मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असोज २ बिहीबार o७:४१:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संविधान दिवसमा प्रमुख दलका खबरदारी कार्यक्रम 

नयाँ सरकार गठन गर्दा राष्ट्रपतिले संविधान र व्यवस्था बचेको भन्दै चुनावी तयारीमा जुट्न आह्वान गरे पनि दलहरू अझै सशंकित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असोज २ बिहीबार o७:४१:oo

जेन–जी आन्दोलनले सत्ता पलट हुँदै संसद् विघटन भएपछि सामूहिक रूपमा विघटनको विरोध गरेका प्रमुख तीन दलले संविधान दिवसलाई खबरदारी सचेतना कार्यक्रमका रूपमा मनाउने तयारी गरेका छन् । प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीले विकसित नयाँ राजनीतिक घटनाक्रमलाई ध्यान दिएर सचेतना कार्यक्रममार्फत संविधान दिवस बनाउने तयारी गरेका हुन् । 

तीनवटै दलले पार्टी र भ्रातृ संस्थाका तल्ला संरचनासम्म संविधानका उपलब्धि जोगाउन र प्रतिगमनको खतरा रोक्न शान्तिपूर्ण रूपमा विशेष कार्यक्रम आयोजना गरेर मनाउन निर्देशन दिएका छन् । संविधानमाथिको आक्रमण र हस्तक्षेपविरुद्ध सचेतता कार्यक्रम आयोजना गर्न लागिएको दलहरूको दाबी छ । नयाँ सरकार गठन गर्दा राष्ट्रपतिले संविधान र व्यवस्था बचेको भन्दै चुनावी तयारीमा जुट्न आह्वान गरे पनि दलहरू अझै सशंकित छन् । 

विघटित संसद्को पहिलो दल कांग्रेसले केन्द्रदेखि ७७ वटै जिल्लामा भ्रातृसंस्थाहरूको संयुक्त आयोजनामा दिवस मनाउन निर्देशन दिएको छ । उपसभापति पूर्णबहादुर खड्काले सबै जिल्लामा सर्कुलर गरिएको बताए । ‘सबै भ्रातृसंस्थाले संयुक्त रूपमा ७७ वटै जिल्लामा शान्तिपूर्ण तरिकाले संविधान हातमा लिएर संविधान दिवस मनाउने तयारी गरेका छन् । अत्यन्त संयमतापूर्वक, दृढतापूर्वक संविधानको रक्षा गर्ने जिम्मेवारीलाई शिरमा राखेर संविधान दिवस मनाउने निर्णय भएको छ । पार्टीका क्षेत्रीय सभापति, जिल्ला सभापतिलगायत सबैलाई अह्वान गरेका छौँ,’ खड्काले बुधबार केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग भने । 

प्रचार विभाग प्रमुख मीन विश्वकर्माले संविधानमाथि आक्रमण हुन लागेकाले यसपटक विशेष दिवसका रूपमा खबरदारी र सचेतना कार्यक्रम गरी मनाउन लागिएको बताए । ‘संविधानमाथि आक्रमण हुन लागेकाले यस वर्षको संविधान दिवस विशेष रूपमा मनाउने तयारी गरिरहेका छौँ,’ उनले भने, ‘केन्द्रदेखि, प्रदेश, जिल्ला र स्थानीय तहहरूमा संयुक्त रूपमा प्लेकार्डसहितको प्रदर्शन, गोष्ठी, छलफल र अन्तत्र्रिmयाहरूजस्ता कार्यक्रम आयोजना गरेर मनाउन निर्देशन दिएका छौँ ।’ आवश्यकताअनुसार प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गर्नसमेत कांग्रेसको निर्देशन छ । 

यस्तै, एमालेले केन्द्रीय कार्यालय, च्यासलस्थित भग्नावशेष केन्द्रीय कार्यालयमै विशेष कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाउने तयारी गरेको छ । उसले सबै जिल्लालाई लोकतान्त्रिक गणतन्त्रको रक्षाको प्रतिबद्धतासहित दिवस मनाउन सर्कुलर गरेको छ । दिवस मनाउने तयारीकै सिलसिलामा बुधबार महासचिव शंकर पोखरेलले सबै केन्द्रीय विभागका इन्चार्ज र प्रमुख, सबै भ्रातृ संगठनका इन्चार्ज र अध्यक्ष, बागमती प्रदेश, सम्पर्क समन्वय कमिटी र उपत्यका विशेष कमिटीका इन्चार्ज र प्रमुखलाई प्रभावकारी तयारी गर्न निर्देशन दिएका छन् ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संविधानका उपलब्धिको चर्चा गर्दै लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि ७७ वटै जिल्लामा बृहत् सहभागितामा सभाहरू आयोजना गरेर दिवस मनाउन लागेको बताए । त्यस्तै, संविधान दिवस खबरदारी सभाका रूपमा मनाउन तथा यसका लागि तयारीमा जुट्न एमालेले सर्कुलर गरेको छ । 

‘भदौ २३ र २४ मा घटेका दु:खद घटनाका कारणले राजनीतिक परिस्थितिले असहज बन्न पुगेको छ । आन्दोलनका नाममा संवैधानिक व्यवस्थालाई कमजोर बनाउन सुनियोजित षड्यन्त्रहरू भइरहेका छन् । युवाहरूको माग र चाहनाविपरीत मुलुकलाई प्रतिगमनतिर धकेल्ने प्रयत्न भइरहेको छ,’ महासचिव पोखरेलले सर्कुलरमा भनेका छन्, ‘यस्तो अवस्थामा संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि असोज ३ मा संविधान दिवसको कार्यक्रम पार्टीका तर्फबाट सबै जिल्लाहरूमा भव्यतापूर्वक मनाउने र काठमाडौं उपत्यकाको हकमा पार्टीको केन्द्रीय कार्यालय च्यासलको प्रांगणमा कार्यक्रम आयोजना गरिनेछ ।’ 

त्यस्तै, माओवादी केन्द्रले पनि संविधानमाथिको आक्रमण र हस्तक्षेपविरुद्ध सचेतनाकै रूपमा कार्यक्रम आयोजना गरेर देशैभर मनाउने तयारी भएको जानकारी दिएको छ । ‘केन्द्रीय कार्यालय र विभिन्न स्थानका पार्टी कार्यालयसहित उपयुक्त ठाउँहरूमा जम्मा भएर सहिदहरूलाई श्रद्धाञ्जली दिने र संविधानमाथिको आक्रमण र हस्तक्षेपविरुद्ध सचेतना कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाउने तयारी छ,’ महासचिव देव गुरुङले भने ।

सरकारले टुँडिखेलमा संविधान दिवस मनाउने 
जेन–जी आन्दोलनपछि उत्पन्न नयाँ परिस्थितिमा गठित अन्तरिम सरकारले टुँडिखेलस्थित सैनिक मञ्चमा औपचारिक कार्यक्रम गरेर नै संविधान दिवस मनाउने भएको छ । यसअघिको सरकारले तामझामसहित संविधान दिवस मनाउने तयारी गरे पनि परिस्थिति फेरिएपछि सामान्य कार्यक्रम गरी मनाउन लागिएको हो । 

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग समन्वय गरेर संविधान दिवसमा गरिने विभिन्न कार्यक्रम तय भएको गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले बताए । राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति, सभामुखलगायत सबैलाई संविधान दिवसको कार्यक्रमबारे जानकारी भइसकेको छ । ‘अहिलेको दु:खको समयमा सामान्य कार्यक्रम गरेर संविधान दिवस मनाउने तयारी छ, विगतमा जस्तो नाचगानजस्ता कार्यक्रम पनि हुँदैनन्,’ गृहका एक अधिकारीले भने । 

संविधानको एक दशकको अवसरमा सडकमा झाँकी निकाल्नेदेखि कन्सर्टसम्म गर्ने अघिल्लो सरकारको तयारी थियो । संविधान दिवस मनाउन अघिल्लो सरकारले मूल समारोह समिति नै गठन गरेको थियो । तर, अन्तरिम सरकारले टुँडिखेलमा सामान्य कार्यक्रम गरेर मनाउने निर्णय गरेको हो । प्रदेश र जिल्लास्तरमा पनि संविधान दिवस मनाउन यसअघि नै परिपत्र भइसकेको छ । ३ असोज ०७२ मा संविधानसभाबाट संविधान जारी भएको थियो ।