१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असार ३ बिहीबार ०६:३२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

युद्धस्तरमा उद्धार र राहत वितरण गर्न सरकारसँग माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असार ३ बिहीबार ०६:३२:००

विभिन्न राजनीतिक दलका नेताहरूले बाढी र पहिरो प्रभावितहरूको युद्धस्तरमा उद्धार र राहत वितरण गर्न सरकारसँग माग गरेका छन् । अविरल वर्षाका कारण केही जिल्लामा आएको बाढी र पहिरोले ठूलो संख्यामा स्थानीयको समस्या देखिएपछि दलहरूले उद्धार र राहत वितरणमा तदारुकता देखाउन सरकारसँग माग गरेका हुन् । 

पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्तिमार्फत युद्धस्तरमा उद्धार र राहत वितरण गर्न सरकारसँग अपिल गरेका छन् । ‘युद्धस्तरमा उद्धार, हराएकाहरूको खोजी, मानिसहरूलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न म सरकारलाई आग्रह गर्दछु,’ देउवाले भनेका छन् । उनले सम्भावित विपत्को जोखिमबाट जनतालाई बचाउन तीनवटै तहका सरकारहरूबीच आवश्यक समन्वय र व्यवस्थित योजनाका साथ सम्पूर्ण तयारी गर्न पनि अपिल गरेका छन् । 

यस्तै पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी र पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सरकारसँग विशेष आग्रह गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै प्रचण्डले महाविपत्तिमा परेकालाई राहत र उद्धारमा लाग्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् । 

उनले हरेक वर्ष वर्षायाममा तराई–मधेस डुब्ने र पहाडी भूभागमा पहिरो जाने समस्याको दीर्घकालीन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । मौसमविद्हरूको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरूको अनुभवसमेतको बेवास्ता गर्ने सरकारी रवैयाका कारण धनजनको यति ठूलो क्षति भएको उनको ठहर छ । 

पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बाढी–पहिरोबाट प्रभावितहरूलाई बाँच्नका लागि न्यूनतम राहत, आवास, लत्ता–कपडा एवं स्वास्थ्य सामग्रीसहितको व्यवस्थाका लागि सरकार एवं परोपकारी संस्थाहरूको ध्यानाकर्षण गराएका छन् । प्रभावित स्थानहरूमा तत्काल उद्धार कार्यमा जुट्न स्थानीय पार्टी कार्यकर्ता, सरकारी निकाय तथा जनसमुदायमा अपिल गरेका छन् । उनले पहिरो र डुबानको खतरा कायमै रहेको भन्दै सतर्कता अपनाउनसमेत आग्रह गरेका छन् । 

यस्तै, सत्तारुढ एमालेले प्राकृतिक विपत्तिको घडीमा उद्धार र राहतमा परिचालित हुन जनप्रतिनिधि, पार्टी कमिटी र युवापंक्तिलाई आह्वान गरेको छ । प्रवक्ता प्रदीप ज्ञवालीले बुधबार प्रेस विज्ञप्ति जारी गरी स्वयंसेवी भावनाका साथ परिचालित हुन सबैलाई आह्वान गरेका हुन् । तत्काल उद्धार र राहतका काम प्रभावकारी ढंगले अगाडि बढाउन, मृतकका परिवारहरूका लागि राहत उपलब्ध गराउन, बेपत्ताहरूको खोजी गर्न र बाढीले बेघर बनाइएका परिवारका लागि अस्थायी बसोवासको प्रबन्ध गर्न सरकारसँग उनले आग्रह गरेका छन् । प्राकृतिक विपत्तिका विरुद्ध परिचालित गर्ने निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि उनले आग्रह गरेका छन् ।

त्यसैगरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बाढीपीडितहरूलाई यथाशीघ्र राहत प्रदान गर्न सरकारसँग माग गरेका छन् । अविरल वर्षाका कारण हिमाली र पहाडी जिल्लाहरूमा भूक्षय तथा पहिरो, तराई–मधेसमा बाढीले मानवीय र भौतिक क्षति पु¥याएको उल्लेख गर्दै यादवले यथाशीघ्र पीडितहरूलाई उद्धार र राहत पु¥याउने कार्यमा लाग्न सरकारसँग आग्रह गरेका हुन् ।