मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ श्रावण ३० शुक्रबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण ३० शुक्रबार १७:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी सौरभ यादवमाथि आक्रमण गर्नेलाई कारबाहीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ३० शुक्रबार १७:३o:oo

नेपाल पत्रकार महासंघ सप्तरीले नयाँ पत्रिका दैनिकका सप्तरी संवाददाता सौरभ यादवमाथि आक्रमण गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ। जिल्ला सहसचिव डम्बर राईले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्। 

‘पत्रकार यादवमाथि ०८२ साउन ३० गते भएको सांघातिक हमलाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। महासंघले घटनामा संलग्न समूहलाई पक्राउ गरी कानुनी दायरमा नल्याए आन्दोलन गर्ने चेतावनी दिएको छ।

‘घटनामा संलग्न भएका प्रत्यक्ष र परोक्ष, दुवैलाई अविलम्ब पक्राउ गरी कारबाहीको दायरामा नल्याए नेपाल पत्रकार महासंघ आन्दोलनमा उत्रिने जानकारी गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ, ‘आक्रमणबाट घाइते भएका पत्रकार यादवको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्दछौँ।’

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटअगाडि सहकर्मीहरूसँग कुराकानी गरिरहेको बखत एउटा मोटरसाइकलमा आएका तीनजनाको समूहले पत्रकार यादवमाथि छुरा प्रहार गरेकाे थियाे। छुरा प्रहारबाट यादवको दाहिने हातमा गहिरो घाउ लागेको छ। हेलमेटले समेत पत्रकार यादवको टाउकोमा प्रहार गरेको सो समूह हमलालगत्तै मोटरसाइकलमा चढेर फरार भएको छ।

पछिल्लो समय सप्तरीका पत्रकारहरूले विभिन्न अड्डाहरूको बेतिथि र सत्य सूचना जनतासमक्ष पुर्‍याइरहेकै कारण यहाँका पत्रकार ‘स्वार्थ समूह’को निशानामा परेको ठहर  गर्दै महासंघले दिनदहाडै पत्रकारमाथि सदरमुकाममै भएको आक्रमणको भर्त्सना गरेको छ।

‘पत्रकारका साथै सर्वसाधारणको समेत सुरक्षा व्यवस्था मिलाउन र यो घटनामा संलग्नहरूलाई तत्काल पक्राउ गरी कारबाहीको माग स्थानीय प्रशासनसँग गर्दछौँ,’ सहसचिव राईद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।