१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७८ असार ३० बुधबार १२:५१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हुलाकी राजमार्गको दुर्दशा : सडक पक्की बन्यो, तर पुल नहुँदा बर्खामा आवतजावत ठप्प

Read Time : > 2 मिनेट
२०७८ असार ३० बुधबार १२:५१:००

हुलाकी राजमार्गअन्तर्गत गौरीगन्ज गाउँपालिका खण्डअन्तर्गत ११ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । तर, जनताका दुःख भने उस्तै छन् । गौरीगन्जमा बर्खा लाग्नेबित्तिकै यात्रा गर्न सक्दैनन् । कारण–हुलाकी राजमार्गमा पर्ने ठूला–साना नदीका पुलहरू दशकदेखि बन्न सकेको छैन । जसका कारण गौरीगन्जवासी गाउँपालिकाको कार्यालयसम्म पनि जान सक्ने अवस्था छैन । गौरीगन्जभित्र पाँचवटा साना–ठूला नदी छन् । हुलाकी राजमार्गमा पर्ने यी नदी दशकअघि निर्माणका लागि ठेक्का लागेका हुन् । तर, अहिलेसम्म निर्माण सम्पन्न भएका छैनन् । गौरीगन्जको रतुवानदी पूर्वदेखि सानो कलमखोला पश्चिमसम्मको ११ किलोमिटर सडक लामो प्रतीक्षापछि यस वर्ष कालोपत्रे भएको छ ।

तर, खोलामा पुल नबन्दा बर्खामा कालोपत्रे सडक प्रयोग हुँदैन । स्थानीयले वैकल्पिक मार्गको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । ‘बाटो त राम्रो बनेको छ । बाटो मात्र बनेर के गर्नु पुल कहिल्यै बनेन,’ गौरीगन्ज–१ का राजकुमार राजवंशी भन्छन्, ‘बर्खामा खोलाले गर्दा पिच भएको सडक हिँड्न पाएका छैनौँ । पुल नबन्ने हो भने सडक मात्र बनेर केही हुँदैन ।’ हुलाकी राजमार्गअन्तर्गत गौरीगन्ज गाउँपालिकामा पर्ने रतुवा, लेहेरा, किस्नी, कमल र माईको पुल दशकदेखि अलपत्र छ ।

जसका कारण हुलाकी सडकको काममा समेत असर परेको छ । ‘पुलका कारण धेरै असर गरेको छ । खोलामा पुल छैन । काम गर्न जाँदा उत्तर आएर फेरि तल झर्दा ६० किलोमिटर यात्रा गर्नुपर्छ । त्यसकारण सडकको काम रोकेका छौँ,’ हुलाकी सडकअन्तर्गत गौरीगन्ज क्षेत्रको निर्माणको जिम्मा पाएको  बिएस गजुरमुखी मोतीदान निर्माण कम्पनीका इन्जिनियर प्रह्लाद ढुंगानाले भने, ‘खोलाकै कारण मंसिरयता काम गर्न सक्ने अवस्था छैन । पुल नभएका कारण हामीले सडकको केही काम गर्न पाएका छैनौँ ।’

केही दिनयता आएको बाढीले रतुवा नदीको पुलको सुरक्षाका लागि लगाएको बाँध भत्किएको छ । नदीको चौडाभन्दा सानो पुल बनेका कारण वर्षौँदेखि रतुवापुल सञ्चालनमा आउन सकेको थिएन । झापाको गौरीगन्ज र मोरङको रतुवामाई जोड्ने यो पुल सञ्चालनका लागि स्थानीय तहले गत वर्षदेखि नै बाँध बनाउँदै आएका छन् । तर, बर्खामा गत साल पनि रतुवामाई नगरपालिकातिरको बाँध भत्काएको थियो ।

यस वर्ष पनि रतुवाको बाढीले रतुवा माईतर्फको बाँध भत्काएको छ । आर्थिक वर्ष ०६४/६५ मा निर्माण सुरु भएको उक्त पुल खोलाको चौडाइभन्दा सानो बन्दा सञ्चालनमा आउन सकेको थिएन । खोलाको चौडाइ ४ सय मिटरभन्दा धेरै छ । पुल बन्यो दुई सय पाँच मिटरको ।  खोलाको बीचमा पुल हुँदा निर्माण सम्पन्न भएको लामो समयसम्म  सञ्चालनमा आउन सकेको छैन । हुलाकी राजमार्गअन्तर्गत पर्ने उक्त पुल मोरङ–सुनसरी पुल आयोजनाले आर्थिक वर्ष ०६४/६५ मा काठमाडौंको कालिका–ओसिए जेभीले निर्माण ठेक्का दिएको थियो ।

भ्याटसहित १० करोड ३२ लाख ९१ हजारमा ठेक्का पाएको निर्माण कम्पनीले सम्झौताअनुसार काम सम्पन्न गरे पनि पुलको लम्बाइ छोटो हुँदा पुललाई बीचमा पारेर खोला बग्दा स्थानीयले हैरानी  खेप्नुपरेको छ । ‘बाढीले खोलाका लागि बनाएको बाँध भत्कायो । फेरि खोलाबीचमा पुल भएको छ । अब ओहोरदोहोर गर्न सक्ने अवस्था अझै छैन,’गौरीगन्जतर्फ भेटिएको रतुवामाईका मंगलु ताजपुरियाले भने, ‘बाँध हुँदा त हिँड्न सकेका थियौँ । तर, अब मुस्किल हुने भयो । खोला उर्लिएको छ । बाँध बगायो । अब घर कसरी जाने भन्ने चिन्ता छ ।’ 

रतुवामाई र गौरीगन्ज छिमेकी गाउँपालिका हुन् । यहाँका स्थानीयको नातादेखि खेतीसम्म पनि वारिपारि छ । तर, नदीमा पुल सम्पन्न हुन नसक्दा दैनिक आवतजावत गर्नेलाई समस्या छ । गौरीगन्ज गाउँपालिकाका अनुसार रतुवाको यो मार्ग भएर दैनिक एक हजारसम्म यात्रु ओहोरदोहोर गर्छन् । ‘सडक कालोपत्रे त भयो । तर, पुल नबनेपछि के लाग्छ र ! बरु बाटो पिच नहुँदा त जसोतसो हिँड्न सकिने रहेछ,’ गौरीगन्ज– ५ की रश्मी ताज पुरियाले भनिन्, ‘तार, पुल नै नभएपछि खोलामा हाम्रो केही नलाग्ने रहेछ । पुल यस्तो भएको दश वर्ष भयो । अहिलेसम्म बनेन । अस्ति त मन्त्री पनि आएर हेरे । तर, बनाउने कुनै छाँटकाँट गरेनन् ।’

यो पुल गौरीगन्ज र रतुवामाईका लागि निको नहुने घाउ भएको गौरीगन्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ बताउँछन् । हुलाकी राजमार्ग र पुल निर्माणका लागि महाशाखामा पटकपटक पत्र लेख्दा पनि निर्माण हुन नसकेको उनले बताए । ‘पुलहरू धेरै अलपत्र छन् । विशेषगरी रतुवा पुलचाहिँ हाम्रा लागि निको नहुने पिलो बनेको छ,’ उनले भने, ‘सम्बन्धित निकायमा लिखित मौखिक कति जानकारी गरायौँ , तर कहिल्यै बनेन ।’

 रतुवानदीमाआएको बाढीले पश्चिमतिर बाँध भत्काएपछिको अवस्था । हुलाकी राजमार्गमा पर्ने यो पुल वर्षौँदेखि अपूरो छाडिँदा बर्खामा जनताले सास्ती व्यहोर्नुपरेको छ । तस्बिर : चिरञ्जीवी घिमिरे/नयाँ पत्रिका