१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाह निरीक्षण गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
कृष्ण रिजाल काठमाडौं
२o८१ बैशाख २३ आइतबार o९:४२:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

दोस्रोपटक थपिएको म्यादमा पनि  सकिएन चोभारको सुक्खा बन्दरगाह

Read Time : > 2 मिनेट
कृष्ण रिजाल, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:४२:oo

भौतिक प्रगति ७६ प्रतिशत, वित्तीय प्रगति ६१ प्रतिशत, ठेकेदारले थप तीन महिना समय माग्यो

सम्झौताअनुसार काम सम्पन्न भएको भए एक वर्षअघि नै काठमाडौंको चोभारमा सुक्खा बन्दरगाह सञ्चालनमा आइसकेको हुन्थ्यो । फेब्रुअरी २०२० मै निर्माण सम्पन्न हुनुपर्ने सुक्खा बन्दरगाहको काम दुईपटक म्याद थपिसक्दासमेत सम्पन्न भएको छैन । अगस्ट २०१८ मा नेपाल इन्टरमोडल यातायात विकास समिति र ठेकेदार कम्पनी सांसी–आशिष जेभीबीच १८ महिनाभित्र काठमाडौं सुक्खा बन्दरगाह निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । सोअनुसार ठेकेदार कम्पनीले फेब्रुअरी २०२० मै सुक्खा बन्दरगाह निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने थियो । तर, सुरुको ६ महिना स्थानीयको अवरोधका कारण काम नै सुरु हुन सकेन । काम सुरु नभएपछि आयोजनाको म्याद सात महिना थपियो । पहिलोपटक थपिएको म्यादअनुसार सेप्टेम्बर २०२० मा सुक्खा बन्दरगाह निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर, यही समयमा कोरोना महामारीका कारण काम अगाडि बढ्न सकेन । काममा अवरोध आएपछि आयोजनाको म्याद पुनः थपियो । दोस्रोपटक थपिएको म्याद यही १३ वैशाखमा सकिँदै छ । तर, आयोजनाको काम भने अझै २५ प्रतिशत बाँकी छ । 

विश्व बैंकको सहयोगमा चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाहको म्याद सकिन एक साता मात्रै बाँकी छ । दोस्रोपटक थपिएको म्यादमा समेत काठमाडौं सुक्खा बन्दरगाहको निर्माण सम्पन्न नहुने निश्चित भएको छ । तर, हालसम्म आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत र वित्तीय प्रगति ६१ प्रतिशत मात्रै भएको छ । दोस्रोपटक थपिएको समयमा समेत सुक्खा बन्दरगाह निर्माणको काम सम्पन्न नहुने देखिएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । 

‘सुरुमा स्थानीयको अवरोध र त्यसपछि कोभिड महामारीका कारण काममा अवरोध भयो,’ गजुरेलले भने, ‘यस्ता विविध समस्याका बाबजुद ७६ प्रतिशत काम पूरा भएको छ, तर तोकिएकै समयमा भने काम पूरा नहुने देखिएको छ ।’ ठेकेदारले थप दुई महिना समय माग गरेको उनले जानकारी दिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले ३ माघ ०७५ मा सुक्खा बन्दरगाहको शिलान्यास गरेका थिए । अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि सुक्खा बन्दरगाह निर्माण गरिएको भन्दै प्रधानमन्त्रीले समयमै काम सक्न सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए । तर, स्थानीय अवरोध, कोरोना महामारी र ठेकेदारको सुस्त कामले सुक्खा बन्दरगाहको काम पूरा हुन सकेको छैन ।

असार मसान्तसम्म काम सक्ने 
काबुबाहिरको परिस्थिति (फोर्स मेजर) का कारण समयमै काम सम्पन्न हुन नसकेको ठेकेदार कम्पनीका प्रतिनिधि शेरबहादुर केसीले बताए । ‘हामीले समयमै काम सम्पन्न गर्ने गरी फिल्डमा कामदार, कर्मचारी तथा इक्विपमेन्टहरू परिचालन गरेका छौँ,’ उनले भने, ‘तर, सुरुमा स्थानीयको अवरोध र पछि कोभिडका कारण काम हुन सकेन, तर परिस्थिति सामान्य भएको अवस्थामा तीव्र गतिमा काम गरिरहेकै छौँ ।’ ठूला–ठूला संरचनाको निर्माण सम्पन्न भइसकेको र अब फिनिसिङका काम बाँकी रहेको उनले बताए । आगामी असार मसान्तसम्ममा काम सम्पन्न गरिसक्ने उनले दाबी गरे । 

लागत १२.८ प्रतिशतले बढ्यो 
समयमै काम सपन्न नहुँदा सुक्खा बन्दरगाहको लागत ११.८३ प्रतिशतले बढेको आयोजनाले जनाएको छ । आयोजनाको कुल लागत १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । सुरुमा गरिएको डिपिआरमा केही परिवर्तन आवश्यक भएको, स्थानीयका कारण काममा अवरोध भएकोलगायत कारणले आयोजनाको लागत बढेको ठेकेदार कम्पनीले जनाएको छ ।

समयमै काम सक्न सचिवको निर्देशन
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले तोकिएको समयमै काम सन्पन्न गर्न ठेकेदार कम्पनी र सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले सोमबार आयोजनाको निरीक्षण गर्दै कामलाई गुणस्तरीय बनाउनसमेत निर्देशन दिएका हुन् । त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा समितिका सदस्य राजेन्द्र मल्लले बन्दरगाहमा कोल्ड स्टोरको व्यवस्था गर्न आग्रह गरे । उनले निर्यातलाई सहजीकरण गर्ने गरी संरचना तथा प्रणाली बनाउन आग्रहसमेत गरे । 

यस्तो हुनेछ बन्दरगाह

साबिक हिमाल सिमेन्ट कम्पनीको चोभारस्थित जग्गामा निर्माणाधीन सुक्खा बन्दरगाह २ सय ६० रोपनी क्षेत्रफलमा फैलिएको छ । बन्दरगाहमा भन्सार, क्वारेन्टिन, बैंकलगायत निकायको उपस्थिति हुनेछ । भारत तथा चीनबाट आउने कन्टनेर सीधै काठमाडौं ल्याएर जाँचपास गर्न सकिने गरी सुक्खा बन्दरगाह निर्माण भइरहेको कार्यकारी निर्देशक गजुरेलले बताए । 

बन्दरगाहमा लोड–अनलोड भवन ३ वटा, गोदाम घर ३ वटा, प्रशासनिक भवन ३ वटा, कन्टेनर यार्ड, ट्रक पार्किङ, अन्य सवारी पार्किङलगायतका संरचना रहेका छन् । बन्दरगाहको कन्टेनर यार्डमा ४ सय ६४ वटा कन्टेनर राख्न मिल्छ । त्यस्तै, ३ सय ६० वटा ट्रकसमेत अटाउँछ । बन्दरगाहलाई काठमाडौं–मधेस द्रुत मार्ग (फास्ट ट्र्याक), विद्यमान काठमाडौं–चक्रपथ र निर्माण हुने भनिएको बाहिरी चक्रपथसँग जोडिनेछ ।

ad
ad