१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o७:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

तालगाउँका बाढीपीडितले अझै राहत पाएनन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:o९:oo

७० वर्ष लागेका मनाङ तालगाउँका आशलाल गुरुङ १ असारदेखि त्रिपालकै सहारामा छन् । मंगलबार वर्षासँगै मस्र्याङ्दीमा आएको बाढीले उनको घर डुबानमा परेको छ । बाढीले घर डुबानमा परेपछि कहिले जंगल, कहिले डाँडातिर त कहिले ओडारमा उनको वास छ । उनी भन्छन्, ‘दुःखले बनाएको घरमा अहिले मर्स्याङ्दी नदी बगेको छ ।’ अहिले उनी तालडाँडामा छन्, हेलिकोप्टरले उद्धार गरेर तालडाँडामा ल्याएपछि उनको परिवारले वास त पायो, तर गाँसका लागि भने यताउता भौँतारिरहेका छन् । उनी भन्छन्, ‘७० वर्षको उमेरसम्म आइपुग्दा मस्र्याङ्दी यसरी बौलाएको कहिले देखेको थिइनँ ।’

आशबहादुरको मात्र हैन, तालगाउँका वीरबहादुर गुरुङको पीडा पनि उस्तै छ । उनी भन्छन्, ‘तीन दिनमा जोखिम ठाउँबाट उद्धार त गरियो, तर पाँच दिनसम्म राहत नपाउँदा सरकार भएको अनुभूति छैन । बाढीले जनताको पीडामा सरकारको साथ पाएनौँ । बैगुनी रहेछ सरकार ।’ 

एक महिनाकी सुत्केरी लक्ष्मी गुरुङ पनि बाढीले घर डुबानमा परेपछि घेराङमा बस्दै आएकी छिन् । उनी भन्छिन्, ‘बाढीले घर डुबानमा परेपछि पाँच दिनदेखि घेराङ गाउँमा बसेकी छु ।’ सुत्केरीको वेलामा पोषण त परको कुरा, उनले बिहान–बेलुकासमेत पेटभरि खाना पाएकी छैनन् । ‘घरमा भएको खाद्यान्न पनि निकाल्न पाइएन, बाढी आउँदा–आउँदै भाग्न हतार भयो । अब त बाटो पनि छैन । खाद्यान्न हेलिकोप्टरबाट ल्याए मात्र पाइन्छ, यसका लागि सरकारले व्यवस्था गर्नुपर्छ । अहिलेसम्म स्थानीय, प्रदेश र संघ सरकारले केही सहयोग गरेका छैनन्,’ उनले भने ।

मंगलबारदेखि घरबारविहीन बनेका बाढीपीडित पाँच दिनसम्म पनि सरकारी निकायले बेवास्ता गरेपछि सहाराको खोजीमा छन् । तालगाउँका बाढीपीडितलाई गाँस, वास र कपासको अहिलेसम्म व्यवस्था नभएको स्थानीय सञ्चारकर्मी राजन गुरुङले बताए । उनले भने, ‘तालगाउँमा अहिलेसम्म सरकारी निकायको सहयोग पुगेको छैन ।’ बिहीबार बाढीबाट प्रभावित २४ जनाको हेलिकोप्टरबाट उद्धार गरिए पनि पीडितले अरू कुनै राहत पाएका छैनन् ।

बाढीबाट नासो गाउँपालिका–१ तालगाउँमा ६० घरधुरीका 
करिब तीन सय स्थानीय विस्थापित भएका छन् । उनीहरूमध्ये केही तालडाँडा, घेराङ र चामेमा बस्दै आएका छन् । मर्स्याङ्दीको बाढीबाट वडा कार्यालय, विद्यालय, निजी गरी ५० घर डुबानमा छ । मनाङको नासो गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर घलेले गाउँपालिका सडक, बिजुली र सञ्चारविहीन भएको जानकारी दिए । उनले भने, ‘बाढी प्रभावितलाई राहत वितरण गर्ने गाउँपालिकाको तयारी भए पनि सडक र पुल बाढीले बगाएकाले राहतका सामग्री ल्याउन समस्या भएको छ ।’ उनले हेलिकोप्टरबाट राहतका सामग्री ल्याउन समन्वय  गरिरहेको बताए ।

ad
ad