मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १८ शुक्रबार
  • Friday, 01 March, 2024
सोमत घिमिरे
२०७८ बैशाख १६ बिहीबार ०९:४०:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मार्क्सवादको शवयात्रा

Read Time : > 4 मिनेट
सोमत घिमिरे
२०७८ बैशाख १६ बिहीबार ०९:४०:००

मन्त्री हुने लोभमा सांसदले दलबदल गर्नु जति अपराध हो, त्यति नै अपराध हो सरकार टिकाउन प्रयोग गरिने सैद्धान्तिक आवरण

नेकपा स्थापना भएको तिथिमितिको ठीकअघि पारेर खड्गप्रसाद ओलीले बालुवाटारमा विधि–विधानपूर्वक धुमधामसँग पुजाआजा गरे । रामसीताको मूर्तिलाई रथयात्रा गराई ‘पवित्र भूमि’ देवघाटमा मन्त्रउच्चारण गरी, जलसेचन गरेर पर्यटनमन्त्रीको उपस्थितिमा माडी पुर्‍याइयो । बढो धुमधामपूर्वक । मुलुकमा कोरोना कहर छ । स्वास्थ्य संस्थाहरूमा केही छैन । अक्सिजन छैन, भेन्टिलेटर छैन । तर, प्रधानमन्त्रीको ध्यान यी जनचासोको विषयमा होइन, अयोध्यालाई माडी सार्नेमा छ । नेकपाको स्थापनाको दिनभन्दा ठीकअगाडि गरेको यस्तो कर्मको सन्देश के होला ? प्रस्टसँग बुझ्न सकिन्छ । 

राम र सीताको रथयात्रामार्फत उनले प्रस्ट रूपमा माक्र्सवादको शवयात्रा गरे । सिंगो ओली पक्षधर नेकपा (एमाले) मार्क्सवादको शवयात्राको मलामी बन्यो । एमालेको आदर्श अब माक्र्स, लेनिन, माओ कोही होइनन् । पुष्पलाल र मदन भण्डारी जाबोको त के कुरा, राम र सीताको नै रथयात्रा गरिसकेपछि । माक्र्सवादको चिहान भनौँ या आर्यघाट प्रचण्डको निर्वाचन क्षेत्र माडीलाई रोजे उनले । यो कागताली हो कि उनको रणनीतिक यात्रा हो, यसै भन्न सकिन्न । जे होस् माडीलाई नै रोजे ।

तर, एउटा अनौठो कुरा राम र सीताको मूर्तिको रथयात्रामा ओलीले दुईवटा मूर्ति भने छुटाए । यो कसको पालामा भनेर अभिलेखीकरणका लागि रामको भन्दा थोरै सानो उनले आफ्नो पनि मूर्तिको रथयात्रा गराउनुपथ्र्यो । यो रथयात्राका बखत को राष्ट्रपति थिए भनेर भावी पुस्ताले पनि जान्न विद्या भण्डारीको मूर्ति पनि छुट्नु हुँदैन थियो । माडीमा पनि गजब देखिन्थ्यो । अलिकति ठूलो मूर्ति राम(सीताको । अलिकति सानो ओली–विद्याको । यसो भयो भने राम र सीताको धार्मिकता पनि आउने । राष्ट्रपति र प्रधानमन्त्रीको पौरख पनि झल्किने । प्रधानमन्त्रीज्यू, तपाईंका सल्लाहकारले यो सल्लाह दिन सकेनन् । अलिकति तपाईंको कमजोरी र अलिकति सल्लाहकारको कमजोरी भइसक्यो । महेश, गोकुलले त दिन सकेनन्, मलाई झोक जबजका व्याख्याता शंकर पोखरेलसँग चलेको छ । 

प्रदीप ज्ञवाली पनि गरी खाने होइनन् भन्ने यही प्रकरणले छाप गर्न थालेको छ । शंकर पोखरेलले त एउटा पुस्तक नै लेख्नुपर्ने– जबजको विकास : रामसीता/केपीविद्या । यतिवेला पाठकहरूले यो पुस्तक पढ्न पाइसक्नुपर्ने थियो । तर, शंकरले पनि मुख्यमन्त्रीको व्यस्तता र कुर्सी जोगाउनुपर्ने कारणले भ्याऊन् पनि कसरी । सैद्धान्तिक आवरणमा सरकार टिकाउन मन्त्री थप्नुपर्‍यो । मन्त्री हुने लोभमा सांसदले दलबदल गर्नु जति अपराध हो, त्यति नै अपराध हो सरकार टिकाउन प्रयोग गरिने सैद्धान्तिक आवरण । तर, रामसीतावाला जबजले के भन्छ, शंकरको विश्लेषण कुर्नुपर्ला । उनले सैद्धान्तिक ढाँचामा पक्कै देलान् ।

खड्गप्रसाद ओली नेपाली राजनीतिका जन्ती होइनन् । गणतन्त्रको जन्तीमा उनी कोठामा बसेर अमेरिका र बयलगाडाको प्रसंगमा व्यस्त थिए । नेपाली नागरिक संघीयताको उत्सवमा जन्ती जाँदा जातीय राज्य चाहिँदैन भन्दै थिए उनी । जतिवेला नेपाली समाजले गणतन्त्रको, संघीयताको, धर्मनिरपेक्षताको, समावेशीको उत्सव मनाएको थियो, त्यतिवेला उनी कतै चुपचाप थिए । तिकडम, षड्यन्त्र र शक्तिकेन्द्रको आडबाट राजनीतिमा आएपछि राजनीतिक रथको पांग्रोलाई अलिकति पछाडि फर्काउन के सफल भएका थिए मार्क्सवादको शवयात्रा गराइहाले । अब उनीसँग शवयात्राको सूची छ । 

मोदीको काखमै पुग्न धर्मनिरपेक्षताको शवयात्राको चाँजोपाँजो मिलाइरहेका होलान् । मोदीले हप्काउन थालेको पनि धरै भइसक्यो । अब मोदीलाई धेरै आलटाल गर्न पनि गाह्रो छ । त्यसैले उनले एकै प्याकेजमा धर्मनिरपेक्षताको, संघीयताको, समावेशीताको, समाजवादको एकैचोटी शवयात्रा गर्न सक्छन् । खाँटी हिन्दु पूजारीले साइत तोकिदिएको समयमा मोदीसँग अनुमति लिएर यी सबै काम फत्ते गरे भने अनौठो हुनेछैन । 

संघीयताको शवयात्रामा एउटा रमाइलो हुने सम्भावना छ । शवयात्राको अग्रभागमा ओलीविद्या देखिनेछन् । दोस्रो भागमा मुख्यमन्त्रीहरू देखिनेछन् । संघीयताको अवधारणा र अभ्यासले मुख्यमन्त्री भएकाहरू आफ्नो शवको आफैँ मलामी जाने अनौठो दृश्य हामीले हेर्नुपर्नेछ ।

मार्क्सवादको शवयात्रा गरेको केही दिनमै ओली र माधवको भेट भयो । दुवैका कडा अडानका साथ, अडान कुनै सैद्धान्तिक पक्षमा होइन, माधव नेपालले बहादुरीपूर्वक भने म बालुवाटार आउन्न । ओलीले पनि यसै नेपाल निवास नजाने चट्टानी अडान राखे । क्या गजब अडान । ठाउँ तय भयो, सांसद अपहरण गर्न प्रयोग गरिएको मेरियट होटल । वार्तास्तर र होटलको चरित्र मिलेकै देखियो । पहिला सांसद अपहरण गर्न प्रयोग गरिएको होटल अहिले माधव अपहरण गर्न प्रयोग भयोे । संवाद र वार्ता त्योसँग हुन्छ, जोसँग ९९ विषयमा असहमति भएर, एक विषयमा मात्र भए पनि सहमति हुन्छ । विगत चार महिनाका माधवका भनाइ सुन्ने हो भने सहमतिको एउटा विषय पनि फेला पर्दैन, तर वार्ता हुन्छ । माधवले नबुझेको तथ्य के हो भने ओलीलाई पार्टी चाहिएको छैन । ओलीलाई सहयोद्धा वा कार्यकर्ता पनि चाहिएको छैन । चाहिएको छ त आफ्नो तबेलामा बस्ने घोडाहरू, जसरी महेश, गोकुल र कोमल ओलीहरू बसेका छन् । 

ओलीका तबेलामा केही घनघोर जोधाहा घोडाहरू छन्, जसले तबेलै सानो छ भन्न सक्नेछन् । सबै घोडालाई चारो पुग्दैन भन्न पनि सक्नेछन् । साँच्चैका घोडाले दाना खान्छन् भने ओलीका तबेलाका घोडाहरूले सांसद, मन्त्री खान्छन्, जो थोरै संख्या पनि छ । ओलीका खाँटी घोडाहरूको तर्क नाजायज पनि छैनन् । यस अर्थमा माधव नेपाल बिच्किने सम्भावना भने प्रशस्तै छ । किनभने उनी अपेक्षाकृत ओलीभन्दा सज्जन छन् । अझ भन्न सकिन्छ, नेपाल र ओलीको ध्रुवीकरण असल र खराबको नै छ । माधव, घनश्याम वा योगेशले अहिले नै आत्मसमर्पण गरिहाल्लान् भन्न चाहिँ सकिँदैन । 

संघीयताको शवयात्रामा एउटा रमाइलो हुने सम्भावना छ । शवयात्राको अग्रभागमा ओली–विद्या देखिनेछन् । दोस्रो भागमा मुख्यमन्त्रीहरू देखिनेछन् । संघीयताको अवधारणा र अभ्यासले मुख्यमन्त्री भएकाहरू आफ्नो शवको आफैँ मलामी जाने अनौठो दृश्य हामीले हर्नेुपर्नेछ । दृश्य हेर्न बाँकी नै के छ र, एमाले नामधारी पार्टीको मुख्य नेताले नै भव्यतापूर्वक माक्र्सवादको शवयात्रा गराइसकेपछि । मुख्यमन्त्रीहरू खड्गप्रसादका निजी सचिवभन्दा माथि उठ्न सकेनन् । मुख्यमन्त्री देखेर संघीय अभ्यास नै कोमामा पुगेको छ । संघीयतालाई विरूप र भ्रष्ट बनाउन प्रधानमन्त्री ओलीको जति हात छ, त्यति नै ओलीनिकटका मुख्यमन्त्रीहरूको पनि छ । 

हाम्रो संघीय अभ्यासले, जबजले नयाँ सैद्धान्तिक मार्गको प्रक्षेपण गर्‍यो– जबज : रामसीता/केपीविद्या । कम्युनिस्ट आन्दोलनभित्र विचारको विकास भन्ने ठूलै मान्यता छ । अरू कसैले विचारको विकास गर्न सकेनन्, यस अर्थमा ओली गुटले छलाङ नै मार्‍यो जबजः रामसीता/केपीविद्याको सैद्धान्तिक विकास गरेर । कसैका घरमा मदन भण्डारी, पुष्पलाल वा मनमोहनको फोटो छ भने रामसीता र केपीविद्याको फोटो टाँस्नुपर्ने अन्तरपार्टी निर्देशन प्रवक्ता प्रदीप ज्ञवालीले निकट भविष्यमै गर्नेछन् ।

अलिकति ओलीशैली सापटी लिएर भनौँ– मलाई अचम्म लाग्थ्यो, ताजुव लाग्थ्यो, अनौठो लाग्थ्यो, स्थानीय सरकारका जननिर्वाचित पदाधिकारीहरू पनि ओलीका पछाडि देखेर । पटक–पटक ओलीले भनेका छन्, यो स्थानीय सरकार होइन, केन्द्रको एकाइ हो । मलाई लाग्थ्यो, अरू सबै ओलीको पक्षमा लागे पनि स्थानीय सरकारका प्रतिनिधिहरू लाग्दैनन् होला । उनीहरू संघीयताको जगमा उभिएका छन् । संघीयताको अभ्यासले उम्रन पाएका छन् । तर, अब रामसीताको सैद्धान्तिक विकास पछाडि र मुख्यमन्त्रीहरू संघीयताको मलामी जान तयार भएपछि विचरा स्थानीय सरकारसँग म अचम्मित हुन छाडेको छु । जबजः रामसीता/केपीविद्याको सैद्धान्तिक चामत्कारिक विकासले धेरै मुद्दाको शवयात्रा हेर्नुपर्ने चुरो कुरा बुझेपछि अचम्म लाग्ने प्रश्नै आएन ।