१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o८:५९:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

तेक्वान्दोको ओलम्पिक छनोटमा  सहभागी हुन पाएन नेपाल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:५९:oo

परिस्थिति योजनाअनुसारकै भए कोरोना भाइरस (कोभिड– १९) महामारीका कारण एक वर्ष पछि सरेको टोकियो ओलम्पिक ठ्याक्कै ६० दिनपछि जापानमा सुरु हुनेछ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले ३२औँ ओलम्पिक खेलकुद ८ साउनबाट सुरु गर्ने योजना बनाएको छ । तर, टोकियो ओलम्पिकको तयारीमा रहेका नेपाली तेक्वान्दो खेलाडीले भने छनोट प्रतियोगितामै सहभागिता जनाउन पाएनन् । टोकियो ओलम्पिकका लागि तेक्वान्दोको एसियन छनोट शुक्रबारबाट जोर्डनको राजधानी अम्मानमा सुरु भएको छ । 

सो छनोट प्रतियोगितामा नेपालबाट तीन खेलाडी निमा गुरुङ, भूपेन्द्र श्रेष्ठ र वीरबहादुर महराले सहभागिता जनाउने तय थियो । निमाले महिलातर्फ ५७ केजीमुनिको तौल समूह, भूपेन्द्रले पुरुषतर्फको ८० केजीमाथि र वीरबहादुरले पुरुषतर्फको ६३ केजीमुनिको तौल समूहमा टोकियो ओलम्पिकका लागि आफ्नो दाबेदारी दिने तय थियो । यी तीनै खेलाडी लामो समयदेखि यही छनोट प्रतियोगिताको तयारीमा थिए । यद्यपि, शुक्रबार जोर्डनमा छनोट प्रतियोगिता सुरु हुँदा यी खेलाडी भने काठमाडौंमै छुटेका छन् ।

छनोट प्रतियोगिता गुमाए पनि आइओसीको छात्रवृत्तिमा प्रशिक्षणरत वीरबहादुरका लागि अझै वाइल्ड कार्डको आशा जीवित छ । आइओसीले छनोट चरण पार गर्न नसकेका देशका खेलाडीलाई वाइल्ड कार्डमार्फत सहभागी गराउने गर्दछ । वाइल्ड कार्डका लागि आइओसीले आफ्नो छात्रवृत्ति पाएका खेलाडीलाई नै प्राथमिकता दिने गर्दछ । 

तर, निमा  र भूपेन्द्रका लागि भने विश्व खेलकुदको यो महाकुम्भ मेलामा सहभागी हुने अवसर समाप्त भएको छ । नेपाल तेक्वान्दो संघले भने आयोजक जोर्डनका कारण एसियाली छनोट प्रतियोगितामा आफ्नो खेलाडीको सहभागिता गुमेको जनाएको छ । ‘हामी सहभागिताको तयारीमा थियौँ । त्यसका लागि प्लेन टिकटसमेत लिइसकेका थियौँ,’ नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले भने, ‘तर, हामीलाई आयोजक जोर्डनले बढ्दो कोरोना भाइरस संक्रमणका कारण नेपाल र भारतका खेलाडीलाई सीधै प्रवेश गर्नमा रोक लगाएको भन्दै पत्र पठायो । अन्य देशमा १४ दिन क्वारेन्टिनमा बसेपछि मात्रै जोर्डन आउन दिने उनीहरूको पत्रका कारण हामीले खेलाडीलाई प्रतियोगितामा पठाउन सकेनौँ ।’

अध्यक्ष राणाका अनुसार नेपाल र भारतले जोर्डनको यस निर्णयको विरोध गरेको छ । दुवै संघले जोर्डनको यस निर्णयको विरोध गर्दै विश्व तेक्वान्दो महासंघलाई पत्राचार गरेको अध्यक्ष राणाले जानकारी दिएका छन् । त्यसका बाबजुद नेपाल र भारतका खेलाडीले प्रतियोगितामा सहभगिता जनाउन पाएनन् । यस्तै अरू तीन नेपाली पारा तेक्वान्दो खेलाडीले पनि टोकियो पारा ओलम्पिकको छनोट गुमाएका छन् । पारा खेलाडीहरूका लागि आइतबारबाट जोर्डनमै छनोट प्रतियोगिता हुँदै छ । सो प्रतियोगितामा पलेसा गोलबर्द्धन, सिर्जना घिसिङ र विशाल गर्बुजाले सहभागिता जनाउने तयारी थियो ।

कोरोना महामारीका कारण जोर्डनले नेपाली खेलाडीलाई सीधा प्रवेशमा लगाएको प्रतिबन्धका कारण यी खेलाडीको सहभागिता पनि असम्भव बनेको हो । अध्यक्ष राणाले पलेसासँगै दुई खेलाडीका लागि वाइल्ड कार्डका लागि प्रयास गरिएको जनाए । वाइल्ड कार्डका लागि पहल गरिएकी अर्की खेलाडी हुन्, रञ्जना धामी । ‘पारा तेक्वान्दोमा हाम्रा खेलाडी राम्रा छन् । त्यसैले उनीहरूका लागि वाइल्ड कार्डका लागि हामीले पत्राचार गरेका छौँ,’ अध्यक्ष राणाले भने, ‘उनीहरूका लागि वाइल्ड कार्ड प्राप्त हुने सम्भावना छ ।’ 

करातेको वाइल्ड कार्ड सम्भावनामा आशंका

ओलम्पिक खेलकुदमा पहिलोपटक समावेश करातेमा पनि नेपालको सहभागिता मुस्किल देखिएको छ । करातेमा खेलाडीहरूले दुई तरिकाबाट ओलम्पिक सहभागिताको बाटो तय गर्न सक्छन्, वरीयतामा अघि रहेर र वाइल्ड कार्ड प्राप्त गरेर । नेपाली खेलाडीका लागि वरीयताको आधारमा टोकियो ओलम्पिकको छनोट सम्भव छैन । दोस्रो बाटो वाइल्ड कार्डको हो । त्यसका लागि अनु अधिकारी र नवीन रसाइली झन्डै दुई वर्षदेखि आइओसीको छात्रवृत्तिमा प्रशिक्षणमा रहेका छन् । 

तर, नेपाल कराते महासंघ पछिल्लो झन्डै ६ वर्षदेखि विश्व कराते महासंघ (डब्लुकेएफ) मा दर्ता नवीकरण नरहेको देखिएपछि यी दुई खेलाडीको वाइल्ड कार्डको सम्भावनामा आशंका गर्न थालिएको छ । यी दुई खेलाडीलाई प्रशिक्षण दिइरहेका प्रशिक्षक दीपक श्रेष्ठले वाइल्ड कार्डको आशा असम्भव प्रायः देखिएको बताए । ‘हाम्रो संघ नै दर्ता, नवीकरण छैन भन्ने समाचार सुन्नमा आएको छ । संघ नै दर्ता नवीकरण छैन भने के आधारमा वाइल्ड कार्ड दिन्छ होला र ?’ प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘कोरोना महामारीको यस्तो अवस्थामा पनि हामीले आफूलाई जोखिममा राखेर गरेको तयारी खेर जाने अवस्था देखिएको छ ।’

नेपालमा लामो समय राष्ट्रिय मान्यता (राष्ट्रिय खेलकुद परिषद्) र अन्तर्राष्ट्रिय मान्यताको आधारमा दुई संघ अस्तित्वमा रहे । अन्तर्राष्ट्रिय मान्यता प्राप्त संघको अध्यक्ष पुरेन्द्रविक्रम लाखे हुन् । राष्ट्रिय मान्यता प्राप्त संघको अध्यक्षमा दावा गुरुङ रहे । १३औँ दक्षिण एसियाली खेलकुद (साग)अघि दुवै संघलाई एक बनाउने योजनाअनुसार शम्भू आचार्यको अध्यक्षमा नयाँ समिति बनाइएको छ । जसमा गुरुङ सहअध्यक्ष र लाखे उपाध्यक्ष छन् । 

तर, तीन महिनाभित्र निर्वाचनमार्फत नयाँ वैधानिक कार्यसमिति चुन्ने भनिए पनि अहिलेसम्म सम्भव देखिएको छैन । त्यससँगै अन्तर्राष्ट्रिय नियमनकारी निकायमा पत्राचार नहुँदा करातेको दुई संघको अस्तित्व अझै हटिसकेको छैन । डब्लुकेएफको नियमअनुसार संघ दर्ताका लागि प्रत्येक दुई वर्षमा २६ सय स्विस फ्राङ्क तिर्नुपर्छ । दुई वर्षमा दर्ता नवीकरण नगरे थप १५ सय युरो जरिवाना थपिनेछ । त्यसअनुसार नेपालले दर्ता नवीकरणकै लागि डब्लुकेएफमा ठूलो रकम बुझाउनुपर्ने देखिएको छ । 

डब्लुकेएफले आफूले मान्यता दिएको संघसँग मात्रै काम गर्ने भएका कारण संघ दर्ता नवीकरण नगर्नु लाखे नेतृत्वको अन्तर्राष्ट्रिय मान्यता प्राप्त संघकै गल्ती देखिन्छ । स्रोतका अनुसार उनले केही समयअघि मात्रै दर्ता नवीकरणका राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ५६ लाख आर्थिक सहयोगका लागि निवेदन दिएका छन् । यद्यपि, राखेपले उक्त रकम निकासा गरिसकेको छैन ।

ad
ad