जनगणनाको राजनीति

बहस

मंगलबार, ३१ चैत, २०७७
डिजिटल संस्करण

जनगणना शासनव्यवस्थाअनुकूलको तथ्यांक उत्पादन गर्ने माध्यम हो, यसले शासकहरूको हितानुकूल योजना तथा रणनीति बनाउन टेवा पुर्‍याउँछ

कुनै पनि राज्यको अस्तित्व कायम गर्न चाहिने पहिलो तत्व जनसंख्या हो । अर्थात्, मानिसहरूको उपस्थितिविना राज्यको परिकल्पना गर्न सकिँदैन । आजको मानव जाति विभिन्न वर्ग, जाति, वर्ण, धर्म, समुदाय आदिमा विभाजित छ । यसरी विकसित परिवेशअनुसार जनगणनाको आयाम र सूचकमा काफी बदलाव आउनु स्वाभाविक पनि हो । जनसंख्याको यथार्थ तस्बिर जति उजागर गर्न सक्यो, त्यति देशको सही र अर्थपूर्ण योजना तर्जुमा गरी कार्यरूप दिन सजिलो हुन्छ । जनगणना मानिसको संख्या गन्ती तथा आकार मापनसँग मात्र सम्बन्धित होइन, आर्थिक सामाजिक विकास तथा स्रोत साधनको वितरणसँग पनि यो उत्तिकै जोडिएको विषय हो । 

जब स्रोत बाँडफाँटको सवाल आउँछ, त्यसमाथि कसको पहुँच तथा नियन्त्रण रहने भन्ने प्रश्न पनि सँगसँगै उठ्न थाल्छ । दक्षिण एसियाली तथा नेपाली समाजमा वर्गभन्दा जातको प्रभाव बढी रहेको तथ्यहरूले पुष्टि गरिसकेका छन् । यद्यपि, विज्ञान प्रविधि मुख्य उत्पादक शक्ति बनेको विद्यमान अवस्थामा लोकतान्त्रिक तथा समाजवादी मूल्य मान्यताले जात–व्यवस्थामाथि प्रहार गरिरहेकै छन् । आन्तरिक तथा बाह्य सचेतना अभिवृद्धि हुँदै जाँदा विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनमार्फत नेपाली समाज क्रमशः खुकुलो बन्दै पनि गइरहेको छ । यस्तो परिवर्तित अवस्थामा सञ्चालन गरिने जनगणनामा किन र कसरी जातीय तथा धार्मिक राजनीतिको प्रभाव पर्न सक्छ त भन्ने सवाललाई यस आलेखमा उठान गरिएको छ । 

तथ्यांक उत्पादन र सम्प्रेषण गर्ने सिलसिलामा राजनीति कसरी घुसाइन्छ भन्ने तथ्य बुझ्न बहुआयामिक गरिबी सूचकांक २०१८ को प्रतिवेदन हेर्दा प्रस्ट हुन्छ । यो प्रतिवेदनले नेपालमा जातजातिका आधारमा गरिबीको दर कस्तो छ भनेर केही पनि बोल्दैन । 

जनगणनाको नेपाली इतिहास
घरधुरी गणना गर्ने परम्परा पुरानै भए पनि ऐतिहासिक अभिलेखीकरण नभएकोले सन् १९११ को जनगणनालाई नै नेपालको पहिलो मानिन्छ । यसपछि भएका केही जनगणनाले मानिसको संख्या निकाल्ने प्रयत्न गरे पनि नतिजालाई प्रकाशित भने गर्न सकेनन् । नेपालमा आधिकारिक हिसाबले आधुनिक मापदण्डअनुसार गरिएको जनगणना सन् १९५२–१९५४ हो (पन्त, सन् १९५५) । छैटौँ जनगणना सन् १९६१ मा सम्पन्न गरियो । त्यसपछि हरेक १० वर्षको अन्तरालमा जनगणना हुँदै आएको छ । ०६८ सालमा सम्पन्न गरिएको जनगणना एघारौँ थियो, ०७८ सालमा सञ्चालित हुने जनगणना बाह्रौँ हो । 

‘हेड काउन्ट’बाट सुरु गरिएको हाम्रो जनगणनाका थुप्रै पाटा/पक्षमा व्यापक सुधार भएका छन् । त्यस्तो सुधारका लागि विश्वव्यापीकरणदेखि आन्तरिक परिवर्तनको प्रभाव पनि उल्लेखनीय छ । जनगणनाका पछिल्ला नतिजाले जातजाति, भाषा, धर्म, क्षेत्र, लिंग, अपांगता जस्ता श्रेणीमा विभाजन गरी तथ्यांक बाहिर ल्याउनु सुखद पक्ष हो । यद्यपि, जनगणनाको समग्र पक्षलाई केलाउँदा पुरानै संरचनागत ढाँचावरिपरि गोलचक्कर मारिरहेको देखिन्छ । बदलिँदो आर्थिक, राजनीतिक तथा सामाजिक परिवेश र जनचाहनालाई हाम्रो जनगणनाका सूचक तथा त्यसको नतिजाले समेट्न सकिराखेको छैन । 

जनगणना : जातीय सत्ताको औजार
विद्यमान सत्ता र शक्तिसम्बन्धअनुसार नै जनगणनाको समग्र प्रक्रिया प्रभावित हुने गर्छ । यस्तो प्रभाव निरंकुश तानाशाही व्यवस्थामा मात्र होइन कि लोकतान्त्रिक भनिएका व्यवस्थामा पनि कम प्रभावी देखिँदैन । किनकि, जनगणना अन्ततः शासन व्यवस्थाअनुकूलको तथ्यांक उत्पादन गर्ने माध्यम हो, जसले शासकहरूको हितानुकूल योजना तथा रणनीति बनाउन टेवा दिइरहेको हुन्छ । शासकीय मूल्य–मान्यता तथा स्वार्थअनुसार नै के कस्ता सूचकहरू तयार गर्ने तथा कुन प्रकाशित गर्ने/नगर्ने तय गरिन्छ । सही, सन्तुलित र विश्वसनीय बनाउने आदि प्राविधिक पक्ष तपसिलका विषय मात्र हुन् । कस्तो खालको सूचना संकलन गर्ने, कुन स्तरसम्म सूचनालाई वर्गीकरण गर्ने जस्ता महत्वपूर्ण विषयको फैसला सदैव राजनीतिले गरिराखेको हुन्छ ।

नेपाली समाज हिन्दू धार्मिक मान्यताबमोजिम जात–व्यवस्थाको तहगत संरचनामा आधारित छ । सनातनदेखि नै शासन सञ्चालनार्थ शास्त्र निर्माण गर्ने तथा सत्ता चलाउने स्थानमा केही निश्चित जातको वर्चस्व रहँदै आएको छ । यही जातीय तथा वर्गीय संरचना बहुसंख्यक जनताका लागि अभिशाप बनिरह्यो भनेर विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलन÷विद्रोहहरू भए । ती परिवर्तनकारी संघर्षको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि निश्चित जात र वर्गको प्रभाव त्यति कमजोर हुन सकिराखेको छैन । संविधान, कानुनमा समानुपातिक प्रतिनिधित्व, समावेशितालगायतका केही सुधारवादी प्रावधान लेखिए पनि व्यवहारमा रूपान्तरण हुन सकेको छैन । 

खासगरी उत्पीडित जात, जाति, लिंग, क्षेत्र, समुदायहरूले राज्यमा आफ्नो समानुपातिक हिस्सेदारी खोज्न थालेपछि शासक वर्ग झस्किन पुगेको हो । हाल समानुपातिक समावेशिताको नीति राजनीतिक प्रतिनिधित्व र कर्मचारीतन्त्रमा लागू गर्ने प्रयास गरिएको छ । त्यसको सबैभन्दा महत्वपूर्ण आधार जनसंख्या भएकाले जातीय राजनीतिको केन्द्रबिन्दु जनगणना बन्न पुगेको हो । सनातनदेखि खाइपाइ आएको तप्का र उत्पीडित समुदायबीच भइरहेको छिनाझप्टीमा अभिजात वर्ग माथि परी नै रहेको छ । परिणामतः समानुपातिक समावेशिता कतै पनि अर्थपूर्ण हिसाबले लागू हुन सकिराखेको छैन । 

किन घट्छ दलित जनसंख्या ?
जुन वर्ग, समुदाय तुलनात्मक रूपमा धेरै कमजोर छ, त्यसमाथि नै जातीय तथा वर्गीय सत्ताको थिचोमिचो बढी हुन्छ । हिन्दू तहगत संरचनाको पिँधमा राखेर हजारौँ वर्षदेखि गरिएको विभेद, बहिष्करण र दमनका कारण दलितहरू सबैभन्दा कमजोर अवस्थामा छन् । हिन्दू सत्ताले दलित समुदायलाई विभिन्न तहमा विभाजित गरी उनीहरूमाथि शासन गर्दै आएको छ । दलित समुदायको यही कमजोर अवस्था नै जनगणनाको राजनीति गर्ने सजिलो स्थान बन्न पुगेको छ । 

एकपटक ०६८ को जनगणना नतिजा हेरौँ । यो जनगणनाले ०५८ मा छुट्टै गणना गरिएका मधेसी दलितअन्तर्गतका ककहैया र खटिक जातलाई हटाइदियो । दलित आयोगले दलितको सूचीमा राखेका नेवारभित्रका पोडे, च्यामे तथा मधेसी दलितहरू नटुवा, ढांडी र ढरकारलाई पनि समावेश गरेन । अर्कातिर, औसत राष्ट्रिय जनगणना वृद्धिदर १.३५ प्रतिशत हुँदै गर्दा दलित जनसंख्या वृद्धिदर १.२३ प्रतिशत मात्र पुग्यो । दलितहरूको प्रजनन दर हेर्दा पनि ३.९ प्रतिशत छ, जबकि औसत राष्ट्रिय प्रजनन दर जम्मा ३.२ हो । परिवार नियोजन गर्ने दलितहरू जम्मा ४१ प्रतिशत छन् भने औसत राष्ट्रिय दर ४४ प्रतिशत छ । यसरी दलित जनसंख्या घट्नुपर्ने कुनै त्यस्तो बाह्य तथा आन्तरिक खास कारणहरू देखिँदैनन् । एउटा सम्भावित कारण दलितहरूले गणकसमक्ष आफ्नो थर बताएकोमा त्यसलाई प्रमाणित नगरीकन गैरदलितमा राखिदिएको हुन सक्छ । यसो हुनुलाई गणकको सामान्य त्रुटिको रूपमा मात्र लिन सकिँदैन । बरु जातीय सत्ताले दिएको प्रशिक्षणबाट निर्देशित परिणामको रूपमा लिनुपर्ने हुन्छ । 

जनसंख्या नै शासन व्यवस्थाको प्रमुख आधार भएकाले जनगणनाको महत्व स्वतः सिद्ध छ । कल्याणकारी तथा प्रगतिशील राज्यको ध्येय उत्पीडित तथा सीमान्तकृत जातजाति, वर्ग, क्षेत्र, लिंग, धर्म, समुदायको सत्य र विश्वसनीय तथ्यांक संकलन र सम्पे्रषणमा हुनुपर्ने हो । 
 

नेपालको दलित आन्दोलनले दलित समुदायको जनसंख्या एकचौथाइ रहेको दाबी गर्छ । दलित नागरिक समाजले दलित जनसंख्या २० प्रतिशतभन्दा माथि भएको सर्वेक्षण गरेको छ (भट्टचन, सन् २००८) । तर, जनगणना ०६८ अनुसार दलित जनसंख्या जम्मा १३.८ प्रतिशत मात्र हो । जुन दलितको वास्ताविक तथ्यांकभन्दा निकै भिन्न देखिन्छ । यी तथ्यहरूले केन्द्रीय तथ्यांक विभाग त्यसलाई निर्देशित गर्ने राज्य संयन्त्र र जनगणनाको समग्र प्रक्रियामा संलग्न निकाय तथा व्यक्तिहरूमाथि राजनीतिक प्रभावको गम्भीर आशंका पैदा गरेको छ । 

तथ्यांक उत्पादन र सम्प्रेषण गर्ने सिलसिलामा राजनीति कसरी घुसाइन्छ भन्ने तथ्य बुझ्न बहुआयामिक गरिबी सूचाकांक (सन् २०१८) को प्रतिवेदन हेर्दा पनि प्रस्ट हुन्छ, जसले नेपालमा जातजातिका आधारमा गरिबीको दर कस्तो छ भनेर केही पनि बोल्दैन । तत्कालीन मिडियामा आएको सूचनाअनुसार जातजातिअनुसार पनि तथ्यांक निकालिएको थियो । तर, अन्तरजातीय ‘ग्याप’ निकै धेरै देखिएकाले बाहिर ल्याउन उचित नठानेर त्यसलाई थान्को लगाइयो । यसले राज्यको चरित्र मात्र होइन कि नियन्त्रण कसको छ, सोहीअनुसार तथ्य तथ्यांक निर्माण हुने गरेको आशंकामा थप बल दिन्छ । 

अर्को, नेपालको जनगणनाबाट अति प्रभावित भएको पक्ष हिन्दूइतर धार्मिक सम्प्रदाय हुन् । नेपालका प्रायः आदिवासी जनजातिको धर्म हिन्दूभन्दा फरक पाइन्छ । जसले ३५.८१ प्रतिशत जनसंख्या ओगटेका छन् । उनीहरू धेरैजसो बौद्ध, प्रकृतिपूजक मानिन्छन् । यसबाहेक नेपालमा इस्लाम, क्रिस्चियन, जैन, शिख, बोन, नास्तिकलगायतका मानिसहरू पनि बस्छन् । तर अचम्म ! ०६८ को जनगणनाले हिन्दू धर्म मान्ने मानिसहरू ८१ प्रतिशतभन्दा बढी रहेको नतिजा निकालेको छ । यस्तो नतिजा आउनुको पछाडि हिन्दू मानसिकताबाट प्रभावित जनगणना संरचना र त्यसको समग्र प्रक्रिया भएको सहजै अनुमान गर्न सकिन्छ । 

निष्कर्ष 
जनसंख्या नै शासन व्यवस्थाको प्रमुख आधार भएकाले जनगणनाको महत्व स्वतः सिद्ध छ । कल्याणकारी तथा प्रगतिशील राज्यको ध्येय उत्पीडित तथा सीमान्तकृत जातजाति, वर्ग, क्षेत्र, लिंग, धर्म, समुदायको सत्य र विश्वसनीय तथ्यांक संकलन र सम्पे्रषणमा हुनुपर्ने हो । तर, केन्द्रीय तथ्यांक विभाग र जनगणनामा संलग्न पक्षहरूको संरचनागत ढाँचा, अवलम्बन गरिएका सिद्धान्त, आयाम, सूचकहरू तथा सरोकारवालाहरूको सक्रियता र सहभागितालाई हेर्दा कैयौँ छिद्रहरू भेटिन्छन् । जस्तो कि जनगणना गर्ने संयन्त्रमा खस–आर्यको बाहुल्यता छ । सम्बन्धित जातजातिको आयोगले दिएको सिफारिस पालना गरिँदैन । अन्ततः यसरी आउने तथ्यांक उत्पीडित समुदायका लागि ‘मिथ्यांक’ बन्न जान्छ । 

राज्य संरचनाको सबैभन्दा पिँधमा रहेको दलित समुदायको मुक्तिको सवाल कम्तीमा पनि आत्मसम्मानसहित आर्थिक राजनीतिक रूपमा बराबरी हिस्सेदारीको हो । यथार्थमा के कति दलित समुदाय नेपालमा छन् भन्ने सही र विश्वसनीय तथ्यांकका आधारमा मात्र उनीहरूको वास्ताविक मुक्तिको खाका कोर्न सकिन्छ । त्यसका लागि एकातिर दलित समुदायको समग्र जनगणना प्रक्रियामा यथोचित सहभागिता जरुरत हुन्छ । अर्कोतिर, दलित आयोग, दलित राजनीतिज्ञ, अधिकारकर्मी तथा सरोकारवाला सबैले जनगणनाको निगरानी गर्नुपर्ने हुन्छ । सोही पद्धति धार्मिकलगायत अन्य उत्पीडित तथा सीमान्तकृत समुदायमा पनि लागू गर्न सकियो भने त्यसले सर्वस्वीकार्य नतिजानजिक पुर्‍याउनेछ । यो तथ्यतिर ०७८ को जनगणनाको जोड पुग्ला कि नपुग्ला, आगामी दिनले अवश्य प्रकाश पार्नेछन् । 

सुझावित समाचार