मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ जेठ २८ शुक्रबार
  • Friday, 11 June, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ४ शनिबार ०९:३६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सुर्तीजन्य पदार्थमा  कर बढाउनुपर्छ : मन्त्री ठगुन्ना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ४ शनिबार ०९:३६:००

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले सुर्तीजन्य पदार्थमा लाग्दै आएको करको दर बढाउनुपर्ने बताएका छन् । कर वृद्धि गरिँदा जनताको स्वास्थ्यमा हित र राजस्वसमेत वृद्धि हुने उनको भनाइ छ । 

एक्सन नेपाल, स्वास्थ्य पत्रकार मञ्च नेपाल र द युनियनको सहकार्यमा शुक्रबार काठमाडौंमा भएको अन्तरक्रियामा मन्त्री ठगुन्नाले वार्षिक २७ हजारभन्दा बढी नेपालीको ज्यान लैजाने सुर्तीजन्य पदार्थ प्रयोगलाई नियन्त्रण गर्न पनि कर बढाउनुपर्ने बताए । ‘सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनीले तिरेको राजस्वभन्दा दोब्बर बढी रकम हामीले सुर्तीजन्य पदार्थको सेवनले लाग्ने रोगको उपचारमा खर्च गर्ने गर्छाैँ,’ उनले भने, ‘सुर्तीजन्य पदार्थको सेवनबाट दैनिक ७५ जनाभन्दा बढीको मृत्यु हुँदा पनि यो विषय ओझेलमा परेको छ । कोभिडबाट अहिले दैनिक पाँच–सातजनाको मृत्यु भएको छ यो जनस्वास्थ्यको राष्ट्रिय मुद्दा बनेको छ ।’ यस विषयमा अर्थमन्त्री र स्वास्थ्यमन्त्रीसँग गम्भीर ढंगले छलफल गर्ने उनले बताए । 

नेपालमा सुर्तीजन्य पदार्थमा करको दर ३० प्रतिशतको हाराहारीमा छ । यो सार्क राष्ट्रमै सबैभन्दा कम हो । विश्व स्वास्थ्य संगठनले करको दर ७० प्रतिशत पु¥याउन सुझाब दिएको थियो । तर, यो सुझाब कार्यान्वयन भएको छैन । 

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्ने एक उपाय कर बढाउनु रहेको बताए । चुरोट सेवनमा मात्रै नेपालीले वार्षिक एक खर्ब ५३ अर्ब ३० करोड रुपैयाँ खर्च गर्ने गरेको उनले बताए । ‘हामी नेपाल गरिब छ भन्छौँ, तर यति धेरै रकम धुवाँमा उडाइरहेका छौँ,’ उनले भने । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नेपालले कम्तीमा ७० प्रतिशत कर सुर्तीजन्य पदार्थमा लगाउन स्वास्थ्य मन्त्रालयले दबाब सिर्जना गरिरहेको उनले बताए । 

आन्तरिक राजस्व विभागका उपमहानिर्देशक शम्भु मरासिनीले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न बनेको ऐन–नियम र अन्तःशुल्क ऐन–नियम हेरेर करको दरमा वृद्धि गर्न सकिने बताए । स्वास्थ्य अर्थशास्त्री डा. देवीप्रसाद प्रसाईंले नेपालमा सुर्तीजन्य पदार्थमा लागेको कर सार्कमै सबैभन्दा कम भन्दै त्यसलाई दोब्बरभन्दा बढीले वृद्धि गर्नुपर्ने बताए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले आफूहरूले गरेको अनुसन्धानले नेपालमा २८.३ जनाले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाएको बताए ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्माले आफूहरू सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि सचेतना बढाउने कार्यमा लागेको बताए । महानगरीय प्रहरी कार्यालय काठमाडौंका एसएसपी सन्दीप भण्डारीले कानुनमा भएका कुरा कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताए ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैद्यले सुर्तीजन्य पदार्थको सेवनका कारण २६ प्रकारका रोग निम्तिने बताए । सबैभन्दा बढी असर मुटु र फोक्सोमा गर्ने उनले बताए । विश्व स्वास्थ्य संगठनकी डा. लोनिम दीक्षितले सुर्तीजन्य पदार्थमा ७५ प्रतिशतसम्म कर बढाउन यसअघि नै संगठनले भनिसकेको भए पनि पालना नभएको बताइन् । 

एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सुर्तीजन्य पदार्थमा कर बढाउन अब पनि ढिलाइ गरे धेरै युवा कुलतमा फस्ने बताए । कर बढाउँदा धूमपान त्याग्ने दर पनि बढ्ने र राजस्व पनि बढ्ने उनको भनाइ छ ।