१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अर्जुन अधिकारी काठमाडाैं
२०७८ बैशाख २ बिहीबार ०६:२४:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चिनियाँ खोप लगाउन जहाज चढेर नेपाल आउन थाले भारतीय व्यापारी

Read Time : > 2 मिनेट
२०७८ बैशाख २ बिहीबार ०६:२४:००

भारतमा चिनियाँ खोप उपलब्ध छैन, चीनले आफ्नो खोप नलगाएका विदेशीलाई भिसा दिएको छैन त्यसैले चीनबाट सामान आयात गर्ने भारतीय व्यापारी खोप लगाउन नेपाल आउन थालेका छन् 

चिनियाँ खोप लगाउन भारतीय व्यापारी जहाज चढेर नेपाल आउन थालेका छन् । भारतमा चिनियाँ खोप उपलब्ध छैन, चीनले आफ्नो खोप नलगाएका विदेशीलाई भिसा दिएको छैन त्यसैले चीनबाट सामान आयात गर्ने भारतीय व्यापारी खोप लगाउन नेपाल आउन थालेका हुन् ।

२० भारतीय व्यापारीले मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग केन्द्रमा चिनियाँ ‘भेरोसेल’ खोप लगाएका छन् । ‘चीनमा व्यापार गरेको कार्डका आधारमा हामीले उनीहरूलाई खोप लगाइदियौँ । पछि उनीहरू भारतबाट खोप लगाउन मात्रै नेपाल आएको पुष्टि भयो,’ टेकु अस्पतालका एक चिकित्सकले भने, ‘यसरी टेकु अस्पतालमा मात्रै होइन, काठमाडौंका अन्य र काठमाडौंबाहिरका खोप केन्द्रमा पनि ठूलो संख्यामा भारतीय व्यापारीले खोप लगाएका हुन सक्छन् ।’ 

टेकु अस्पतालका स्वास्थ्यकर्मी शंकर पाण्डेका अनुसार बुधबार पनि टेकुु अस्पतालमा ३० जना भारतीय व्यापारी खोप लगाउन आएका थिए । चिकित्सकहरूले नागरिकताविना लगाउन नसक्ने बताएपछि उनीहरूले ‘हिजोचाहिँ किन लगाएको त’ भनेर विवादसमेत गरेका थिए । विवादपछि अस्पताल प्रशासनले बुधबार खोप सेवा बन्द गरेको थियो । 

टेकु अस्पतालका निर्देशक सागरराज भण्डारीले भारतीयहरूको दबाब बढेपछि बुधबार खोपसेवा नै बन्द गरिएको बताए । ‘चिनियाँ अनुदानमा प्राप्त भेरोसेल खोप नेपाल–चीनबीच व्यापार गर्ने नेपाली नागरिक, चीनमा अध्ययन गर्ने विद्यार्थी र चीनको सिमानामा बसोवास गर्ने नेपालीले मात्रै पाउने हो, गैर नेपालीले खोप पाउनुहुन्न भनेका छौँ ।’ 

चीन सरकारले आठ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो । गत २५ चैतदेखि यो खोप लगाउन थालिएको हो । सरकारले हिमालपार व्यापार गर्ने, चीनमा अध्ययन गर्ने विद्यार्थी र चीनको सीमा क्षेत्रमा बसोवास गर्ने नेपालीलाई प्राथमिकतामा राखेर चिनियाँ खोप लगाइरहेको छ । त्यस्तै, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, औषधि, फलफूल र तरकारी व्यापारी, प्राध्यापक, होटेल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्तिलाई पनि सरकारले भेरोसेल खोप दिइरहेको छ । बुधबारसम्म ५३ हजार नौ सय ४१ जनालाई खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

सरकारले यसअघि नेपालमा बसेका भारतीय नागरिकलाई पनि कोभिसिल्ड खोप लगाएको थियो । तर, अहिले चिनियाँ खोप भने दिएको छैन । ‘त्यसैले भारतीय व्यापारीहरू जहाजमा आउने र खोप लगाएर फर्किने गरेको पाइयो,’ टेकु अस्पतालका एक चिकित्सकले भने । 

कोभिसिल्ड खोप लगाएकाले ‘भेरोसेल’ पनि लगाए 

यसअघि नै कोभिसिल्ड खोप लगाएका केही व्यक्तिले चिनियाँ खोप भेरोसेल पनि लगाएका छन् । खास गरेर चीनमा अध्ययन गर्ने विद्यार्थी र व्यापारीले यस्तो गरेको चिकित्सकहरूको भनाइ छ ।

चिकित्सकहरूले भने फरक–फरक खोप नलगाउन भनिरहेका छन् । ‘हिजो कोभिसिल्ड खोप लगाएका विद्यार्थीले अहिले चीन जानका लागि भेरोसेल लगाइदिन अनुरोध गरिरहेका छन् । तर, हामीले फरक–फरक खोप लगाउन नहुने बताएका छौँ । तैपनि उनीहरू मान्ने पक्षमा देखिन्नन्, जिद्दी गर्छन्,’ टेकु अस्पतालका एक स्वास्थ्यकर्मीले भने । उनका अनुसार कतिपयले ‘खोप नलगाइदिने भए नीलो कार्डको विकल्पमा अर्को कार्ड दिन’ अनुरोध गर्ने गरेका छन् । 

सरुवारोगविज्ञ डा. शेरबहादुर पुनले फरक–फरक खोप लगाउँदा शरीरमा पर्ने असरबारे अहिलेसम्म अध्ययन नभएको बताए । ‘पहिलो र दोस्रो खोप फरक–फरक लगाउनुहँुदैन भन्ने वैज्ञानिक आधार छैन । छुट्टाछुट्टै खोप लगाउँदा के हुन्छ भनेर वैज्ञानिकहरू बहसमा छन् । रिपोर्ट आउन बाँकी छ,’ उनले भने । यस विषयमा अमेरिका र बेलायतमा ठूलै बहस भएको उनले बताए । 

२४ घन्टामा देखिए ६०३ संक्रमित 

पछिल्लो २४ घन्टामा देशभर ६ सय तीनजनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरूमध्ये २३ जना नाकामा गरिएको एन्टिजेन परीक्षणमा पजिटिभ देखिएका हुन् । संक्रमणबाट तीनजनाको मृत्यु भएको छ ।

बुधबार चार हजार दुई सय ८९ जनाको पिसिआर टेस्ट गरिएको थियो । जसमध्ये पाँच सय ८० जनामा संक्रमण देखिएको थियो । त्यस्तै, भारतबाट विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेका चार सय ५१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । त्यसमध्ये २३ जनाको रिपोर्ट पजिटिभ आएको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार संक्रमण देखिएकामध्ये दुई सय ५४ जना उपत्यकाका छन् । काठमाडौंका एक सय ७३, ललितपुरका ६१ र भक्तपुरका २० जनामा संक्रमण देखिएको छ । 

हाल देशभर चार हजार ५६ जना सक्रिय संक्रमित छन् । उनीहरूमध्ये चार सय ५७ जना संस्थागत आइसोलेसनमा छन् । बुधबार देशभर ८० संक्रमित आइसियू र २५ को भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अहिलेसम्म कुल संक्रमितको संख्या दुई लाख ८१ हजार पाँच सय ६४ पुगेको छ । जसमध्ये दुई लाख ७४ हजार चार सय ४७ निको भइसकेका छन् । अहिलेसम्म संक्रमणबाट तीन हजार ६१ जनाको मृत्यु भइसकेको छ ।