१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७८ श्रावण १४ बिहीबार १३:५४:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

त्रिनगर भन्सार नाकाबाट व्यापार घाटा उच्च

२७ अर्बको आयात हुँदा ५९ करोडको निर्यात, एक वर्षमा पौने १० अर्बले बढ्यो आयात

Read Time : > 1 मिनेट
२०७८ श्रावण १४ बिहीबार १३:५४:००

सुदूरपश्चिमको प्रमुख व्यापारिक नाका त्रिनगर भन्सार नाकाबाट भारतसँगको व्यापार घाटा चुलिँदै गएको छ । यो भएर एक वर्षको अवधिमा भारतबाट वस्तु तथा सामानको आयात पौने १० अर्बले बढेको छ । आर्थिक वर्ष ०७६/७७ मा यो नाकाबाट १७ अर्ब ६२ करोड मूल्यको सामान आयात भएकोमा गत आर्थिक वर्ष ०७७/७८ मा आयात बढेर २७ अर्ब साढे ३२ करोड पुगेको छ । 

अर्बौँको आयात हुँदा यहाँबाट वस्तुको निर्यात भने न्यून छ । भन्सार कार्यालयको तथ्यांकअनुसार गत वर्ष ५९ करोड पाँच लाख मूल्यको सामान भारत निर्यात भएको छ । आर्थिक वर्ष ०७६/७७ मा ५३ करोड ३५ लाख मूल्यको सामान भारत निर्यात भएको त्रिनगर भन्सार कार्यालयका सूचना अधिकारी अम्बिका केसीले जानकारी दिइन् । 

आयात हुने वस्तुमध्ये सबैभन्दा बढी मूल्य पेट्रोलियम पदार्थ र एलपी ग्यासको रहेको छ । गत वर्षमात्र आठ अर्ब ४३ करोड रुपैयाँ मूल्यको पेट्रोलियम पदार्थ र ग्यास आयात भएको भन्सार कार्यालयले जनाएको छ । चिनी, दालमोठ, पापड, भुजिया, कागज, ट्याक्टर, टायल, मार्बल, गाडीका सामानको आयात उच्च रहेको सूचना अधिकारी केसीले बताइन् । चामल, मकै, विद्युतीय तथा हार्डवेयरका सामान, सुर्ती, दाना, फलफूल, तरकारी आदि पनि उच्च आयात हुने वस्तुमा पर्छन् ।

औद्योगिक विकास हुन नसकेको सुदूरपश्चिममा परनिर्भरता बढ्दै गएको आयात र निर्यातको तथ्यांकले देखाउँछ । केही वर्षअघिसम्म सुदूरपश्चिमबाट खाद्यान्न निर्यात हुने गरेको थियो, तर अहिले बर्सेनि करोडौँ मूल्यको खाद्यान्न यहाँ आयात हुने गर्छ । आयात बर्सेनि चुलिँदै जाँदा निर्यात भने त्यसअनुसार बढेको छैन । यहाँबाट कत्था, टरपेनटाइन, रोजिन, पिना आदि सामान मात्र निर्यात हुने गरेको छ । 

नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष पुष्प कुँवर सुदूरपश्चिममा औद्योगिक विकासमा राज्यको प्रोत्साहन नहुँदा आयात बढ्दै बताउँछन् । यहाँ उद्योगधन्दाहरू नभएकाले उपभोग्य वस्तु परनिर्भरता बढेको उनको भनाइ छ । ‘व्यापार घाटा कम गर्न राज्यले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्‍याे । उद्योगीलाई प्रोत्साहन र सहुलियत दिनुपर्‍याे,’ अध्यक्ष कुँवरले भने । निर्यातभन्दा उपभोग्य वस्तुको उत्पादन बढाएर आयात कम गर्नुपर्ने उनले बताए ।  

राजस्व संकलन लक्ष्यभन्दा बढी
 त्रिनगर भन्सार कार्यालयले आर्थिक वर्ष ०७७/७८ मा आठ अर्ब ८४ करोड १४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । राजस्व संकलनको लक्ष्य १०७.५९ पुगेको भन्सार कार्यालयका सूचना अधिकारी केसीले जानकारी दिइन् । भन्सारले गत वर्ष आठ अर्ब २१ करोड ७३ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको थियो । सबैभन्दा बढी पेट्रोलियम पदार्थबाट राजस्व संकलन हुने गरेको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण आयात प्रभावित हुँदा आर्थिक वर्ष ०७६/७७ मा भन्सारले राजस्व संकलनको लक्ष्य भेट्टाउन सकेको थिएन । उक्त वर्ष ६ अर्ब ७० करोड ३१ लाख राजस्व संकलनको लक्ष्य रहेकोमा ७३.४१ प्रतिशत मात्र संकलन भएको थियो ।