१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १९ शुक्रबार
  • Friday, 02 May, 2025
बिहीबार साँझ विश्वविद्यालयको होस्टेलमा मृत भेटिएकी वीरगन्जकी १९ वर्षीया प्रिसा साह
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख १९ शुक्रबार o६:o१:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ओडिसाको किटमा फेरि नेपाली छात्रा मृत फेला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १९ शुक्रबार o६:o१:oo

भारतको ओडिसा राज्यमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत एक अर्की नेपाली छात्रा मृत फेला परेकी छिन् । बिटेक प्रथम वर्षमा अध्ययनरत पर्साको वीरगन्जकी १९ वर्षीया प्रिसा साह विश्वविद्यालयको होस्टेलमा बिहीबार साँझ मृत भेटिएकी हुन् ।

किटमै अध्ययनरत रुपन्देहीकी २० वर्षीया प्रकृति लम्साल मृत फेला परेको साढे दुई महिनामा फेरि अर्काे घटना भएको हो ।

दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर सञ्जीव शर्मा दासले पनि विश्वविद्यालयको छात्रावासस्थित आफ्नै कोठामा प्रिसा मृत फेला परेको खबर प्राप्त भएको पुष्टि गरे । प्रिसाले आत्महत्या गरेको र ओडिसा प्रहरीले घटनाको अनुसन्धान थालेको जानकारी प्राप्त भए पनि विस्तृत कारण खुल्न नसकेको दासले बताए । 

भारतीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार होस्टेल प्रशासनले हाजिर लिने क्रममा क्रममा बिहीबार साँझ साढे सात बजे उनी बस्ने १११ नम्बर कोठाको ढोका ढकढकाउँदा पनि खुलेन । त्यसपछि बलपूर्वक ढोका खोलेर प्रवेश गर्दा उनी झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । परिवारका सदस्य आएपछि मात्र पोस्टमार्टम गर्ने गरी भुवनेश्वर प्रहरीले शव सुरक्षित राखेको दूतावासलाई जानकारी दिइएको छ ।

भुवनेश्वर–कटकका प्रहरी आयुक्त एस देवदत्त सिंहले छात्रा मृत फेला परेको जानकारी विश्वविद्यालयबाट प्राप्त भएपछि आफूहरूले अनुसन्धान थालेको बताएका छन् । ‘खुला आँखाले हेर्दा शरीरमा घाउचोट देखिएको छैन । तर, विज्ञ टोलीले अनुसन्धान गरिरहेको छ, अहिलेसम्म कुनै उजुरी नभएकाले अप्राकृतिक मृत्युको उजुरी दर्ता गरिएको छ,’ सिंहलाई उद्धृत गर्दै ओडिसाबाट सञ्चालित ओडिसा टिभीको अनलाइन संस्करणमा उल्लेख छ । केआइआइटीमा करिब ४० हजार विद्यार्थी अध्ययनरत छन्, तीमध्ये नेपाली विद्यार्थीको संख्या कम्तीमा १२ सय छ ।

दुर्व्यवहार र ब्ल्याकमेल हुँदा पनि कलेजले छानबिन नगरेपछि प्रकृतिले साढे दुई महिनाअघि गरेकी थिइन् आत्महत्या
केआइआइटी कलेजमा अध्यनरत रूपन्देहीको सिद्धार्थनगर नगरपालिका– ८ की २० वर्षीया प्रकृति लम्साल गत ४ फागुनमा मृत फेला परेकी थिइन् । आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकाबारे प्रकृतिले दुईपटक विश्वविद्यालय प्रशासनमा उजुरी दिँदा पनि कुनै सुनुवाइ नभएपछि मृत्युको बाटो रोजेकी थिइन् । विश्वविद्यालयकै एक भारतीय विद्यार्थीले केही समयदेखि प्रकृतिलाई ‘ह्यारेसमेन्ट’ गरिरहेका थिए । 

आफूमाथि भइरहेको दुर्व्यवहारबारे जानकारी गराउँदासमेत प्रशासनले चासो नलिएका कारण घटना भएको भन्दै विद्यार्थी आक्रोशित बनेका थिए । विरोध प्रदर्शन भएपछि कलेज प्रशासनले नेपाली विद्यार्थीलाई कुटपिट र दुर्व्यवहार गर्दै छात्रावासबाट निकालेको थियो । 

यो घटनाको तीव्र विरोध हुनुका साथै नेपालले भारतका लागि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) रोक्ने चेतावनी दिएपछि ओडिसा राज्य सरकारले छानबिन समिति नै बनाएर अनुसन्धान गरेको थियो भने फर्काइएका नेपाली विद्यार्थीलाई फिर्ता बोलाइएको थियो ।