मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ३१ मंगलबार ०९:१८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नौलीखोला तेस्रो लघुजलविद्युत् पुनर्निर्माणमा भ्रष्टाचार, सातजनाविरुद्ध विशेष अदालतमा मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ३१ मंगलबार ०९:१८:००

गोरखाको धार्चे गाउँपालिका–७ मा रहेको नौलीखोला तेस्रो लघुजलविद्युत‍् आयोजना पुनर्निर्माण तथा मर्मतमा भ्रष्टाचार भएको पाइएको छ । पुनर्निर्माणको अनुगमन नै नगरी १० लाख ६३ हजार रुपैयाँ बढी भुक्तानी दिइएको पाइएपछि अख्तियारले सोमबार धार्चे गाउँपालिका– ७ का वडाध्यक्ष, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र उपभोक्ता समितिका पदाधिकारीसहित सातजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले १० लाख ६३ हजार ५० रुपैयाँ बिगो कायम गरी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाण्डे, इन्जिनियर प्रवीन वस्ती र सबइन्जिनियर रामनारायण चौधरी तथा उपभोक्ता समितिका अध्यक्ष दमाई गुरुङ, सचिव हसिमान गुरुङ र कोषाध्यक्ष अनिता गुरुङ तथा वडा नम्बर ७ का वडाध्यक्ष सूर्यमान गुरुङविरुद्ध मुद्दा चलाएको हो । 

पाण्डे, वस्ती र चौधरीले झुटा बिल भरपाई सदर गरेको, अनुगमन नै नगरी गलत नापी किताब प्रतिवेदन तयार गरी बढी रकम भुक्तान गरेको आरोप छ । उपभोक्ता समितिका पदाधिकारीले प्राविधिकसमेतको मिलेमतोमा कामभन्दा बढी मूल्यांकन गर्न लगाएकोे झुटा बिल भरपाई बनाएको र कामै नभई सम्पन्न भनेर प्रतिवेदन तयार गरेको आरोप अख्तियारको छ । 

वडाध्यक्ष एवं वडास्तरीय अनुगमन तथा सुपरिवेक्षण समितिका अध्यक्ष गुरुङले आफ्नो वडाभित्रका योजनाको अनुगमन÷सुपरिवेक्षण गरी भए गरेका कार्यको मात्र भुक्तानीका लागि सिफारिस गर्नुपर्दथ्यो । तर, उनले उपभोक्ता समितिका अध्यक्ष र प्राविधिकसमेतको मिलेमतोमा गलत अनुगमन प्रतिवेदन गर्न लगाई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । सातजनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ अनुसर मुद्दा दायर गरिएको अख्तियारका सूचना अधिकारी वेदप्रसाद भण्डारीले जानकारी दिए ।