१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १८ बिहीबार
  • Thursday, 01 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख १८ बिहीबार o६:o६:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अख्तियार पुग्यो जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का विवाद 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १८ बिहीबार o६:o६:oo

१०६ मेगावाटको जगदुल्ला हाइड्रोपावर कम्पनीको ठेक्काको विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ । फर्जी कागजपत्रलाई स्वीकृत गरिएको र गोप्य आर्थिक दररेट पहिले नै सार्वजनिक गरिएको भन्दै निर्माण व्यवसायीले बुधबार उजुरी गरेका हुन् । 

प्राविधिक मूल्यांकनमा फेल भएको भारतीय कम्पनी एसआइएल–थ्रिएचसी जेभीले अख्तियारमा उजुरी गरेको हो । आफ्नो कम्पनीले १३ अर्ब ५० करोडको प्रस्ताव गरेकोमा त्यसलाई ‘लिक’ गरिएको उसको दाबी छ । सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट नै ह्याक गरेर आफूहरूको आर्थिक प्रस्ताव ‘लिक’ गरिएको दाबी गर्दै सो कम्पनीले आयोगमा उजुरी दर्ता गराएको हो ।

प्राविधिक मूल्यांकनमा पास भएका दुई चिनियाँ कम्पनीको आर्थिक प्रस्तावमा थोरै मात्र फरक भएकाले पनि मिलेमतोको आशंका गरिएको छ । चारवटा कम्पनी प्रतिस्पर्धामा रहेकोमा चारैवटाको आर्थिक प्रस्ताव पहिले नै बाहिरिएपछि विवाद भएको हो । 

ठेक्काको प्राविधिक मूल्यांकनमा पास भएको चिनियाँ कम्पनी ज्याङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसनलाई ऊर्जामन्त्री दीपक खड्कासहितको मिलेमतोमा ठेक्का दिन लागिएको आरोप लाग्दै आएको छ । सो कम्पनीले हालसम्म जलविद्युत्को काम नै नगरेको र अन्य कम्पनीले अफ्रिकी देशमा गरेको कामलाई पनि उसैले गरेको भनेर ठेक्का दिन लागिएको भन्दै प्राविधिक रूपमा छनोट भएको अर्काे चिनियाँ कम्पनी सिनोहाइड्रो कर्पाेरेसनले नै सार्वजनिक खरिद अनुगमनको कार्यालयमा उजुरी दिएको थियो ।  

२४ वैशाखमा खोल्ने भनिए पनि पहिले नै आर्थिक प्रस्ताव बाहिरिएपछि विवाद भएको हो । जगदुल्ला हाइड्रोपावर स्रोतका अनुसार ज्याङ्सी कन्स्ट्रक्सनले १२ अर्ब १५ करोड तथा सिनोले १३ अर्ब १४ करोडको प्रस्ताव गरेको छ । ज्याङ्सीले नक्कली कागजपत्र पेस गरेर प्राविधिक मूल्यांकनमा पास गराइएकाले ठेक्का प्रक्रिया नै रद्द गरेर नयाँ प्रक्रिया सुरु गर्न निर्माण व्यवसायीले माग गर्दै विभिन्न निकायमा उजुरी गरेका छन् । 

जगदुल्लाकै ठेक्कामा मन्त्रालयमै रकम लेनदेन गरेको आरोप मन्त्री खड्कामाथि लागेको थियो । त्यतिवेला रद्द गरिएको ठेक्का फेरि विवादमा परेको छ । मन्त्री खड्का र जगदुल्लाका सिइओ सञ्जय सापकोटामाथि छानबिनको माग गरी उजुरी परेको छ ।