१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
विद्यासुन्दर शाक्य मेयर, काठमाडौं महानगर
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o९:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

केही काम गर्न खोज्यो अख्तियारको पत्र आइहाल्छ : विद्यासुन्दर शाक्य 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:१४:oo

अन्तर्वार्ता

कार्यकालको अन्तिम वर्षमा हुनुहुन्छ । चार वर्षमा गरेका कामका लागि आफूलाई सयमा कति नम्बर दिनुहुन्छ ?
म त परीक्षार्थी हुँ । नम्बर कति दिने भन्ने कुरा नगरवासीको हातमा छ । मलाई टिकट दिने दल र मतदाताले मूल्यांकन गरिरहेका होलान् । हिजो हामी महानगरमा आउँदा कार्यालयदेखि घर पुग्दासम्म धुलोले आफूले आफैँलाई चिन्न नसकिने हुन्थ्यो, हरेक सडकमा खाल्टाखुल्टी थिए । तर, अहिले खाल्टाखुल्टी देख्नुहुन्न, धुलो देख्नुहुन्न । सम्पदा संरक्षणमा पुरातत्व विभाग र गुठीबाट अपेक्षा थियो, तर त्यहाँबाट नभएपछि महानगरपालिकाले सम्पदा पुनर्निर्माण गरेको छ, संरक्षण गरेको छ । दरबार हाइस्कुल, रानीपोखरी, धरहरा बनाइसक्यौँ, कमलपोखरी बन्दै छ । 

काठमाडौंवासीलाई मोनोरेल चढाएर मात्र महानगरबाट बिदा हुन्छु भन्नुहुन्थ्यो । नीति तथा कार्यक्रमबाटै योजना नै हटाउनुभएछ ?
चुनावताका सबै दलको चुनावी घोषणापत्रमा मोनोरेल थियो । हामीले पनि चक्रपथमा मोनोरेल चलाउने भनेर घोषणा गरेका थियौँ, तर चक्रपथ नै बनेन । कलंकीदेखि सुकेधारा क्षेत्रसम्मको चक्रपथ विस्तारको डिपिआर अहिले पनि तयार भएको छैन । जहाँ चलाउने भनेका थियौँ, त्यहीँ सडक नबनेपछि तत्कालका लागि मोनोरेल चलाउन सकिने स्थिति देखिएन । 

सय दिनमा गर्छु भनेका १०१ काम १५ सय दिन बित्दासमेत अलपत्र छन् नि ?
केहीबाहेक धेरै काम हामीले सम्पन्न गरिसकेका छौँ । प्राविधिक र कानुनी समस्या देखिएकाबाहेकका काम सकेका छौँ । बजेट भएर पनि समयमै खर्च गर्न सकिएको छैन । खरिद प्रक्रिया धेरै झन्झटिलो छ । विदेशमा नौ महिनामा भवन नै बनाएर देखाउँछन् । हामीलाई नौ महिना त खरिद प्रक्रियामा लाग्छ । अलि चाँडो गर्न खोज्यो, अख्तियार गइहाल्ने, मिडियामा आइहाल्ने । केही काम गर्न खोज्यो अख्तियारको पत्र आइहाल्छ । 

महानगरमा सुशासन कायम गर्ने प्रतिबद्धता थियो, तर नियमविपरीत प्रतिव्यक्ति एक हजार सात सयसम्म चियाखाजामा खर्च गर्नुभयो ? 
उजुरी पर्‍यो र गुनासो आयो भने त्यसमा छानबिन हुन्छ । विस्तृतमा मैले हेर्न बाँकी छ । तर, तपाईंहरूले गरेको हिसाब र हामीले गरेको हिसाब फरक हुन्छ । नगर अधिवेशनको बैठकमा हामी एक सय ६० जनप्रतिनिधि हुन्छौँ । अरू कर्मचारी, सुरक्षाकर्मी, कार्यालय सहयोगी पनि हुन्छन् । उनीहरूलाई खुवाउँदैनौँ भन्न त मिलेन नि ! स–साना कुरा मेयरले हेरेर साध्य हुँदैन । गुनासो, उजुरी आयो भने हेरौँला । 

फोहोर व्यवस्थापनको समस्या पनि ज्युँका त्युँ छ नि ?
फोहोरमैला व्यवस्थापनमा ठूलो फड्को मारेका छौँ । त्यसको परिणाम आउन बाँकी छ । पहिले सबै फोहोर सिसडोलमा विसर्जन गरिन्थ्यो । तर, अहिले बन्चरेडाँडामा व्यवस्थापन गर्न सफल भएका छौँ । सिसडोल दुई वर्षका लागि लिइएको थियो, तर १२ वर्षसम्म फोहोर व्यवस्थापनको काम भयो । अहिले बन्चरेडाँडा ल्यान्डफिल साइट बनिसकेको छ, हस्तान्तरण हुन मात्र बाँकी छ ।

 

ad
ad