
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज टेलिफोन वार्ता भएको छ। मोदीले शुक्रबार नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको उपलक्ष्यमा पहिलोपटक सार्वजनिक रूपमा शुभकामना दिएका छन् ।
मोदीले हालै नेपालमा भएका जेन–जी पुस्ताको प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। मोदीले नेपालमा शान्ति र स्थायित्व कायम गर्न प्रधानमन्त्री कार्कीले गरेको प्रयासमा भारतले निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
फोनवार्ता न्यानो एवं सौहार्दपूर्ण भएको मोदीले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् । प्रधानमन्त्री मोदीले भोलि (असोज ३) नेपालको राष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री कार्की तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् ।