मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
जिल्ला ब्युरो
२०७८ असार ३ बिहीबार ०७:१७:००
Read Time : > 7 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बाढीपहिरोले सडकमा क्षति

Read Time : > 7 मिनेट
जिल्ला ब्युरो
२०७८ असार ३ बिहीबार ०७:१७:००

अविरल वर्षासँगै आएको बाढीपहिरोले लमजुङ, म्याग्दी, पाल्पा, गोरखा, रसुवा जिल्लाका सडकमा धेरै क्षति, तटीय क्षेत्र कटान र डुबानमा, उच्च भेगमा पहिरोको जोखिम

तीन चार दिनयता देशभर परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले विभिन्न जिल्लामा वितण्डा मच्चाएको छ । बाढीपहिरोबाट सिन्धुपाल्चोक, गोरखा, मनाङ, प्युठान, पाल्पा, स्याङ्जा, लमजुङ, अर्घाखाँची, कास्की, जुम्ला, जाजरकोट, डोटी, रसुवामा भौतिक संरचना धेरै क्षति भएको छ । अधिकांश जिल्लामा सडक बाढीपहिरोले बगाएको छ । निरन्तरको वर्षाले तटीय क्षेत्रमा डुबान र कटान तथा उच्च भागमा पहिरोको जोखिम देखिएको छ । अझै व्यापक वर्षा भइरहेकाले भौतिक क्षतिका घटना बढ्ने सक्ने निष्कर्ष गृह मन्त्रालयले निकालेको छ ।

पाटन गोठमा चौपाया लिएर गएका सातजना बेपत्ता 
जिल्लाको जलजलास्थित पाटन गोठमा भैँसी, गाई र बाख्रा लिएर गएका कुशे गाउँपालिका वडा नम्बर ८ र ९ का सातजना बेपत्ता भएका छन् । हावाहुरीका कारण मंगलबार बेलुकीदेखि बेपत्ता भएका उनीहरू बुधबारसम्म सम्पर्कमा नरहेको जाजरकोटका डिएसपी मधु थापाले जानकारी दिए । बेपत्ता हुनेमा वडा नम्बर ८ का दिलबहादुर खड्का, विक्रम खड्का, चन्द्रा खड्का, भविन्द्र खड्का, मीम खड्का, धनसरा खड्का र वडा नम्बर ९ का कृष्ण रोकाया छन् । 

अविरल वर्षासँगै आएको हावाहुरीबाट सम्पर्कविहीन भएका चारजना सम्पर्कमा आएको प्रहरीले जानकारी दिएको छ । सम्पर्कमा आउनेमा भक्तबहादुर रोकाय, ईश्वर रोकाय, दुर्गा रोकाय र गंगा खड्का छन् । जलजला पाटनमा स्थानीयका २२ गाई, १० भैँसी र ५० बाख्रा मरेको प्रहरीले जनाएको छ । घटनाबारे बुधबार बिहान जानकारी आएलगत्तै प्रहरी टोली जलजला पाटनतर्फ लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

अर्घाखाँचीमा खोलाले बगाएर एकजना बेपत्ता

मथुरा खोलाले बगाएर एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । सन्धिखर्क नगरपालिका–५ का चोलानाथ अधिकारीलाई खोलाले बगाएर बेपत्ता बनाएको हो । उनको खोजीकार्य जारी रहेको प्रहरी निरीक्षक सुजनविक्रम शाहले जानकारी दिए । ‘मान्छेलाई खोलाले बगायो भन्ने जानकारी पाउनासाथ तत्काल उद्धार टोली खटिएको छ । स्थानीय सबै लागेका छन् । तर, उनी फेला परेका छैनन् । मलामी गएका अधिकारी खोलामा गएको समयमा बगाएको भन्ने जानकारी आएको छ,’ उनले भने । अविरल वर्षाका कारण जिल्लाका खोलानाला बढेर आवतजावत गर्न कठिन भएको प्रहरीले जनाएको छ ।

दोर्दीखोलाको बाढीले १५ घर बगायो
दोर्दीखोलामा बाढी आउँदा दोर्दी गाउँपालिका–८ हिलेबजार क्षेत्रका १५ वटा घर बगाएको छ । लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले मंगलबार राति आएको दोर्दीको बाढीले पक्की र जस्ताले बनाइएका गरी १५ घर बगाएको जानकारी दिए । बाढीले हिलेबजारमा रहेका एक सय १४ घरमध्ये ४५ घर जोखिममा परेको दोर्दी गाउँपालिका–८ का वडाध्यक्ष तुलबहादुर घलेले बताए । घर बगाएका पीडित र अन्यलाई फलेनी माध्यमिक विद्यालयको भवनमा राखिएको छ । बाढीले दोर्दी गाउँपालिका–६ कीर्तिपुरका कृष्ण घलेको बोइलर र लेयर्स गरी करिब पाँच सय कुखुरासहित खोर बगाएको छ । 

मर्स्याङ्दी–४ जगतमा बंगुरको दुईवटा फार्म, भुलभुलेमा लेकबेँसी पानी उद्योग, सबडिभिजन कार्यालय र एउटा रेस्टुरेन्ट बगाएको छ । बाढीले दोर्दीमा बिजुलीका पोल, १३२ केभी हाइटेन्सन लाइनसमेत बगाएको छ । दोर्दीखोलामा निर्माणाधीन जलविद्युत् आयोजनामा पनि क्षति पुर्‍याएको छ भने दोर्दीमा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको इन्टेक डुबानमा परेको छ । हिमालयन पावर पार्टनर लिमिटेडले निर्माण गरिरहेको २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजनाको पावर हाउस उच्च जोखिममा छ । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले हिलेबजारका बस्ती जोखिममा रहेकाले नागरिकलाई सतर्क र सुरक्षित रहन आग्रह गरिएको बताए । 

रातभर खोलामा फसेकालाई एस्काभेटरको सहायताले उद्धार 

लमजुङको मध्यनेपाल नगरपालिकाअन्तर्गत मिदिम खोलाको बाढीमा फसेका नौजनाको उद्धार गरिएको छ । मध्यनेपाल–६ भोर्लेटारस्थित मिदिम खोला किनारमा खेतमा काम गर्न गएका एकै परिवारका नौजनाको बुधबार उद्धार गरिएको हो । रातभर खोलाको बीचमा फसेका नौजनालाई एस्काभेटर र नेपाल प्रहरीको सहायतामा उद्धार गरिएको मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले बताए । मंगलबार दिनभर मिदिम खोला–किनारमा रोपाइँमा लागेका परिवार साँझपख एक्कासि खोलामा बाढी आएको र खोलाको पानी दुई भंगालो भएर बगेपछि उनीहरू बीचमा फसेका थिए । मौसम प्रतिकूल हुँदा हेलिकोप्टर सम्भव नभएपछि एस्काभेटरको सहायताबाट उद्धार गरिएको मेयर पाण्डेले बताए । 

बाढीले बगाएका बालकको शव भारतमा फेला
बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित भुतही बलान खोलाको बाढीले बगाउँदा एक बालकको मृत्यु भएको छ । बलान नदीपारि स्थानीय किसुनदेव भण्डारीलाई खेतमा खाजा पुर्‍याउन जाँदा उनका छोरा १३ वर्षीय सन्तोष भण्डारीलाई बाढीले बगाएको प्रहरीले जनाएको छ । खोजीकार्य गर्दै जाँदा भारत मधुबनी जिल्ला मझौरास्थित बलान खोलाको छेउमा सन्तोषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार उनको शव परिवारलाई जिम्मा लगाइएको छ । निरन्तर वर्षा भइरहेकाले प्रहरीले स–साना बालबालिकालाई नजिकको पोखरी, नहर, कुलो, तलाउमा जान नदिन आग्रह गरेको छ ।

पहिरोमा च्यापिएर एकको मृत्यु, दुई घाइते 
डोटीमा पहिरोमा च्यापिएर एकको मृत्यु र दुईजना घाइते भएका छन् । जिल्लाको केआईसिंह गाउँपालिका–३ बासुदेवी देउकाँडाका ६५ वर्षीय खड्कबहादुर बमको पहिरोमा च्यापिएर मृत्यु भएको हो । बमको साथमा पानी फर्काउन गएकी दुई बालिका घाइते भएका छन् । घाइते हुनेमा बासुदेवी झिगाबस्तीकी १३ वर्षीया पुनी कुँवर र १६ वर्षीया पूजा कुँवर छन् । पुनीको हात भाँचिएको छ भने पूजाको टाउकोमा चोट लागेको छ । खानेपानी अवरुद्ध भएपछि पानी बनाउन मुहान गएका बमको खिरणा खोलाको पहिरोमा परेर मृत्यु भएको स्थानीय खगेन्द्र बडैलाले जानकारी दिए । मुहानको माथिबाट आएको पहिरोमा बम च्यापिएका हुन् । 

रसुवाका ३८ बस्ती बाढीपहिरोको उच्च जोखिममा 
अविरल वर्षाका कारण रसुवाका ३८ मानव बस्ती बाढीपहिरोको उच्च जोखिममा परेका छन् । वर्षायाम सुरु भएसँगै जिल्ला विपद् व्यवस्थापन समितिले गरेको अध्ययनमा मानव बस्ती जोखिममा रहेको देखिएको हो । आमाछोदिङ्मो गाउँपालिकाका पाँच, उत्तरगया गाउँपालिकामा १७, कालिका गाउँपालिकामा तीन, गोसाइँकुण्ड गाउँपालिकामा चार र नौकुण्ड गाउँपालिकाको नौवटा बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । आमाछोदिङ्मो गाउँपालिका–१ को फूलबारी, लुम्बु, वडा नम्बर २ को मुम्गाउँ, लाम्राङ बस्ती, वडा नम्बर ३ को जुङबर बस्ती, वडा नम्बर ४ को क्षुमिक बस्ती र वडा नम्बर ५ को पारा गाउँ बस्ती पहिरोको जोखिममा छन् । उत्तरगया गाउँपालिका–१ को करुमर्याङ, गोगने, चिप्लेटी र मैलुङ पहिरोको जोखिम र त्रिशूली मैलुङ दोभान घर बाढीको जोखिममा परेको छ । वडा नम्बर २ खड्कु बस्ती, भदौरे बाहुनबस्ती, आमभञ्ज्याङ घर पहिरोको जोखिममा छन् । वडा नम्बर ३ को लैयुङ र पैरेगाउँ, सालिम भित्ता पहिरोको जोखिममा छन् । वडा नम्बर ४ पैरेबेँसी, ढकाल सुहारा, कुवापानी, भलायडाँडा, कर्मीडाँडाघर पहिरो जोखिम र त्रिशूली खोला पैरेबेँसी बाढीको जोखिममा छन् । वडा नम्बर ५ गाउँकार्यपालिकाको कार्यालय क्षेत्र बाढीको उच्च जोखिममा छ । 

कालिका गाउँपालिका–१ को ग्राङ र राम्चे र वडा नम्बर ५ जिबजिबे धुसेनी पहिरोको जोखिममा छन् । गोसाइँकुण्ड गाउँपालिका–२ को टिमुरे, वडा नम्बर ५ स्याफ्रुबेँसी र वडा नम्बर ३ बृद्धिम पहिरोको जोखिममा छ । वडा नम्बर ४ लाङटाङमा भने हिमपहिरोको उच्च जोखिममा छ । नौकुण्ड गाउँपालिका–१ को स्याङग्युल बस्ती स्थानान्तरणको क्रममा छ । वडा नम्बर २ युब्रा बच्चा, वडा नम्बर ३ साँगाचौर, सम्झना टोल, वडा नम्बर ४ दनुस्वा, वडा नम्बर ५ करंगे र वडा नम्बर ६ घोर्मु, बासभञ्याङ पहिरोको उच्च जोखिममा रहेको विपद् व्यवस्थापन समितिले जनाएको छ । 

बेनी बजारसहित तटीय क्षेत्रका बस्ती र बजार जोखिममा

लगातारको वर्षाका कारण म्याग्दीमा बाढीपहिरोले जनजीवन प्रभावित बनाएको छ । सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी र म्याग्दी नदीको बहाव बढेर बजार र बस्तीतर्फ कटान सुरु भएको छ । कालीगण्डकी नदीमा आएको बाढीले बेनी बजार संरक्षणका लागि बनाइएको तटबन्ध भत्काएको छ । नदीको किनारनजिक रहेको जेसिज भवनदेखि करिब एक सय मिटर माथिसम्मको तटबन्ध नदी कटानका कारण भत्किएको छ । नदीले तटबन्ध भत्काएसँगै बजारतर्फ कटान गर्ने जोखिम बढेको छ । 

कालीगण्डकी नदीको कटानसँगै बेनी बजारको अस्पताल चोक, कालिपुललगायतका क्षेत्र बाढीको चपेटामा परेका छन् । बजारमाथि अर्थुंगे गाउँबाट झरेको बाढीले सहज निकास नपाएपछि अस्पताल चोक र कालीपुल क्षेत्रको सडक र बसपार्क बाढीले पुरिएको छ । बाढीले बसपार्क क्षेत्रमा पार्किङ गरेर राखेका सवारीसाधनमा समेत क्षति पुर्‍याउन थालेको छ । मालिका गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजारसमेत नदी कटानको जोखिममा परेको छ । म्याग्दी नदीले बजार संरक्षणका लागि बनाएको तटबन्ध भत्काएर बजारतर्फ कटान गर्न थालेपछि बजार जोखिममा परेको हो । सिंगा तातोपानी, गलेश्वर, पोखरेबगर, भुरुङ तातोपानीलगायतका नदीका तटीय क्षेत्रका बजार र बस्ती नदी कटानको जोखिममा छन् । 

बाढीपहिरोले १७ घरपरिवार विस्थापित दुईवटा सडकखण्ड अवरुद्ध

अविरल वर्षाका कारण आएको बाढीपहिरोले जिल्लामा १७ घरपरिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार धार्चे गाउँपालिकाका १०, चुमनुब्री गाउँपालिकाका चार, बारपाक सुलिकोट गाउँपालिकाका दुई र भीमसेन थापा गाउँपालिकाका एक घरपरिवार विस्थापित भएका छन् । चुमनुब्री गाउँपालिका–३ सल्लेरीका विस्थापित चार घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिसकेको डिएसपी प्रकाश दाहालले जानकारी दिए । ‘मंगलबार राति करिब ८ बजेतिर आएको बुढीगण्डकीको बाढीले त्यहाँका चार घर बगाएका छन्, मानवीय क्षति भने भएको छैन,’ उनले भने, ‘अहिले १८ जनालाई स्थानीय आमा समूहको भवनमा राखिएको छ ।’ २७ घर रहेको सल्लेरीमा सात घर उच्च जोखिम रहेको उनले बताए । बुढीगण्डकी नदीले गाउँका घर बगाउन थालेपछि स्थानीय भागेर भीरपाखामा रात बिताएका थिए । दाहालका अनुसार लोर्के सडकखण्ड ट्र्याक खोल्न बसेको नेपाली सेनाको बेस क्याम्पससमेत जोखिम परेको छ । 

गोरखामा बाढीले बगाएर बेपत्ता भएका बर्दिया राजापुर नगरपालिका–७ का ३८ वर्षका गोविन्द चौधरीको शव फेला परेको छ । बुधबार बिहान उनको शव आरुघाटस्थित मान्द्रेथोकको खोलामा ढुंगाको चेपुवामा फेला परेको डिएसपी दाहालले जानकारी दिए । मंगलबार बिहान साढे ८ बजे आरुघाट गाउँपालिका–२ स्थित ठोटनेरी खोला तर्ने क्रममा चौधरीलाई बाढीले बगाएको थियो । उनी केही समयदेखि आरुघाटमा साहुको घरमा मजदुरी गर्न आएका थिए । वर्षाका कारण जिल्लाका दुई सडकखण्ड अवरुद्ध भएका छन् । बाह्रकिलोदेखि बारपाक जाने सडक र मझुवादेखि मनकामना जाने सडक पहिरोका कारण अवरुद्ध भएको प्रहरीले जनाएको छ ।  

बाढीले दुई भेडीगोठसहित चार सय भेडा बगायो
दुई दिनदेखिको वर्षाका कारण कास्कीको जनजीवन प्रभावित बनेको छ । बाढीपहिरोबाट कास्कीमा एकजनाको मृत्यु भएको छ । माछापुच्छ्रे गाउँपालिका–१ स्थित उपल्लो घाचोक (टुसे)मा खहरेखोलाले बगाउँदा ४८ वर्षीया लीलादेवी परियारको मृत्यु भएको हो । वडाध्यक्ष वीरेन्द्र गुरुङका अनुसार उनलाई खहरेखोलाले बगाएर करिब २५ मिटर तल लगेको थियो । उनलाई स्थानीय र प्रहरीले मृत फेला पारेका थिए । प्रहरी चौकी घाचोकबाट गएको प्रहरी टोलीले महिलाको शव खोलाबाट निकालेको थियो । 

अविरल वर्षाका कारण अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकमा माथिबाट आएको पहिरोका कारण मादी खोलाको पानीको बहाव बढ्न जाँदा ६ घरपरिवार विस्थापित भएका छन् । अन्नपूर्ण गाउँपालिका–६ स्थित ज्ञानोदय आधारभूत प्राथमिक विद्यालयको भवन र धनबहादुर नेपालीको घर जोखिममा परेको छ । नयाँपुल घान्द्रुक सडकखण्डसमेत अवरुद्ध भएको छ । अन्नपूर्ण–७ वीरेठाँटीस्थित मोदी खोलामा पानीको बहाव बढेका कारण एक दर्जन घर जोखिममा परेका छन् ।

वर्षाका कारण मादी गाँउपालिका–१ होकुस्थित कपुजे खोला र नौलो खोलाको बहाव बढ्न गई दुईवटा भेडीगोठ र करिब चार सयवटा भेडा बगाएको छ । पोखरा महानगरपालिका–३२ को टाँडीका साथै कालिका चोकका झन्डै २० वटा घरमा पानी पसेको छ । घरमा पानी पस्दा घरभित्र रहेका धानलगायतका अन्य अन्न भिजेका छन् । वर्षाका कारण पोखरा महानगरपालिका–५ पस्याङस्थित खुडे पोखरी तालमा परिणत हुँदा आसपासका केही घरमा असर परेको छ । पोखराको शान्तिघाट, तुलसीघाट थुनिँदा सेती नदी किनारका केही घरहरू डुबानमा परेका छन् ।

पहिरोले सिद्धार्थ राजमार्ग ५० मिटर बगायो 

रिब्दीकोट गाउँपालिका–४ मन्छिपमा पहिरोले पुरिएर एक किशोरको मृत्यु भएको छ । महेन्द्र भट्टराई क्षेत्रीको घरमाथिबाट आएको पहिरोले घर पुरिँदा उनका १९ वर्षीय छोरा मदन भट्टराईको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए । 

निरन्तर वर्षाले खसेको पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै ५० मिटर सडक बगाएको छ । माथिबाट खसेको पहिरोले राजमार्गको जग नै बगाएको छ । खोला बढ्दै गएपछि तल्लो भागबाट कटान सुरु गरेको र माथिबाट पहिरो खसेपछि राजमार्ग नै बगाएको सडक डिभिजनका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिए । राजमार्ग बगाएपछि अत्यावश्यक सवारीसाधन र मालबहाक गाडीहरू अलपत्र परेका छन् । 

पाल्पाकै आर्यभन्ज्याङ–रामपुर सडकको हुमिन र चापगैरामा पनि पहिरोले सडक अवरुद्ध भएको छ । तिनाउ खोलामा बाढीले सतह पार गरेको छ । तिनाउ नदीमा आएको बाढीले दायाँबायाँ भागमा कटान गर्दा खेतीयोग्य जमिनमा समेत क्षति पुगेको छ । पाल्पाकै बाँसटारी, माडी, डुम्रेमा पनि अविरल वर्षासँगै आएको बाढीले खेत कटान र पुरिएको छ ।

तीन दिनदेखि मध्यपहाडी लोकमार्ग र बेनी–मालढुंगा सडक अबरुद्ध
पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग र बेनी–मालढुंगा सडकखण्ड तीन दिन बितिसक्दा पनि खुल्न सकेको छैन । सोमबार राति २ बजे पहिरो झरेर रोकिएको मध्यपहाडी लोकमार्गमा मंगलबार दिनभर पहिरो झर्ने क्रम नरोकिएपछि सडक खुलाउन नसकिएको हो । पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा ठूलो पहिरो झरेर रोकिएको सडक वर्षा नरोकिँदा खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । निरन्तर वर्षा भइरहेको र पहिरो झर्ने क्रम नरोकिँदा खुलाउन समस्या भएको प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए । मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि साना सवारीसाधन पाङ हुँदै खुर्कोट निस्किएर आवातजावन हुन थालेका हुन् । अहिले पनि यस क्षेत्रमा भारी वर्षा भइरहेको छ । वर्षासँगै पहिरो पनि निरन्तर झरिरहेको छ । मालढुंगा–बेनी सडकमा पर्ने केराबारी, लामाखेत, ज्यामिरे र फर्सेमा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

वर्षाले जिल्लाका अन्य ग्रामीण सडक पनि अवरुद्ध छन् । हुवास–वालिङ सडक, फलेवास–रानीपानी सडक, लमाय–लुँखु सडक, पातीचौर–देउराली सडक पनि पहिरोले अवरुद्ध बनेका छन् । जलजला गाउँपालिकाका अधिकांश सडक अवरुद्ध भएका छन् । सडक बन्द हुँदा एम्बुलेन्स, खाद्यान्न ढुवानी गर्ने सवारी, निर्माण सामग्री बोकेका ट्रक बीचबाटोमा रोकिएका छन् । पहिरोका कारण भत्किएका र अवरुद्ध भएका सडकहरू खुलाउन वर्षाका कारण समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् । 

...                 ...

जाजरकोटबाट हेमन्त केसी, अर्घाखाँचीबाट नवीन केसी, लमजुङबाट शान्ता कमली, सप्तरीबाट भोला पासवान, डोटीबाट कर्ण चन्द, रसुवाबाट अनु आचार्य, म्याग्दीबाट कमल खत्री, गोरखाबाट केशव गुरुङ, कास्कीबाट रोहितराज पराजुली, पाल्पाबाट नारायण न्यौपाने र पर्वतबाट सन्तोष थापा