मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २५ शनिबार १८:२७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीको विकल्प खोज्ने प्रयास जारी छ : देउवा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २५ शनिबार १८:२७:००

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्न हरसम्भव प्रयास रहेको बताएका छन् । शनिबार बसेको संसदीय दलको बैठकमा सांसदहरूलाई बिफ्रिङ गर्दै देउवाले ओलीलाई विश्वासको मतमा असफल बनाएर कांग्रेसकै नेतृत्वमा वैकल्पिक सरकार गठनका लागि प्रयास भइरहेको बताएका हुन् ।

‘ओलीलाई विश्वासको मतमा असफल बनाउने हो, ओलीको विकल्प खोज्ने नै हो, भएसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने हो, पार्टीको निर्णय नै त्यही छ,’ देउवाले भनेका छन् । देउवाले विश्वासको मतमा ओलीलाई असफल बनाइसकेपछिको अवस्थाबारे कानुनविद् र शीर्ष नेताहरूसँग छलफल गरेर अघि बढ्ने बताएका छन् । 

देउवाले ओली नेतृत्वको सरकारले सम्पूर्ण संवैधानिक र राजनीतिक हैसियत गुमाइसकेकाले विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएका छन् । यस्तै, बैठकले प्रधानमन्त्रीलाई विश्वासको मतमा असफल बनाउन अन्य दलहरूलाई समेत आह्वान गरेको छ । 

कांग्रेसकी सचेतक पुष्पा भुषालले बैठकले विश्वासको मतमा प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने र विपक्षमा मतदान गर्न आह्वान गर्ने तथा आफ्नै नेतृत्वमा वैकल्पिक सरकार बनाउन पहल गर्ने निर्णय गरेको जानकारी दिइन् । 

बैठकले सरकारले संसदलाई छलेर असंवैधानिक रुपमा अध्यादेशहरू जारी गरेको भन्दै आपत्ति जनाएको छ । असंवैधानिक रुपमा जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबमोजिम बोलाइएको आइतबारको परिषद् बैठकमा सहभागी नहुने निर्णय गरेको भुषालले बताइन् । 

बैठकमा कोभिड–१९ को महामारी रोकथाम, नियन्त्रण र संक्रमितको उपचारका विषयमा समेत छलफल भएको छ । कांग्रेसले सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै आपत्ति जनाएको छ ।

‘महामारीले जनता मरिरहेका छन्, सरकार गैरजिम्मेवारी भएर प्रस्तुत भएको छ, खोप खरिदमा कमिसनको चक्करमा फसेको सरकारले अस्पतालमा बेड, अक्सिजन र भेन्टिलेटर राख्न सकेको छैन । गरिब, मजदुर र किसान भोकभोकै परिरहेका छन्,’ बैठकका निर्णय सुनाउदै सचेतक भुषालले भनिन्, ‘निषेधाज्ञाबाट प्रभावितलाई राहतको कार्यक्रम ल्याउन, अक्सिजन, अस्पतालमा बेड र खोपको उचित प्रबन्ध गरेर जनताको जीवनरक्षा गर्न आग्रह गर्ने निर्णय भएको छ ।’