
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले जेन–जी प्रदर्शनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि स्रोतको अभाव नहुनेसमेत उनले उल्लेख गरे । बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नयाँ कार्यसमितिलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् । ‘पुनर्निर्माणका लागि ठुलो स्रोत आवश्यक छ, यद्यपि त्योभन्दा महत्वपूर्ण विषय सुशासन र प्रशासनिक कार्यक्षमतामा सुधार हो,’ उनले भने ।
प्रदर्शनका क्रममा निजी क्षेत्रमाथि पनि आक्रमण हुनुले व्यवसायीमा चिन्ता थपिए पनि अब निजी क्षेत्रको मनोबल उच्च बनाउँदै अगाडि बढ्नुको विकल्प नभएको उनले बताए । ‘प्रदर्शनका क्रममा कैयौँ निजी व्यापारिक भवनमा क्षति पुगेको छ, तर अब हाम्रो प्राथमिकता स्वदेशमा लगानीको वातावरण निर्माण गरी विदेशी लगानी आकर्षित गर्नमा हुनुपर्छ, त्यसैले सुरुमा स्वदेशको लगानीलाई यहीँ रोक्ने वातावरण बनाउन सकियो भने अर्थतन्त्रमा गतिशील हुन लामो समय लाग्दैन,’ गभर्नर पौडेलले भने । उनले अर्थतन्त्रको विकासका लागि राजनीतिक स्थायित्व, लगानीमैत्री वातावरण, निजी क्षेत्रको मनोबलमा अभिवृद्धि आवश्यक भएको समेत उल्लेख गरे । साथै, व्यवसायी जेगाउन अर्थतन्त्रको प्रणालीमै सुधार जरुरी रहेको उनको भनाइ थियो ।