मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ बैशाख १० शुक्रबार १६:०१:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोनाका बिरामी : अस्पतालमा लिएन भर्ना, स्थानीय सरकारले दिएन चासो

Read Time : > 3 मिनेट
२०७८ बैशाख १० शुक्रबार १६:०१:००

१३ दिनअघि दमक–१ का धर्मप्रसाद कोइराला र उनकी श्रीमती मेनुकालाई कोरोना संक्रमण देखियो । उनीहरूमा लक्षणसहित संक्रमण देखियो । बिरामले सताएपछि कोइराला दम्पतीले दमकस्थित एक अस्पतालमा जाँच गराए । ठीक हुने छाँटकाँट नपाएपछि उनीहरू विराटनगरस्थित नोबेल अस्पताल पुगे । ‘नोबेलमा कोरोना जाँच्नु अनि उपचार गरौँला भने । कोरोना पोजेटिभ देखियो,’ धर्मप्रसाद भन्छन्, ‘नोबेलमा राख्न मानेन । धरानको घोपा (वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) गयौँ । त्यहाँ ठाउँ छैन भने । हामी घर आयौँ ।’ 

नोबेलमा कोरोना पोजेटिभ देखिएपछि नोबेलले स्वास्थ्य कार्यालय झापालाई जानकारी गरायो । उनलाई झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले सम्पर्क गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिए । तर, केही सहयोग गरेनन् । अस्पतालले भर्ना नलिएपछि धर्मप्रसाद घर फर्किए । दम्पत्तिमै लक्षण थियो । उनीहरूलाई सबैभन्दा धेरै श्वासप्रश्वासमा समस्या थियो । ‘सुरुमा त मर्छु कि जस्तै भएको थियो । अहिले त धेरै ठीक भएँ,’ उनी भन्छन्, ‘अक्सिजनचाहिँ कसरी व्यवस्था गर्ने भन्नेमा थिएँ । बल्ल आफैँ किनेर घरमै ल्याएँ ।’ संक्रमण देखिएपछि राज्य र स्थानीय तहबाट कुनै सहयोग नभएको उनी बताउँछन् । ‘राज्यको तर्फबाट केही सहयोग भएन । स्थानीय सरकारले त फोन घरेर कस्तो छ पनि भनेन,’ उनी भन्छन्, ‘राज्यको तयारी त केही रहेनछ । यत्रो पर्दा पनि चेत आएन छ । केही छैन शून्य ।’ 

सरकारी तथ्यांकमा दमक अस्पतालले ३० बेडको कोभिड अस्पताल चलाएको छ । जहाँ अक्सिजनसहितको व्यवस्था छ । तर, लक्षणसहित गाह्रो अवस्था भएका दमकका बिरामी होम आइसोलेसनमा बस्नुपरेको छ । ‘दमकमा अस्पताल छ रे ! तर, हाम्रा लागि रहेनछ । हामी तयारीमा छौँ भन्न किन अस्पताल देखाउनू ?,’ धर्मप्रसाद भन्छन् ।

झापामा कोरोना रोकथामका लागि खासै पूर्वतयारी देखिँदैन । केही स्थानीय तहले आइसोलेसन र क्वारेन्टाइन बनाएका छन् । तर, त्यहाँ संक्रमित राखिएको छैन । संक्रमित होमआइसोलेसनमा पीडादायी समय बिताइरहेका छन् । कतिपय स्थानीय तहले त क्वारेन्टाइनसमेत बनाएका छैनन् । 

दुई सय १५ बेड क्वारेन्टाइ,  एक सय ९३ आइसोलेसन
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार जिल्लामा २१५ बेडको क्वारेन्टाइन र १९३ आइसोलसन सेन्टर स्थानीय तहले बनाएका छन् । तर, एक जना बिरामी पनि क्वारेन्टाइन र आइसोलेसनमा बस्न पाएका छैनन् ।  जिल्लाको मेची अस्पतालमा ७५ बेडको आइसोलेसन सेन्टर छ । जहाँ २५ बेड अक्सिजनसहितको छ । यस्तै दमक नगरपालिकामा ६० बेडको क्वारेन्टाइन र ३० बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर छ । जसलाई दमक कोभिड अस्पताल नाम दिइएको छ । तर, यो अस्पताल बन्द छ । अस्पतालको बेड नपाएर कोरोनासँग लडाईं गरिरहेका बिरामीसमेत राख्ने क्षमता छैन, दमक अस्पतालसँग । ‘यो स्थानीय तहले चलाएको कोभिड अस्पताल हो । अरू ठाउँमा भरिएपछि मात्र यहाँ सुरु गर्छौँ,’ दमक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. खड्ग सुब्बा भन्छन्, ‘एक÷दुई जना बिरामी हुँदा खर्च धेरै हुन्छ । धान्न सक्ने अवस्था छैन । त्यही भएर अहिले बिरामी राख्दैनौँ ।’

यस्तै, भारतसँगको नाका रहेको मेचीनगर नगरपालिकामा अहिलेसम्म क्वारेन्टाइन छैन । यो नगरपालिकामा आइसोलेसन ३० बेडको रहेको प्रजिअ तिम्सिनाले जानकारी दिए । तर, स्थानीय तहले मात्र अब क्वारेन्टाइन धान्न नसक्ने मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य बताउँछन् । ‘पहिला धेरै खर्च भएको छ । अब त क्वारेन्टाइन स्थानीय तहले मात्र धान्न सक्ने अवस्था छैन,’ उनले भने, ‘त्यहीँमाथि हामी त नाकाको स्थानीय तह प¥यौँ ।’

यस्तै, बिर्तामोड नगरपालिकामा ५० बेडको क्वारेन्टाइन र ५ बेडको आइसोलेसन छ । शिवसताक्षी नगरपालिकामा २५ बेडको क्वारेन्टाइन र पाँच बेडको आइसोलेसन छ । गौरादहमा ३० बेडको क्वारेन्टाइन र २० बेडको आइसोलेसन तथा  गौरीगञ्जमा ५० बेडको क्वारेन्टाइन र ७ बेडको आइसोलेसन छ । कचनकवलमा १६ बेडको आइसोलेसन छ ।

भद्रपुर नगरपालिका, कनकाई नगरपालिका, अर्जुनधार नगरपालिका, झापा गाउँपालिका, बाह्रदशी, बुद्धशान्ति र हल्दिबारीले अहिलेसम्म क्वारेन्टाइन र आइसोलेसन बनाएका छैनन् । भएका क्वारेन्टाइन र आइसोलेसनमा पनि एक जना संक्रमित नभएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार बिहीबार साँझसम्म झापामा पछिल्लो समय कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । यस्तै, १०१ जना संक्रमित छन् । संक्रमितमध्ये ६ जना धरान र बिराटनगरमा उपचाररत छन् । बाँकी सबै होमआइसोलेसनमा छन् । 

भारतबाट आएर सीधै घर पुग्छन् संक्रमित, क्वारेन्टाइन नहुँदा जोखिम
पूर्वीनाका काँकडभिट्टा भएर दैनिक करिब एक हजार नेपाल भित्रन्छन् । भित्रिएका मध्ये ज्वरो आएकाको एन्टिजेन्ट परीक्षण गरिन्छ । पोजेटिभ आएकालाई छुट्टै गाडीमा अस्पताल वा घर पठाइन्छ । बाँकी काँकडभिट्टा बसपार्क पुग्छन् र गन्तव्यमा जान्छन् । जसका कारण जोखिम बढेको मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य बताउँछन् । ‘विगतमा नाका अलिक व्यवस्थित थियो । पारिबाट आउनेलाई लिन नाकामै गाडी पुग्थ्यो,’ उनी भन्छन्, ‘अहिले त्यति छैन । सिडिओ साब, समन्वय प्रमुखसहित समन्वय भइरहेको छ ।’ 

विगतमा भारतबाट आएका सीधै घर जान पाउँदैन थिए । तर, अहिले सीधै घर जान्छन् । उनीहरूले क्वारेन्टाइन पनि बस्नुपर्दैन । ‘यसले जोखिम बढाएको छ । हामीसँग स्रोत साधन छैन । केन्द्र सरकारसँग समन्वय भइरहेकोछ,’ प्रजिअ तिमिल्सिनाले भने, ‘नाकामा एक हजार अँट्न सक्ने क्षमताको होल्डिङ सेन्टर बनाउन माग गरिरहेका छौँ ।’

पूरा जोखिम भत्ता अझै आएन
गत वर्ष सरकारले चैतदेखि असारसम्म चार महिना खटिएका स्वास्थ्य कर्मचारीलाई जोखिम भत्ता दिने भनेको थियो । त्यसपछि कार्यविधि संशोधन गरेर साउनदेखि कोभिड अस्पता, पिसिआर ल्याबलगायतमा खटिनेलाई मात्र जोखिम भत्ता दिने निर्णय ग¥यो । तर, मेची अस्पतालका स्वास्थ्यकर्मीले एक वर्षसम्म पूरा जोखिम भत्ता पाएका छैनन् । 

‘हामीलाई प्रदेश सरकारले पठाउने हो । चार महिनामा दुई महिनाको पायौँ । ६५ लाख आएको थियो । त्यसलाई बाँड्दा दुई महिनाको पुग्यो । सरकारको हालत यस्तो छ । बाँकी महिले आउँछ टुंगो छैन,’ मेची अस्पतालका मेसु डा. पिताम्बर ठाकुरले भने, ‘साउनदेखि कोभिड अस्पताल र पिसिआरमा खटिनेलाई दिने भन्यो । अस्ति ३२ लाख आएको छ । यसले केही पुग्दैन । त्यही भएर बाँडेका छैनौँ । अब एक करोड आए मात्र सबै पुग्छ ।’

विगतमा जोखिम भत्ता आउने कुराले स्वास्थ्यकर्मी उत्साहित भए पनि यसपटक त्यति उत्साहित नरहेको उनी बताउँछन् । ‘पहिला त प्रोत्साह भत्ता आउँछ भनेर काम लगाउँदा जोखिममा पनि स्वास्थ्यकर्मीले उत्साहका साथ काम गरेका थिए,’ डा. ठाकुर भन्छन्, ‘तर, अहिलेसम्म पाएका छैनन् । त्यसले अलिक निरुत्साहित छ । हुन त हाम्रो जिम्मेवारी हो । तर, राज्यले बोलेको नपु¥याएपछि केही असर पर्ने रहेछ । यसपटक कसरी काम खटाउने भन्ने दोधारमा छौँ ।’