१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नागढुंगा–नौबिसे सुरुङमार्गमा निषेधाज्ञाका बीचमा पनि काम गर्दै मजदुर ।
शान्ति तामाङ काठमाडौं
२o८१ जेठ ६ आइतबार o८:२९:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

महामारीबीच विकास निर्माणका काम धमाधम

Read Time : > 3 मिनेट
शान्ति तामाङ, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o८:२९:oo

कोरोना भाइरसको दोस्रो लहर बढेसँगै निषेधाज्ञा लागू भए पनि नागढुंगा–नौबिसे सुरुङमार्ग, धरहरा पुनर्निर्माण, राष्ट्रिय विकासका आयोजना, सडक मर्मत, कालोपत्रे, मार्किङजस्ता काम जारी

राजुमान मानन्धर, विज्ञसदस्य, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

जनस्वास्थ्यका मापदण्ड अपनाउँदै धरहरा पुनर्निर्माणको काम गर्दै आएका छौँ । मास्क, स्यानिटाइजरको व्यवस्था गरेका छौँ । दैनिक ज्वरो जाँच हुन्छ । कोही कामदारमा केही समस्या छ कि भनेर वेलावेला हेरिरहेका हुन्छौँ । मापदण्ड अपनाउँदा अपनाउँदै पनि दुईजनालाई कोराना लाग्यो । उनीहरू अहिले आइसोलेसनमा बसेका छन् । उनीहरूलाई कोरोना लागेपछि अन्य कामदारले काममा आउन गाह्रो मानिरहेका छन् ।

मध्यदिनमा घ्वारघ्वार घुरघुर गर्दै गोंगबुदेखि बालाजु सडकखण्डमा कालोपत्रेको काम भइरहेको छ । कोही सावेल चलाइरहेका छन्, कोही कालोपत्रे बलियो बनाउन अलकत्रालगायत सामग्री मिलाइरहेका छन् । सडकमा करिब १५ जनाको समूहले काम गरिरहेका छन् । सबैले स्वास्थ्य सतर्कता अपनाउँदै मास्क लगाएका छन् । बिहान ७ देखि साँझ ५ बजेसम्म कालोपत्रेको काम भइरहेको छ । सामान्य अवस्थामा भन्दा आधा जनशक्ति राखेर एक किलोमिटर सडकखण्ड कालोपत्रेको काम भइरहेको र निषेधाज्ञाकै बीचमा काम सिध्याउने लक्ष्य राखिएको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ । 

कोरोना संक्रमण तीव्र फैलिएपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका कारण सवारी आवागमन नभएकाले पनि काम छिटोछिटो अगाडि बढिरहेको छ । जनस्वास्थ्यका मापदण्ड अपनाउँदै निषेधाज्ञा सुरु भएको दिनदेखि नै यस क्षेत्रमा काम भइरहेको हो । ‘पहिले–पहिले राति काम गथ्र्याैं, कोरोनाका कारण निषेधाज्ञा सुरु भएपछि जनस्वास्थ्यका मापदण्ड अपनाउँदै दिनमै काम गरिरहेका छौँ,’ सडक डिभिजन कार्यालय काठमाडौंबाट खटिएका सुपरभाइजर नगेन्द्र चौलागाईंले भने । उनका अनुसार काममा आउनुभन्दा अगाडि सबै कामदारको ज्वरो परीक्षण हुन्छ । कार्यालयले विभिन्न ठाउँमा सडक मर्मत, कालोपत्रे, मार्किङलगायतका काम गरिरहेको छ ।

प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र दिवसको अवसर पारेर ११ वैशाखमै धरहराको उद्घाटन गरे । धरहराको औपचारिक उद्घाटन भए पनि त्यसवरपरको संरचना निर्माणका काम भने आधा पनि सकिएको छैन । यहीकारण निषेधाज्ञाकैबीच धरहरावरपरको संरचना निर्माणको कामलाई तीव्रता दिइएको हो । निर्माण कार्यमा ४० जनाजति कामदार खटिएका छन् । उनीहरू बिहान ९ बजेदेखि नै निर्माणस्थलमा खटिने गरेका छन् । धरहरावरपर रहने भूकम्प एवं मुद्रा संग्रहालय, पार्किङ, बगैँचा, भूकम्पले भत्काएको ठुटो धरहरा संरक्षण, सुन्धारा निर्माणलगायतका काम बाँकी नै छन् । सोही काम सम्पन्न गर्ने उद्देश्यले कोरोना महामारीका वेला पनि निर्माण रोकिएको छैन । जनस्वास्थ्यका मापदण्ड अपनाउँदा पनि दुईजना कामदारलाई कोरोना संक्रमण भएपछि भने कामदार काममा आउन कम भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विज्ञ सदस्य राजुमान मानन्धरले जानकारी दिए ।

‘धरहराको काम त भइरहेको छ, तर पहिलाको जस्तो गति लिन सकेको छैन,’ विज्ञ सदस्य मानन्धरले भने, ‘जनस्वास्थ्यका मापदण्ड अपनाउँदै आएका छौँ । मास्क, स्यानिटाइजरको व्यवस्था गरेका छौँ । दैनिक ज्वरो जाँच हुन्छ । कोही कामदारमा केही समस्या छ कि भनेर वेलावेला हेरिरहेका हुन्छौँ । मापदण्ड अपनाउँदा अपनाउँदै पनि दुईजनालाई कोरोना लाग्यो । उनीहरू अहिले आइसोलेसनमा बसेका छन् । उनीहरूलाई कोरोना लागेपछि अन्य कामदारले काममा आउन गाह्रो मानिरहेका छन् ।’ पहिला दिन र रात दुवै समयमा काम हुने गरे पनि अहिले दिनमा मात्रै काम भइरहेको उनले बताए ।

उद्घाटन भइसके पनि धरहरा पुनर्निर्माणको बाँकी काम हुँदै ।
 

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै निषेधाज्ञा कडाइ गरिएको छ । तर पनि विकास निर्माणका कामले भने तीव्रता पाइरहेको छ । निषेधाज्ञाकैबीच नागढुंगा–नौबिसे सुरुङमार्गको काम तीव्र गतिमा भइरहेको छ । सुरुङमार्ग निर्माणमा पनि कामदारहरूले जनस्वास्थ्यका मापदण्ड अवलम्बन गरेर काम गरिरहेको आयोजनाले जनााएको छ । मेलम्ची खानेपानी आयोजनाले चुहावट कम गर्न मर्मत सम्भारको कामलाई तीव्रता दिएको छ । यस्तै, काठमाडौं उपत्यकाका स्थानीय तहहरूले पनि आफ्नोमातहतमा रहेका आठ मिटरभन्दा साना सडक मर्मत, कालोपत्रेलगायतका कामलाई जारी नै राखेका छन् । 

कुवेर नेपाली, प्रमुख, सडक डिभिजन कार्यालय काठमाडौं

विकास निर्माणका कामका लागि प्रयोग हुने सवारीलाई पास उपलब्ध गराउने भने पनि त्यस्तो व्यवस्था नहुँदा हामीले दुई हप्ताजति हुन लाग्यो बाहिरबाट सामान ल्याउन पाएका छैनौँ । सवारी पास नपाएर धेरै ठाउँमा काम ठप्प छ । मान्छे नहिँडी व्यवस्थापन गर्न सकिने ठाउँमा मात्र काम गरिरहेका छौँ ।

निषेधाज्ञामा अनधिकृत निर्माण र प्रचार सामग्री हटाउँदै नगर प्रहरी
काठमाडौं महानगरका नगर प्रहरी विकास साझेदारले सडकमा छाडेका अनधिकृत निर्माण सामग्री तथा प्रचार सामग्री हटाउन सक्रिय भएका छन् । नगर प्रहरीले सडक किनारा तथा पार्कमा रहेका जोखिमयुक्त रूखको हाँगा काटेर जोखिममुक्त बनाउने, वातावरण व्यवस्थापन विभागसँग मिलेर सडक र किनाराको सफाइलगायत काम गरिरहेको छ । ‘व्यस्त समयमा सवारी आवागमनले असजिलो भएका काम अहिले बन्दाबन्दीका समयमा गरिरहेका छौँ,’ नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटा भने, ‘सबैको काम गर्ने ठाउँ सडक नै हो । तर, काम सकेर उब्रिएका सामान कसैले थन्क्याउँदैनन् । यसले सडकका ठाउँठाउँमा केही न केही अनावश्यक सामग्री थुप्रिएका छन् । यस्ता सामग्रीसँगै भत्किएका वा टुक्रिएका बार, पिलर, खम्बालगायत सामग्री हटाउँदै छौँ ।’ 

महानगरका ठूला आठवटा आकाशे पुलमा राखिएका प्रचार सामग्री नगर प्रहरीले हटाइसकेको छ । स्टिकर टाँसेर लगाइएका सामग्री निकाल्न कठिन भएकाले रङ पोतेर छाडिएको छ । ‘अप्ठ्यारा ठाउँमा राखिने भएकाले यस्ता सामग्री हटाउन सुरक्षाका दृष्टिले जोखिमपूर्ण छ । तर, यसको व्यवस्थापनका लागि सम्झौता गर्ने पक्षले सम्झौताबमोजिम राजस्व तिर्नेलगायत काम नगरेकाले हामीले जोखिम मोलेरै भए पनि प्रचार सामग्री हटाएका हौँ,’ महाशाखा प्रमुख सापकोटाले भने । कलंकीदेखि त्रिपुरेश्वरको मूल सडक, सुन्धारा, नयाँ सडक, भोटाहिटी, जमल, कान्तिपथ, दरबारमार्ग, कमलादी, पुतलीसडकको अनधिकृत निर्माण सामग्री हटाइएको छ । 

महाशाखाका प्रमुख सापकोटाका अनुसार सडक र सडकपेटी निर्माण तथा मर्मत गर्दा, खानेपानीको पाइपलाइन बिछ्याउँदा, टेलिकम र इन्टरनेटजन्य सुविधा वितरण गर्ने प्रयोजनले काम गर्दा बाँकी रहेका कुनै न कुनै सामग्री सडकमै छाडेर जाने चलन छ । काम सकेर आफ्ना सामग्री व्यवस्थापन गर्ने संस्कार भइदिएको भए सहरी सुन्दरतामा धेरै सहयोग पुग्ने सापकोटा बताउँछन् ।

पासको व्यवस्था नभएर काम गर्न अप्ठ्यारो
बुधबार रातिबाट निषेधाज्ञा थप कडाइ गरे पनि सडक डिभिजन कार्यालय काठमाडौंले आफ्नोमातहतको काम भने जारी राखेकै छ । राष्ट्रिय आयोजनाबाहेकका विकास निर्माणका अन्य काम नगर्ने भनिए पनि स्पष्ट निर्देशन नआएकाले काम जारी राखेको कार्यालयका प्रमुख कुवेर नेपालीले बताए । उनका अनुसार सवारी पास नहुँदा बाहिरबाट सामान ल्याएर काम गर्न भने अप्ठ्यारो छ । ‘माथिबाट स्पष्ट निर्देशन नआएकाले हामीले गर्ने काम गरिरहेकै छौँ । सडक पनि राष्ट्रिय विषयकै कुरा भयो,’ प्रमुख नेपालीले भने, ‘विकास निर्माणका कामका लागि प्रयोग हुने सवारीलाई पास उपलब्ध गराउने भने पनि त्यस्तो व्यवस्था नहुँदा हामीले दुई हप्ताजति हुन लाग्यो बाहिरबाट सामान ल्याउन पाएका छैनौँ ।’ 

पास उपलब्ध नहुँदा सडक मर्मत, कालोपत्रेका लागि आवश्यक सामग्री ढुवानी नभएको, आवश्यक जनशक्ति आउनजान गाह्रो भएको र काम नै रोक्नुपर्ने अवस्था आउन लागेको कार्यालय प्रमुख नेपालीले बताए । ‘सवारी पास नपाएर धेरै ठाउँमा काम ठप्प छ । मान्छे नहिँडी व्यवस्थापन गर्न सकिने ठाउँमा मात्र काम गरिरहेका छौँ,’ उनले भने । उनका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा समस्याबारे जानकारी गराइसके पनि कुनै सूचना आएको छैन ।

ad
ad