त देखिएको छ । अहिलेसम्म पनि सरकारले घटनाको सत्यतथ्य सार्वजनिक गरेको छैन । भारतसमक्ष यस मामिलामा आफ्नो धारणा राखेको छैन । संसद्मा उठेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्रीले छिटै तथ्य बाहिर ल्याउन गरेको वाचाबाहेक सरकारले यस मामिलामा आमसर्वसाधारणलाई कुनै जानकारी दिन आवश्यकसम्म ठानेको छैन । 

दिउँसो उज्यालोमा सँगै तुइन तर्न गएका सहयात्रीको बयानभन्दा बढी यसमा कुनै साक्षी चाहिने विषय पनि होइन । परिवारले तिनै यात्रीको भनाइलाई विश्वास गरेर धामीको किरियाकर्म गर्नुले पनि उनीहरूको भनाइको विश्वसनीयता यसै स्थापित हुन्छ । तर यस्तो लाग्छ, सरकार भारतीय पक्षसँग यस विषयमा कुरा गर्न डराइरहेको छ । तर्किरहेको छ । यो यसरी तर्केर या डराएर पार लाग्ने विषय होइन । यो नेपालीको आत्मसम्मानको विषय हो ।

न्यायको हकको विषय हो । यस्तो विषय स्थापित हुन नसक्ने हो भने नेपालमाथि भारतीय हेपाइ अझ बढ्नेछ । ६० वर्षपहिले नेपालसँगको सिमानामा चिनियाँ सेनाले एकजना नेपाली सिपाहीको हत्या गरेपछि तत्कालीन सरकारले कडा विरोध गरेसँगै उसले माफी माग्दै क्षतिपूर्ति दिएको घटना अझै ताजै छ । भारतलाई तत्काल यसमा माफी माग्न लगाऊ र उचित क्षतिपूर्तिसहित अपराधमा संलग्नलाई कारबाहीको माग गर ।