१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ ८ शनिबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ जेठ ८ शनिबार १८:o७:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री भन्छन– राष्ट्रपतिलाई तपाईंसम्म भन्ने सभ्यता कांग्रेसमा रहेन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ जेठ ८ शनिबार १८:o७:oo

प्रधानमन्त्री केपी ओलीले कांग्रेस सभापति देउवाले राष्ट्रपतिलाई तिमी भन्ने शब्द प्रयोग गरेको भन्दै असन्तुष्टि जनाएका छन् । शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा स्व. बुद्धिबहादुर रायमाझीद्वारा लिखित पुस्तक ‘पञ्चायती जेलमा तेह्र वर्ष’ विमोचनमा ओलीले देउवाले शनिबार जारी गरेको विज्ञप्तिमा सम्मानार्थ शब्द प्रयोग नगरेकोमा असन्तुष्टि जनाएका हुन् ।

कांग्रेस सभापतिको स्तरबाट त्यस्तो भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियानको गहिराइ कति छ भन्ने स्पष्ट भएको ओलीले बताए । उनले भने ‘लोकतन्त्र मान्दैन उनीहरू, लोकतन्त्र आचरण र अभ्यास मान्दैनन् उनीहरू लोकतन्त्रका हिमायती भएर, मयुरका प्वाँख जोडेर मयुरको नक्कल पार्दै, स्वाङ पार्दै, आदर्शहीनले आदर्शको नक्कली कुरा गर्दै देशलाई अराजकता, असभ्यतातिर लान खोजिराख्या छन् । भाषाको हिसाबले गालीगलौज, तथानाम, औपचारिक भाषामा । मैले आज प्रमुख प्रतिपक्षी दलका नेता, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरेँ । राष्ट्रपतिलाई तपाईंसम्म भन्ने सभ्यता नेपाली कांग्रेसमा रहेन । सभापतिको तहबाट राष्ट्रपतिको सम्बन्धमा बोलिएको भाषा तिमी, उनी, यसो गरिन् । यस्तो भाषा बोलिएको छ । अथवा सामन्तवादप्रतिको दलाली त्यस ठाउँमा एउटा कुलीन घरानियाँ, जन्मसिद्ध श्रेष्ठताको पाखण्डी सिद्धान्तका आधारमा आएको कुनै नालायक पात्र राजा नामको कोही हुन्थ्यो भने कस्तो¬¬–कस्तो भाषा बोलेर, निहुँरिएर, हात मुसारेर के–के भाषा बोल्थे यिनै मान्छेहरू । आज जनताका छोराछोरी सम्मानित पदमा पुगे भने त्यो सम्मान गर्नुहुँदैन भन्ने ठान्छन् । तपार्इं पनि भन्नु हुँदैन राष्ट्रप्रमुखलाई भन्ने ठान्छन् । असभ्य तरिकाले बोल्नु आफ्नो बहादुरी ठान्छन् । अरूलाई तँ, तिमी भन्नु बहादुरी ठान्छन् । नेपाली कांग्रेसको सभापतिको पनि त्यस स्तरको भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियानको गहिराइ र व्यापकता कहाँसम्म पुगेको छ भन्ने कुराचाहिँ अचम्म लाग्यो ।’

ओलीले नेपालमा फिँजिएको उज्यालो निभाउने प्रतिक्रियावादी शक्तिहरूको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिस्ट आन्दोलनका विरुद्धमा लागेको आरोप लगाएका हुन् । उनले कम्युनिस्ट आन्दोलनका विरुद्ध इतिहासमा कहीँ नदेखिएको अनुशासनहीनता र अराजकता देखिएको बताए । उनले भने ‘आज पनि हामी देख्न सक्छौँ, आन्दोलनविरुद्ध, इतिहासमा कहीँ नदेखिएको अत्यन्तै भद्दा, नग्न, बीभत्स, कुरूपताको हद पनि बीभत्स, अनुशासनहीनताको, अराजकताको र विपक्षी र विरोधीहरूसँग मिलेर, नेपालमा छरिएको, नेपालभरि फिँजिएको उज्यालोलाई निभाउने देशी, विदेशी जनविरोधी, प्रतिक्रियावादी शक्तिहरू जुन छन्, तिनीहरूको मतियार भएर, तिनीहरूको सेवक भएर निर्लज्जतापूर्वक अहिले पनि आन्दोलनका विरुद्धमा लाग्ने तत्वहरू देखिएका छन् ।’

ओलीले प्रतिकूल अन्तर्राष्ट्रिय परिस्थितिका बीच उचाइमा पु¥याइएको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्ने प्रयासस्वरूप पार्टी फुटाइएको आरोप पनि लगाए । अदालतको फैसलाअगावै पार्टी फुटाएर पार्टी फुटको दोष अदालतलाई लगाइएको उनले बताए । नेता पतित भएर बिकेपछि आन्दोलनलाई सिध्याउन उद्यत हुने पनि उनले बताए । 

उनले भने ‘आज इमान छोड्नु, अहंकारी हुनु, अहंकारका पछि कुद्नु, म भन्ने भावना, यस भावनाबाट आक्रान्त बिमारी हुनु यो कुराले आज नेपालको यति माथि पु¥याइएको, यस्तो प्रतिकूल अन्तर्राष्ट्रिय परिस्थितिमा यति माथि पु¥याइएको आन्दोलन, लगभग दुईतिहाइको स्थितिमा पु¥याइएको, एकीकृत बनाइएको आन्दोलन त्यसलाई ध्वस्त पार्ने प्रयास भइरहेको छ । त्यसलाई फुटाइयो । अदालतलाई अबजस लगाइयो । अदालतको फैसलाअगाडि पार्टी फुटाइसक्या थियो । तर, अदालतलाई अबजस लगाइयो । अहंकारमा कुदेर आन्दोलनलाई ध्वस्त पार्दिन्छु, समाप्त पार्दिन्छु, कब्जा गर्दिन्छु भन्दै प्रतिक्रियावादी शक्तिहरूका पाउमा आन्दोलनलाई चढाउने । त्यसको लक्षण त हामीले हिजो मात्रै पनि देख्यौँ । जुन दलसँग प्रतिस्पर्धा गरियो, त्यही दलको आफ्नो दलको सरकार गिराएर जोसँग प्रतिस्पर्धा गरियो र गर्नु छ फेरि पनि उही दलको नेतालाई प्रधानमन्त्री बनाएर । अनुशासन तोडेर पार्टी निर्णय गरिरहनुपर्दैन त्यस्ता कुरा ? यसै पनि यो बुझेको कुरा हो, सामान्य कार्यकर्ताले बुझेको कुरामा नेताले बुझ्दैनन् भन्ने होइन । तर, जब नेता बिक्छन् । जब नेता पतित हुन्छन् । तब आन्दोलनलाई सिध्याउन उद्यत हुन्छन् ।’